काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरूले खराब कर्जा घटाउन थालेका छन् । उनीहरूले पछिल्लो दुई वर्षमा प्रकाशन गरेको वित्तीय विवरणले खराब कर्जा दर घटाएर स्वस्थ बन्ने लयमा लागेको देखाएको छ ।
बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत नौ महिनामा अधिकांश वाणिज्य बैंकले खराब कर्जा घटाएका छन् । कुनै पनि बैंकमा कूल कर्जाको ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ । चालू आर्थिक वर्षको वित्तीय विवरणअनुसार कुनै पनि बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा माथि छैन ।
नौ महिनाअघि तीन बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा बढी थियो । उक्त अवधिमा १६ बैंकले खराब कर्जा घटाएका छन् । तीमध्ये १३ बैंक ‘नन्–पर्फर्मिङ लोन’ ३ प्रतिशतभन्दा मुनि ल्याएका हुन् । अन्य बैंकले पनि उच्च खराब कर्जा न्यूनीकरण गर्दै जोखिमयुक्त बन्नबाट जोगिने कसरत कम गरेका छैनन् ।
बैंकले निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमा नै उठाउन सकेन भने त्यस्तो कर्जालाई एनपीएल (नन्–पर्फर्मिङ लोन) अर्थात् खराब कर्जा भनिन्छ । ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिनपछिसम्म पनि बैंकले ऋण उठाउन नसकेमा उक्त ऋणलाई खराब कर्जाअन्तर्गत राखिन्छ । सम्भव भएसम्म यस्तो कर्जा ऋण लिँदा राखिएको धितो लिलाम गरेर उठाइन्छ ।
वाणिज्य बैंकहरूले प्रकाशन गरेको चालू आवको पहिलो त्रैमासिकसम्मको वित्तीय विवरणमा ८ बैंकको खराब कर्जा १ प्रतिशतभन्दा कम छ । त्यसैगरी १३ बैंकको खराब कर्जा दर १ देखि २ प्रतिशतबीचमा रहँदा तीन बैंक भने अन्यको तुलनामा केही जोखिममा देखिन्छन् । यद्यपि, तथ्यांक डरलाग्दो भने होइन ।
१ प्रतिशतभन्दा कम खराब कर्जा हुने बैंक एभरेस्ट, नेपाल एसबीआइ, सानिमा, नबिल, एनआइसी एसिया, माछापुच्छ्रे, स्ट्यान्डर्ड चार्टर्ड र एनएमबी छन् । त्यसैगरी प्रतिवेदनले १६ वाणिज्य बैंकको खराब कर्जा घटेको देखाएको छ । यस अवधिमा १० बैंकको खराब कर्जा दर बढ्दा बाँकी एनआइसी एसिया भने खराब कर्जा दर स्थिर राख्न सफल भएको छ ।
चालू आवमा खराब कर्जा घटाउने बैंकमा एभरेस्ट, ग्लोबल आइएमई, सिद्धार्थ, कुमारी र सिटिजन्स छन् । त्यसैगरी नबिल, सनराइज, सिभिल, जनता, प्रभु र जनताले खराब कर्जा घटाउँदा बैंक अफ काठमान्डु, सेन्चुरी, नेपाल बैंक, एनसीसी, प्राइम कमर्सियल र एनएमबीको पनि खराब कर्जा घटेको छ ।
बाँकी बैंकको खराब कर्जा भने अघिल्लो वर्षको तुलनामा बढेको छ । यसअघि अघिल्लो वर्ष पनि १२ वाणिज्य बैंकले खराब कर्जा अनुपात घटाएका थिए भने आव २०७२–७३ पुसको तुलनामा २०७३–७४ पुसमा २१ का खराब कर्जा घटेको थियो ।
चालू आवको तीन महिनामा सबैभन्दा कम खराब कर्जा सानिमा बैंकको छ भने सबैभन्दा बढी कृषि विकास बैंकको छ । यसअघि खराब कर्जा हुनेको शीर्ष स्थानमा रहेको सिभिल बैंकले उक्त दर ३.६ प्रतिशत कायम गरेको छ ।
सानिमाले नौ महिनाअघि रहेको शून्य दशमलव शून्य ३ प्रतिशतको खराब कर्जा दर बढाएर शून्य दशमलव शून्य ८ मा कायम गरे पनि शीर्ष स्थानमै अटाएको हो । दुई वर्षअघि बैंकको खराब कर्जा दर शून्य दशमलव शून्य १ प्रतिशतमात्र थियो ।
कम खराब कर्जा हुने बैंकको शीर्ष ५ मा नेपाल एसबीआई, एभरेस्ट, स्ट्यान्डर्ड चार्टर्ड र एनआइसी एसिया दोस्रोदेखि पाचौं स्थानमा छन् । ती बैंकको खराब कर्जा दर क्रमशः शून्य दशमलव २ प्रतिशत, शून्य दशमलव २१ प्रतिशत, शून्य दशमलव २१ प्रतिशत र शून्य दशमलव २६ प्रतिशत छ ।
सर्वाधिक खराब कर्जा हुने बैंकमा कृषि विकास बैंक शीर्ष स्थानमा छ । नौ महिनामा बैंकको खराब कर्जा दर ३.९५ प्रतिशतबाट बढेर ३.९८ प्रतिशत पुगेको छ । तीन प्रतिशतभन्दा बढी खराब कर्जा दर हुने बैंक एनसीसी (३.६९ प्रतिशत) र सिभिल (३.०६ प्रतिशत) छन् । सिभिल र एनसीसी दुवैले पछिल्लो समय खराब कर्जा केही घटाएको वित्तीय विवरणमा उल्लेख छ ।
यसअघि धेरै खराब कर्जा हुनेमा सिभिल बैंकलाई पछ्याउँदै रहेको प्रभु र नेपाल बैंकले उल्लेख्य रूपमा खराब कर्जा दर घटाएका छन् । दुवै बैंकको खराब कर्जा दर पनि ३ प्रतिशतभन्दा कम छ ।