
पेरिस । पहिलो विश्वयुद्ध अन्त्य भएको १ सय वर्ष पुगेको छ । यो युद्ध सन् १९१४ जुलाई २८मा सुरु भई १९१८ नोभेम्बर ११ मा अन्त्य भएको थियो । पहिलो विश्वयुद्ध सकिएको सय वर्ष पुगेको सन्दर्भमा फ्रान्सको राजधानी पेरिसमा आज (आइतबार) विशेष कार्यक्रम गरिँदैछ । कार्यक्रममा भाग लिन अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायतका विश्व नेताहरु पुगेका छन् ।
त्यसैगरी बेलायती महारानी एलिजाबेथ व्दितीयासमेत लण्डनमा छुट्टै कार्यक्रममा सहभागी भएकी छन् । यो युद्ध नेपाल र नेपालीका लागि पनि उत्तिकै स्मरणीय रहेको छ । थुप्रै नेपाली युवाहरुले सो युद्धमा सहादत प्राप्त गरेका थिए । सो युद्धमा नेपालका गोर्खा सेनाहरु ठूलो संख्यामा सहभागी भएको बताइने गरेपनि फरक फरक तथ्यांकहरु पाइने गरेको छ ।
पहिलो विश्वयुद्धमा फ्रान्स, रसिया र बेलायत एक पक्षमा तथा जर्मनी, अष्ट्रिया—हंगेरी र इटाली अर्को पक्षमा रहेका थिए र विश्वका अन्य मुलुकहरु ती दुई पक्षमा बाँडिएका थिए । युद्धमा १० औं लाख योद्धा, त्यस्तै १० औं लाख सर्वसाधारण र युद्धपछिको महामारीबाट त्यो भन्दा ठूलो संख्यामा मानिसहरु मारिएको बताइने गरेको छ ।
नेपाली युवाहरु ब्रिटिश इण्डियामार्फत् युद्धमा सामेल भएका थिए । गोर्खाली सेना पश्चिमी फ्रन्टमा लडेको बताइने गरेको छ । उनीहरु खासगरी गल्लीपोली, इजिप्ट, प्यालेस्टाइन, मेसोपोटामिया तथा उत्तरपूर्वी फ्रन्टियरमाा लडेका थिए । फ्रान्सको लुजमा भएको युद्धमा राइफलम्यान कुलवीर थापाले २५ सेप्टेम्बर १९१५मा भिक्टोरिया क्रस पाएका थिए । केफ्रेमा भएको युद्धमा राइलफलम्यान कर्णबहादुर रानाले पनि भिक्टोरिया क्रस पाएका थिए । बेलायतले त्यसको बदलामा चन्द्र शमशेरलाई जनरल अफ ब्रिटिश आर्मीको उपाधि दिएको थियो । त्यही बेलादेखि नेपालीलाई बहादुर गोखाका रुपमा संसारले चिनाएको हो ।
नेपाली सेनाका तर्फबाट फस्ट राइफल, कालिबक्स, शमशेर दल, जब्बर जंग, पशुपतिप्रसाद, भैरवनाथ, सेकेण्ड राइफल, भैरुङ्ग र श्रीनाथ बटालियनको करिब १४ हजार सेना सहभागी थिए । कतिपयले यो संख्या १६ हजार भएको पनि बताएका छन् । नेपाली सेनालाई जनरल बबर शमशेर, तेज शमशेर र पदम शमशेरले नेतृत्व गरेका थिए । नेपालले त्यतिबेला १ मिलियन पाउण्ड बेलायतलाई सहयोग नगद सहयोग समेत गरेको थियो ।
१८१४ देखि ०१६ सम्म नेपाल–अंग्रेज युद्ध भएको थियो र सुगौली सन्धीमा त्यसको अन्त्य भएको थियो । त्यसको सेरोफेरोमा नेपाल र बेलायतको सम्बन्ध तिक्ततापूर्ण रहेपनि जंगबहादुर राणा सत्तामा आएपछि सम्बन्ध सुध्रिएको हो । उनले लामो बेलायत यात्रा पनि गरेका थिए । जंगबहादुर पहिला गए पनि औपचारिक भ्रमण चन्द्र शमशसेरले १९०८मा बेलायत भ्रमण गरेका थिए र राजा जर्ज पाँचौं १९११मा नेपाल आएका थिए । राजा जर्जले २१ वटा बाघको शिकार गर्नुका साथै १९ गैडा र २ भालुको समेत शिकार गरेका थिए । उनैले गोर्खालाई भिक्टोरिया क्रस पाउन सक्ने बाटो खोलिदिएको मानिन्छ ।
पहिलो विश्वयुद्धको चिहान भएको फ्रान्सको एइज्ने मार्नेको फ्रेन्च गाउँ बेलेउमा १९१८मा ठूलो संख्यामा मानिस मारिएका थिए । अमेरिकी राष्टपति ट्रम्प त्यहाँ गएपनि पानी परेर त्यो स्थानमा जान नसकेको समाचारहरुमा जनाइएको छ । जुन फ्रान्सको राजधानीबाट ५० माइल टाढा रहेको छ । उनी हेलिकोप्टबाट जान लागेकोमा पानी परेर नगएको भनेर अमेरिकाका प्रतिपक्षीले ट्रम्पको आलोचना गरेका छन् । आलोचना गर्नेहरुले त्यतिबेला अमेरिकी सेना शत्रुसँग पनि लड्न सकेको तर अहिले राष्ट्रपतिले सामान्य वर्षालाई पनि पराजित गर्न नसकेको जनाएका छन् ।
(समाचार एजेन्सीहरुको सहयोगमा)