गायनको चर्चित रियालिटी सो ‘नेपाल आइडल’को एपिसोड २१ चलिरहेको छ । कार्यक्रमको सुरुमा नियमित प्रस्तोताहरु नभएर स्टेजमा उभिएका छन् हास्य कलाकार सन्दीप क्षेत्री । पेसाले उनी पत्रकार पनि हुन् । टेलिभिजनमा उनी ‘मिठाईलाल जाधब’ का नामले प्रख्यात छन् र हास्य व्यँग्य मिश्रित अन्तर्वार्ता कार्यक्रम चलाउँछन् । हास्य कलाकारहरुलाई पनि बढो अप्ठेरो छ । उनीहरु जहाँ गए पनि सबैलाई केही न केही तरिकाले हसाउँन खोज्छन् । सायद दर्शकले पनि यस्तै अपेक्षा गर्दा हुन् । हास्य कलाकारबाट हाँसो, ठट्टाको अपेक्षा गर्नु कुनै नौलो कुरा पनि भएन ।
कार्यक्रम सुरु हुन्छ । क्षेत्रीको दर्शक हसाउँने प्रयास पनि जारी नै रहन्छ । उपस्थित निर्णायकहरुको नाममार्फत केही ठट्टा पनि गर्छन् । केही हदसम्म सफल पनि हुन्छन् । महिला निर्णायक इन्दिरा जोशीसँग जिस्किएर ठट्टा प्रस्तुत गर्ने उनको प्रयास पनि चली नै रहन्छ । यत्तिकैमा कार्यक्रमका नियमित प्रस्तोता रिमा र आसिफ देखापर्छन् । केही बेर फेरि हँसीमजाकको सिलसिला चल्छ । दुई नियमित प्रस्तोताले क्षेत्रीलाई आफ्नो ठाँउमा गएर बस्न र कार्यक्रम हेर्न अनुरोध गर्छन् । क्षेत्री नाइँनास्ती गरिरहन्छन् । रियालिटी सोहरु वास्तवमा ‘रियल’ हुँदैनन् भन्ने त हामीले सुन्दै, हेर्दै आइरहेकै कुरा भयो । खास अर्थमा ‘रियल’ हुँदैनन् पनि । किनभने कार्यक्रमको स्क्रिप्ट पहिले नै तयार हुन्छ । के भन्ने, के बोल्ने, कस्ता संवाद प्रस्तुत गर्ने, कसरी मनोरञ्जनात्मक बनाउने पहिले नै तय हुन्छ । अन्तिममा टीभीको अगाडि खालि ‘स्टेजिङ’ मात्र हुन्छ । त्यसपछि आवश्यक सम्पादन गरेर, कार्यक्रम निर्माता र निर्देशकको स्वीकृतिमा उक्त कार्यक्रमल अन्ततः दर्शकको अगाडि टिभीमा प्रस्तुत गर्ने कुरा हुन्छ । चित्त नबुझेका, ठीक नलागेका कुरा सम्पादन गर्ने, हटाउने प्रकिया यसबीच हुन्छ — कार्यक्रम प्रसारण हुनुअघि ।
क्षेत्री अझै पनि आफ्नो ठाँउमा गएर बस्न मानिरहेका छैनन् । यसै क्रममा उनी आसिफलाई भन्छन् – ‘एक छिन फिल त गर्न दिनुस् ।’ यत्तिकैमा महिला प्रस्तोता रिमा सहभागी हुन आइपुग्छिन् र ठाँउतिर देखाउँदै भन्छिन् – ‘त्यहाँ बसेर फिल गर्न मिल्छ सर ।’ रिमाले यति भन्न नपाउँदै क्षेत्री उनी नजिक पुगेर टाँसिन्छन् र अंकमाल गर्न खोज्दै दर्शकहरुतिर इसारा गर्दै भन्छन् – ‘फिल त म यसरी पनि गर्न सक्छु ।’ हाँसोको एक लहर गुँजिन्छ सबैतिरबाट । एक कदम पछाडि हट्दै रिमा ‘नो’ भन्छिन् र हाँस्दै एक हातमाथि उठाउँदै भन्छिन् – ‘मि टु’ जसलाई हाँसेर, मुन्टो निहुराएर अर्की महिला निर्णायक इन्दिराले समर्थन गर्छिन् । क्षेत्रीले संवादलाई अगाडि बढाउँछन् र भन्छन् – ‘उसो भए मी थ्री’ हाँसो र ताली गुन्जिरहन्छ । अर्का प्रस्तोता आसिफ मिसिँदै भन्छन् – ‘मि फोर’ क्षेत्रीले अन्ततः संवादलाई टुंग्याउँछन्– ‘मि फाइभ’
राष्ट्रिय टीभीमा प्रसारण भइरहेको एउटा अन्तर्राष्ट्रिय फ्रेन्चाइजको गायन सोमा विश्वव्यापीरुपमा भइरहेको यौन दुव्र्यवहार र महिला हिंसाविरुद्धको अभियान #मिटुलाई सस्तो मजाकको विषय बनाइन्छ । तर अचम्म, यो कुरा कसैलाई खट्किँदैन । ताली निरन्तर बजिरहन्छ । भर्खरै गरिएको संवाद र जे स्टेजमा देखियो त्यो कसैलाई अप्ठ्यारो लाग्दैन – न त कार्यक्रम प्रस्तोतालाई, न त उपस्थित जजलाई, न त दर्शक दीर्घामा बसेका महिला अनि पुरुषलाई । निरन्तर ताली र हाँसोका बीच कार्यक्रम सकिन्छ । दुई दिनपछि उक्त संवादको ‘फुटेज’ सामाजिक संजालमा देखिन्छ । चौतर्फी आलोचना हुन्छ । पंक्तिकारले पनि आलोचना गर्छ ।
केहीबेर पछि पंक्तिकारले सोच्छ— कसको आलोचना गर्ने ? कार्यक्रम प्रस्तोताहरुको ? यस घटिया मजाकको मौन समर्थन जनाउने उपस्थित तीनै जना जजको ? या यसका प्रमुख आर्किटेक्ट हास्य कलाकार क्षेत्रीको ? या कार्यक्रमका निर्माता, निर्देशक र सम्पादकको ? या नेपाल आइडलको उक्त एपिसोडको सम्पूर्ण युनिटको ? या प्रसारण गर्ने टिभीको ? एउटा समयमा कोही एउटा व्यक्ति गलत हुन सक्छ । जिन्दगीमा हामी सबैले गल्ती गरेका हुन्छौँ । त्यसको क्षमायाचना पनि गरेका हुन्छौँ । तर, एउटै समयमा यति धेरै मानिस गलत? सबैबाट भूल ? अंग्रेजीमा एउटा भनाइ नै छ – ‘तिमी एकचोटि गल्ती गर्छाै भने त्यो तिम्रो भुल हो । तर बारम्बार त्यही गल्ती दोहोर्याउँछौ भने त्यो भुल होइन, ‘स्टेटमेन्ट’ हो । किनभने तिमी त्यो गल्ती जानी जानी गरिरहेका हुन्छौ ।’
कार्यक्रमको खाका तयार पार्दा ‘मिटु’ लाई यसरी हास्य रुपमा प्रस्तुत गरौँ भनेर आएको सुझाव पहिलो गल्ती हो (यसरी पूर्व तयारी स्वरुप आएको हो भने) । यसलाई त्यहीँ रोक्न सकिन्थ्यो । तर त्यस्तो भएन । दर्शकहरुसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने कार्यक्रम प्रस्तोता र तीनै जना जजहरुबाट यस विषयमा मन्जुरी आउनु दोस्रो गल्ती हो । रेकर्ड गरिसकेपछि आवश्यक सम्पादन गर्न बस्दा यसलाई नजरअन्दाज गर्नु, फुटेज फेरि हेर्दा कुनै किसिमको अप्ठेरो महसुस नगर्नु तेस्रो गल्ती हो । अन्तिममा कार्यक्रमका निर्माता र निर्देशकबाट पनि बिना कुनै रोकटोक अनुमोदन हुनु चौथो गल्ती हो । र अन्ततः कार्यक्रम प्रसार गर्न टीभीले अनुमति दिनु पाँचौ गल्ती हो । अब भन्नुस् यतिका धेरै मान्छेबाट, यति चरणमा भएको गल्ती गल्ती हो कि स्टेटमेन्ट?
अघिको प्रश्नमा एक चोटि फेरि जाऊँ । आलोचना गर्ने तर कसको ? होइन, मिटुलाई सस्तो उपहासको रुपमा प्रस्तुत गर्ने पहिले कुनै पूर्व तयारी भएको थिएन र क्षेत्रीले जस्तो किसिमको हाउभाउ देखाए त्यो उनीद्वारा सोको क्रममा गरिएको ‘इम्प्रोभाइजेसन’ थियो भने यो सर्वत्र आलोचनाको जिम्मा पहिले उनलाई जान्छ । रिमाले नो भनेर ‘मीटु’ भनिसकेको अवस्थामा त्यस संवादलाई ‘मी थ्री’ र ‘मी फोर’ भनेर एउटा मजाकको शैलीमा संवादलाई अगाडि बढाउनु ठट्टामात्र होइन । यो संवेदनशील विश्वव्यापी अभियानको अवमूल्यन पनि हो । आपत्तिजनक विषय हो । यसको दोष सम्पूर्ण नेपाल आइडल युनिटलाई जान्छ । क्षेत्रीले देखाएको हाउभाउ र उनको व्यवहार प्रस्तोता रिमालाई आपत्तिजनक लाग्यो लागेन, उनले अप्ठ्यारो महसुस गरिन् या गरिनन् यो उनलाई मात्र थाहा हुने कुरा हो । हामीले अगाडि बढेर अड्कलबाजी लगाउनु आफैँमा गलत हुन जान्छ । यति हुँदाहँदै पनि जुन तरिकाले यसलाई प्रस्तुत गरियो त्यो समग्रमा एउटा लज्जाको विषय हो ।
हलिउडबाट सुरु भएर बलिउड हुँदै विश्वव्यापी हुन लागेकोे यस ‘३मीटु अभियानको छिटा नेपालमा पनि परिसकेको छ । काठमाडौंका पूर्वमेयर तथा प्रदेश नम्ब ३ का मन्त्री केशव स्थापितमाथि दुई महिलाले विगतमा आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन् । यसबीच महिलाहरू निर्भीक भएर त्यस्ता अनुभव भए अगाडि आई दोषीको भन्डाफोर गर्नु पर्छभन्ने समर्थनका आवाज उठिरहेका छन् । यद्यपि, हामीबीच महिलाले लगाएको आरोपमाथि नै शंका गरेर ‘उतिखेरै किन नभनेको?’ ‘अहिले आएर भन्नुपछाडिको रहस्य के हो?’ भनेर उल्टै पीडितलाई प्रश्ने जमात पनि छ । ‘अहो तपाईंलाई त्यस्तो भएको रहेछ’ भनेर सहानुभूति दिँदैन । मिटु अभियानलाई उच्चमध्यम वर्गको आपसी रिस फेर्ने माध्यमात्र ठान्नेहरू पनि छन् ।
यस्तो पृष्ठभूमिमा लाखौं जनताले हेर्ने एउटा चर्चित कार्यक्रममा मिटु अभियानलाई यति सस्तो र भद्दा किसिमले उपहासको विषय बनाउँदा त्यसले दर्शकलाई कस्तो सन्देश दिन्छ ? के यसले यस्ता व्यवहारहरु स्वीकार्य छन् र ‘यत्तिको त चलिहाल्छ नि !’ भन्ने सन्देश दिँदैन? यस्ता व्यवहारलाई सामान्यीकरण गर्दैन? पीडितलाई उल्टै प्रश्न गर्ने जमात कति खुसी हुँदो हो नेपाल आइडलको त्यो एपिसोड हेर्दा ? बिगतमा यौन दुव्र्यवहारको सिकार भएका महिला भित्रभित्रै कति खुम्चिँदा हुन् त्यो एपिसोड हेर्दा ? प्रेमीप्रेमिकाले एकआपसमा माया अभिव्यक्त गर्दा भन्ने ‘आई लभ यु’ र ‘आई लभ यु टु’ मा हलुका ठट्टा मिसाएर भनिएको ‘आई लभ यु थ्री’ र ‘आई लभ यु फोर’ जस्तो हो र मिटु अभियान?
माफी मागेर, क्षमा याचना गरेर क्षमा हुने कुरा हो यो ? नबिर्साैं, माफीको भन्दा गल्तीको आवाज जहिले पनि ठूलो र चर्को हुन्छ ।