वाशिङटन् । अमेरिकी गुप्तचर निकाय पत्रकार जमाल खसोग्जीको हत्यामा साउदी युवराज मोहम्मद विन सल्मानको हात रहेको निष्कर्षमा पुगेको छ । तर, साउदी सरकारले भने यो कुरा अस्वीकार गरेको छ । अमेरिकी गुप्तचर निकायले भने उनकै निर्देशनमा हत्या भएको अनौपचारिक रुपमा जानकारी गराएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यसैसाता संदिग्ध १७ जना व्यक्तिलाई नाकाबन्दी गर्ने जनाएको थियो । अमेरिकी सांसदहरुले भने साउदी अरेबियाका विरुद्ध कडा कदम चाल्न आग्रह गरेको साउदी अरेबियाका विरुद्ध कडा कदम चाल्न आग्रह गरेको छ ।
अहिले अमेरिकी गुप्तचर निकाय निष्कर्षमा पुगेको कुरा सुरुमा वाशिङ्टनपोष्टले समाचार बनाएको थियो । खसोग्जीको हत्या गएको अक्टोबर २ तारेखमा इस्तानबुलस्थित साउदी कन्सुलेटमा भएको थियो । यसै हप्ता साउदीअरेबियाका अभियोजकले हत्यामा संलग्न ५ जनालाई मृत्युदण्डको स्वीकृति अदालत समक्ष लिइने जनाएका थिए ।
अमेरिकी गुप्तचर निकाय पछिल्लो निष्कर्षमा पुग्नुअघि साउदी युवराजका भाइ तथा अमेरिकाका लागि साउदी राजदूत खालिद बिन सलमानको फोनपनि अध्ययन गरेको थियो । फोनमा उनले खसोग्जीसँग कुराकानी गरेको स्रोतहरुले जनाएका छन् । उनले खसोग्जीलाई विवाहको कागजात मिलाउन इस्तानबुलस्थित कन्सुलेटमा जानु उपयुक्त हुने भनेर सुझाव दिएको पाइएको जनाइएको छ । तर, वाशिङटनस्थित साउदी दूतावासले वक्तव्य जारी गरेर खसोग्जीसँग राजदूतको फोनमा कुरा भएको अस्वीकार गरेको छ । वक्तव्यमा गएको सेप्टेम्बरको अन्त्यतिर राजदूत र खसोग्जीको भेट भएको भने स्वीकार गरिएको छ । त्यो भन्दा अघि मेसेजमा मात्रै कुरा भएको र पछिल्लो मेसेज सन् २०१७को अक्टोबर २६ मा पठाइएको दूतावासले जनाएको छ । खसोग्जी इस्तानबुल जाने वा नजाने बारेमा कुनै कुरा नभएको दूतावासको दाबी रहेको छ ।
अमेरिकी निष्कर्षका बारेमा विश्वभरीका सञ्चार माध्यममा समाचार प्रकाशित वा प्रसारित भएपनि साउदी अरेबियाका सञ्चार माध्यम भने मौन देखिएका छन् । उनीहरुले साउदी युवराजको सो घटनामा कुनै संलग्नता नरहेको भन्ने कोणबाट भने समाचार दिएका छन् ।
(एजेन्सी)