रामेछापको सुन्दर गाँउ, पहाड र हिमालको संगम, राजनीतिक चेतना भएको परिवार । पञ्चायतले सबैतिर गाँजेर राजनीतिक चेतना बन्धक बनाएको बेला । म २०२४ सालको कुरा गर्दैछु । यही वर्षमा दाहाल परिवारमा जन्मिएको हो भोला अर्थात् भोलाप्रसाद दाहाल (पीएचडी) । चौथो सन्तानको रुपमा जन्मिएको भोला सानैदेखि प्रखर रहेको लाग्छ मलाई र मैले सुनेको पनि त्यही हो । एक पटक प्रसङ्गबस भोलाले भनेथ्यो कसरी करिब छ वर्षको ऊ र दाइ बेसीको गोठमा त्यो पनि बाघ लाग्ने जंगलको आसपास भएर पढ्ने र खेत रुग्ने काम गर्थे ! त्यति बेलै बाघसँग जम्का भेट गर्न बाध्य भोला पछि कसैसँग डराएको देखिन मैले । सधैँ प्रखर, सधैँ केही गर्न तत्पर ।
म नेपाल बाल संगठनमा कार्यरत रहँदा भोला सेभ द चिल्ड्रेन नर्वेमा काम गथ्र्यो । त्यही बेला देखि चिनेको हुँ मैले । करिब ०५४/०५५ साल तिरको कुरा हुनुपर्छ । पछि म केन्द्रीय बाल कल्याण समितिमा गएपछि हाम्रो सम्बन्ध कामको सम्बन्ध भयो । भोलाका लागि काम नै सबै थोक थियो त्यस बेला र अन्तिमसम्म पनि । सरकारले बाल अधिकार महासन्धि अनुमोदन गरेपछि त्यसलाई लागुगर्न ऐन पनि बनायो । त्यसैमा बन्यो बाल कल्याण समितको संरचना पनि, २०४९ सालमै । तर त्यस संरचनालाई कार्यान्वयन गर्ने जमर्को भने सरकारले गरेन । भोला कार्यरत सेभ द चिल्ड्रेन सुरुदेखि नै त्यो संयन्त्र क्रियाशील गराउन लागि परेको थियो र भोला त्यस सबालमा सबैभन्दा अगाडि । विसं २०५८ को अन्त्यतिर आएर बल्ल यस संयन्त्रलाई क्रियाशील पार्न सरकारले कार्यकारी निर्देशक नियुक्त गर्यो र सुरु भयो मेरो र भोलाको व्यावसायिक सहयात्रा ।
देशका २८ जिल्ला बाल कल्याण समितिमा बाल संरक्षण अधिकृतहरुको नियुक्ति, ती जिल्लाहरुमा कार्यक्रम तथा केन्द्रीय कार्यलयको संस्थागत सुदृढीकरणका सुरुका कार्यहरु सेभसँगकै सहकार्यमा भएका थिए, त्यसको अग्रपंक्तिमा थियो भोला । माओवादीले सशस्त्र संघर्ष गरिरहेको त्यस समयमा बालबालिका अत्यन्त असुरक्षित थिए । बालबालिका बाल सैनिकमा भर्ना भएका, विद्यालय जानबाट वञ्चित भएका, विद्यालयबाटै अपहरणमा परेका र युद्धको मानसिक तापले संतप्त भएका कुरा बाहिर आइरहेका थिए । यसै समयमा बाल कल्याण समिति र सेभ द चिल्ड्रेन मिलेर बाल संरक्षण कार्यक्रम सुरु गरियो । तत्कालिन जिल्ला तथा गाउँ विकास समतिहरुमा बाल संरक्षण समितिहरु गठन मात्र भए र निकै क्रियाशील समेत भए । दाङको एउटा गाँउमा द्वन्द्व उत्कर्षको बेला कार्यक्रम अनुगमन गर्न जाँदा माओवादीले चिनेर घेरा हालेपछि भोलाकै चातुर्यका कारण सकुशल फिर्न सकिएको थियो ।
बाल संरक्षण नीतिको विकास त्यसै बेला भएको हो । बाल कल्याण समितिमा मेरो पाँच वर्षे कार्यकाल सकिएपछि हाम्रो कामकाजी सम्बन्ध बिस्तारै मित्रतामा परिणत भयो र हामीले धेरै व्यावसायिक तथा व्यक्तिगत सहकार्य गर्यौँ । मेरा थोरै मीत्रहरुको घेरामा भोला थियो र पछिल्ला चार पाँच वर्ष त हामी यति नजिक थियौँ कि हामीबीच कुनै कुरा सायदै लुकेको थियो होला !
फूलपातीको दिन बिहान ४ : २२ बाट आउन थालेको फोन मैले करिब ६ बजेमात्र उठाउन सकेँ । त्यही बेला मैले मेरो जीवनको सबैभन्दा नजिकको मित्र यस संसारबाट बिदा भएको खबर सुन्नु पर्यो । कसरी पत्याउने त्यो सूचना ! सधैँ केही न केही गर्न तत्पर, काम गरेर कहिल्यै नथाक्ने र कसरी राम्रो गर्न सकिन्छ भनेर तल्लीन रहने मेरो साथी अब यी लौकिक कामहरु नगर्ने बाटोमा गइसक्यो भनेर । रेडक्रसका विषयहरु हुन् वा बालबालिकाका, सुशासनका विषय हुन् वा शिक्षाका, सूचना सम्बन्धी काम होस् कि लैगिंक सबाल भोला सधैँ तयार र सुसज्ज्ति रहन्थ्यो । साथी र सम्पर्कको यत्रो ठूलो सञ्जाल थियो उसको कि कुनै पनि काम कहीँ पनि नरोकिने ।
पहिलो पटकको अमेरिका यात्रा, सिंहदरवार नामक जनचेतनामूलक टेली शृंखलाको हलिउडमा प्रदर्शन र स्रोत जुटाउने अभियानमा लस एञ्जेलस पुगेको भोला यात्राको थकान समेतलाई वास्ता नगरी काममै जुटेको थियो । आइतबार, अक्टोबर १४ २०१८, अपरान्ह ४ बजे (लस एञ्जेलस समय) म आज बेलुकाको खाना पनि खान आउँदिन, केही काम गर्नुछ भनेर होटेलको कोठामा छिरेको एकै पटक सोमबार १३ः४५ बजेतिर मात्र ओछ्यानमा मृत अवस्थामा भेटिएको जानकारी छ । कसरी हामी सबैलाई र आँफैलाई पनि छलेर यसरी जान सकेको ? समय र मृत्युको महिमा यति बलवान र मान्छेको नियति यति कमजोर नै हो त?
पछिल्ला दिनहरुमा हामी कसरी खुसी रहने, जीवनलाई कसरी पूर्णतातिर लैजाने र कसरी कम्तीमा हामी जस्तै अर्को एकजनाको जीवनमा आशा र विश्वास दिलाउन सकिन्छ भन्ने कुरामा केन्द्रित हुन प्रयत्न गर्दै थियौँ । विभिन्न व्यावसायिक तथा व्यक्तिगत विषयमा हामी अझ बढी जोडिँदै थियौँ र सामाजिक विकाससँगसँगै आर्थिक विकासले व्यक्ति, परिवार र समाजमा पार्ने प्रभावलाई अनुभूत गर्दै यस्ता काममा लाग्न जुट्दै थियौँ । शिवपुरी डाँडाको यात्रा होस् वा अगेँनो नामक रेस्टुराँमा बिताएका क्षण हुन् ती सबै अब स्मृतिमा मात्र रहनेछन् । थाहा छैन मृत्युपछिको जीवन के हुन्छ तर म यहाँ रहुन्जेल सम्झना त पक्कै रहिरहनेछ, मेटिनेछैन । केही गर्न लागिरहने, साथीभाइलाई पनि सँगै तान्ने र जोड्ने अनि निराशालाई कहिल्यै ठाँउ नदिने मेरो मित्र बिदा !
शाश्वत सत्य यदी मृत्यु हो भने,
उसैको अधीनमा जीवन छ भने,
उसको विधान कसैलाई थाहा छैन भने,
जीवन गति उसैको खटनमा चल्छ भने,
उसले चाँहदा जीवन सकिने
चाहना उसको केमा स्थित छ ?
छ कुनै विधि विधान उसको नीतिको ?
जान्ने बुझ्ने छैन अधिकार उपाय भने;
चाहना अमरताको होइन
न त इच्छा हो जान्ने मृत्यु तिथि
चाहना त फगत यत्ति हो हे मृत्यु
तेरो विधानको रीति के हो ?
जाने यति म तेरो आगमन
मृत्यु उत्सव गरी मनाउने थिएँ
र गर्ने थिएँ तेरो जय जयकार !