काठमाडौं । संसदीय सुनुवाई समितिको आइतबारको बैठकमा सुनुवाईको लागि उपस्थित भएका भारतका लागि प्रस्तावित राजदूत निलाम्बर आचार्य र समितिका सदस्य सांसदहरुबीच साझा बुझाई थियो– ‘भारत–नेपाल सम्बन्ध राम्रो छैन ।’
भारतले सानो देशको संवेदनशीलता बुझेन, नेपालमा हुने आन्दोलनलाई सघाउने तर सरकारलाई नसघाउने, विकास परियोजनामा सहमति गर्ने तर कार्यन्वयन नगर्ने, नेपालमाथि तीन–तीन पटक नाकाबन्दी गर्ने– सासंदहरु र प्रस्तावित राजदूतको अभिब्यक्त गर्ने शब्द फरक थिए तर भाव सबैको एउटै थियो ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालले जति पनि व्यक्ति राजदूत बनाइ भारत पठायो ती मध्ये एक जना (भेषबहादुर थापा) ले मात्र पूर्ण कार्यकाल नयाँदिल्लीमा बिताएका छन् । बाँकी सबै कोही आँफै पद त्यागी फर्केका छन् त कसैलाई सरकारले विभिन्न कारण देखाउँदै फिर्ता बोलाएको छ । यसैबीच केही साता अघि आचार्यलाई सरकारले भारतको लागि राजदूतमा सिफारिस गरेको थियो, जसको संसदीय सुनवाई आइतबार राखिएको थियो । बैठकको सुरुमै आफ्नो परिचय र कार्ययोजना प्रस्तुत गर्दै आचार्यले आपूm नेपाल–भारतबीच रहेका सबै समस्या समाधान गर्न लागिपर्ने जनाए ।
“तपाईँ (निलाम्बर आचार्य) ले सबै काम गर्छु त भन्नुभयो, तर सबै गर्छु भन्नुको अर्थ केही नगर्नु पनि हो । सबैतिर ध्यान केन्द्रित गर्नुभयो भने केही गर्न सक्नुहुन्न । तपाईँ म यो पाँच कार्यलाई प्राथमिकतामा राखेर काम गर्छु भन्न सक्नुहुन्छ ?,” सांसद सुरेन्द्र पाण्डेले बैठकमा आचार्य सामु प्रश्न तेर्स्याए ।
सांसद् भिमसेनदास प्रधानले भारतले नेपालको आन्दोलनलाई सहयोग गर्ने भए पनि सरकारलाई कहिल्यै पनि सहयोग नगर्ने बताएका थिए ।
तयारीका साथ बैठकमा उपस्थित भएका पूर्वमन्त्री समेत रहेका आचार्यले समितिका सदस्यहरुले उठाएका प्रत्येक प्रश्नको जवाफ दिए । आचार्यले भने, “राजदूतले समग्र सबै विषय हेर्नुपर्छ । राजदूत भनेको परराष्ट्र मन्त्रालयको एउटा अंग हो । त्यसैले राजदूतका प्राथमिकता परराष्ट्रले तय गर्छ । सरकार र परराष्ट्रले जसो गर भन्छ राजदूतले त्यसै गर्नुपर्छ, नत्र राष्ट्रको प्राथमिकता एकातिर राजदूतको प्राथमिकता अर्कोतिर हुन जान्छ ।”
राजदूतको प्राथमिकता परराष्ट्रले निर्धारण गर्छ भन्दै आपूmले प्राथमिकतामा राखेका केही विषय पनि समितिका सदस्यहरु सामु राख्न भ्याए । सीमा विवाद, सहमति भएका विकास परियोजनाको कार्यान्वयन, राजनीतिक तहमा समझदारी कायम, बहुपक्षीय सम्बन्धलाई बढावा, भारतमा कार्यरत नेपाली तथा सीमाक्षेत्रमा रहेका जनताको समस्या, डुबान समस्या– उनले निर्धारण गरेका प्राथमिकता ।
बैठकमा सांसदहरुको गुनासो थियो– प्रस्तावित व्यक्तिले राजदूत हुनुअघि सबै समस्या समाधान गर्छु भन्ने तर काम केही नगर्ने । विगतमा बनेका सबै राजदूतमा यही रोग देखिएको ठहर उनीहरुको थियो । “अब बन्ने राजदूते परम्परागत शैलीमा नै काम गर्ने हो की ? नयाँ ढंगले काम गर्नुहुन्छ ?,” सांसद शिवकुमार मण्डलको प्रश्न थियो ।
भारतको लागि प्रस्तावित राजदूत आचार्यले हिजोकै शैलीमा राजदूतले काम गरेर अब नेपाल–भारत सम्बन्ध नसुध्रने बताए । उनले थपे, “हिजोको मानसिकतामा परिवर्तन गरेर आजको मानसिकता अनुसारको विश्वास निर्माण गर्नुपर्छ । तबमात्र दुई देशको सम्बन्धले गति लिन्छ ।”
नेपाल–भारत सम्बन्ध जति राम्रो भनिन्छ त्यतिनै समस्या रहेको बुझाई सबै सांसदहरुको थियो । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा पूर्व कूटनीतिज्ञ यदु खनालको स्मरण गर्दै उनीजस्तै बन्न आचार्यलाई सुझाव समेत दिए । अफ्ठेरो अवस्थामा खनालले नेपाल–भारत सम्बन्धलाई सुमधुर बनाएको विश्वास उनले व्यक्त गरे । धेरैले राजदूत पदलाई एउटा जागिरको रुपमा लिएको जनाउँदै उनले आचार्यलाई यो भ्रम चिर्दै राष्ट्रको हितमा उदाहरणीय काम गर्न सुझाए ।
“कुनै पनि राजदूतलाई आफ्ना कार्ययोजना कार्यान्वयन गर्न उमेरले असर गर्छ कि गर्दैन ?,” ७५ वर्ष पुगेका आचार्यलको ढल्कदो उमेरप्रति इंगित गर्दै सांसद अमृता थापाले प्रश्न गरिन् । जवाफमा उमेरले काममा कुनै असर नगर्ने धारणा आचार्यले राखे । उनले नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउन सक्छु भनेरनै आफू संसदीय सुनुवाई समितिको बैठकमा उपस्थित भएको जनाए ।
“मेरो उमेरमा सहानुभूति राखेर प्रश्न गर्नुभएको छ । मलाई लाग्छ उमेर मात्र हेरेर हुँदैन, समग्रमा हेर्नुपर्छ । अहिलेको अवस्थामा राजनैतिक पृष्ठभूमि भएका मान्छे, पाको मान्छे जानुपर्छ भन्ने लागेरनै म तयार भएको हुँ,’ भारतको लागि प्रस्तावित राजदूत आचार्यले भने, “हामीले हाम्रो मानसिकता परिवर्तन गर्न जरुरी छ । हिँजो प्युठान घर जाँदा म भारतको बाटो हुँदै जानुपर्थ्यो, तर आज पर्दैन म देशभित्रै बाट जान्छु । सम्बन्धलाई आजको दृष्टिकोणबाट हेर्नुपर्छ ।”
सांसदहरुले नेपाल भित्र भारत विरोधी भएपछि राष्ट्रवादी भइन्छ भन्ने संस्कारको विकास भएकोमा चिन्ता व्यक्त गरे । यसलाई भारतले नै चिर्नुपर्ने समेत धारणा उनीहरुको थियो । “भारतले नै नेपाली नेतामाथि लगानी गरेर भारत विरुद्ध बोल्न लगाएको छ भन्ने छ ?,” सांसद पार्वत गुरुङले भारत विरोधी गतिविधि बढेकोमा चिन्ता व्यक्त गरे ।
सांसद गुरुङको चासोलाई आचार्यले सम्बोधन गरे । भने, “भारत र चीनसँग एउटासँग सम्बन्ध बढाएर अर्कोलाई कटौती गर्ने होइन । एउटासँग सम्बन्ध विस्तार हुँदा अर्कोसँग पनि सम्बन्ध बिस्तार हुन्छ । यो बुझाउन सक्नुपर्छ ।”
बैठकमा सांसद जितेन्द्र नारायण देवले नेपालले सानो देश संवेदनशीलता भारतलाई बुझाउन नसकेको जनाए । भारतले पनि नेपाललाई आफ्नो सुरक्षा चासो बुझाउन नसकेको ठम्याई उनको थियो । नेपाल र भारतबीच सम्बन्धको मुख्य मुद्दा राजनीति भएकोले अब बन्ने राजदूतले राजनीतिक सम्बन्ध सुधार्नेतिर बढि ध्यान दिनुपर्ने उनले बताए ।
“२०औं शताब्दीको मानसिकता बोकेर २१ औं शताब्दीको सम्बन्ध अघि बढ्न सक्दैन । नेपाल र भारतबीच प्रतिस्पर्धा छैन, तैपनि बेलाबखत सम्बन्ध बिग्रन्छ,” प्रस्तावित राजदूत आचार्यले भने, “नेपाल र भारतबीच सीमा खुला छ, सोच पनि खुला हुन पर्यो । हामी घनिष्ट छौं, तर कति खुलस्त छौं ? यो खुलस्तता बढाउनु पर्छ । तबमात्र भ्रम चिर्न सकिन्छ ।”
सांसदहरुले छिमेकलाई बदल्न नसकिने हुँदा छिमेकीको मनोवृत्ति बदल्नतर्फ लाग्न प्रस्तावित राजदूतलाई सुझाएका थिए । “भारतसँगको सम्बन्ध असाध्यै पुराना छन् । भारतको राजदूत हुनु भनेको चीनको पनि हुनु हो । भारतको राजदूतले काम गर्दा चीनसँगको सन्तुलित व्यवहार पनि ख्याल गर्नुपर्छ,” सांसद योगेश भट्टराईले भने । जवाफमा आचार्यले नेपालको परराष्ट्र नीतिले कुनै देशको पनि अहित नचिताएको हुँदा सहज रुपमा आफूले काम गर्ने बताए । “भारतसँग सम्बन्ध सुधार्न कठोर मेहनत गर्नुपर्छ, म गर्छु,” आफ्नो प्रस्तुतीलाई प्रस्तावित राजदूत आचार्यले टुङ्ग्याए ।
आचार्यपछि संसदीय सुनवाई समितिको आइतबारको बैठकमा मलेसियाको लागि प्रस्तावित नेपाली राजदूत उदयराज पाण्डे, युनाईटेड अरब इमिरेट्सका लागि प्रस्तावित राजदूत कृष्ण ढकाल र इजरायलको लागि प्रस्तावित राजदूत अन्जान शाक्यलाई उपस्थित गरिएको थियो । सांसदहरुले पाण्डे, ढकाल र शाक्यसँग वैदेशिक रोजगारका अवसर तथा चुनौती, नेपाली कामदारले पाएको दुःख तथा तिनको समाधानका विषयमा चासो राखेका थिए ।