site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
‘पुराना कुरा’सँग जोडिएका केही कुरा  

विगतलाई नहेर्नु, आगत हेर्नु । धेरैले भन्छन्, यसै । रपनि, अतीतमा विचरणले मनमा सन्तुष्टि दिन्छ । नेपथ्यमा रुमल्लिँदा कहिलेकाहीँ ऊर्जा पनि मिल्छ । विगतका कतिपय सन्दर्भ प्रसंगले उत्प्रेरणा पनि दिन्छ । यो निश्चित हो । पङ्तिकारको अनुभूति हो यो ।  

वरिष्ठ व्यक्तित्वका पुराना कुरा सुन्नमा आनन्द आउँछ । त्यसैले पनि एकदिन पुगेको थिएँ, वरिष्ठ राजनीतिज्ञ विश्ववन्धु थापाकहाँ । केही बेर कुशलक्षेममा बितेपछि उनीसँग लामो कुराकानी भयो । उनी पनि आफ्नो अतीत बताउँदै मुस्कुराइरहे । 

यसरी पुराना दिन सम्झँदै कुराकानी गर्ने क्रम बढ्दै गयो । फिचर लेखिँदै गयो । यसै क्रममा पुराना नेता नवराज सुवेदी र वरिष्ठ पत्रकार मदनमणि दीक्षितसँग पनि कुराकानी गरियो । शीर्षक जे भएपनि, स्तम्भको नाम जुनै राखिए पनि, कुरा भने पुराना नै हुन्थे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कुराकानीका क्रममा राजनीतिज्ञ नवराज सुवेदीले पनि आफ्नो राजनीतिक यात्राको थालनीको रोचक प्रसंग उप्काएका थिए भने मदनमणि दीक्षितले पनि आफूलाई वैदिक साहित्यले तान्ने कारण खोलेका थिए । उनको संस्कृत भाषाप्रति विशेष मोह रह्यो । यही मोहले उनलाई वैदिक साहित्य तर्फ डो¥यायो । आज नब्बे कटिसकेको यो उमेरमा पनि उनको लेखपढ गर्ने बानीमा कुनै कमी आएको छैन । 

यो क्रम अगाडि बढ्दै गयो । एकपटक साहित्यकार तथा चलचित्रकर्मी चेतन कार्कीसँग उनको साहित्यिक यात्रालाई लिएर लामो कुराकानी भयो । तर उनीसँग चलचित्र सम्बन्धी कुरा हुँदैभएनन् । यद्यपि उनी एक कुशल चलचित्रशिल्पी पनि हुन् भन्ने सबैलाई थाहा छ । 

नेपाली, अंग्रेजी, हिन्दी, संस्कृत र उर्दु भाषाका ज्ञाता चेतन कार्कीलाई ठूलो पर्दाको भाषा सिकाउने व्यक्ति हुन् नेपाली फिल्म आमाका निर्देशक हिरासिंह खत्री । हिरा सिंहकै सुरुआती सिनेमाहरुमा उनले स्कृप्ट लेखनमा सहयोग गरे । गीत लेखे । पछि आफैले फिल्मको स्कृप्ट लेखेर निर्देशनसमेत गरे । र, उनको अहिलेको गतिविधि साहित्यतर्फ विशेषरुपमा समर्पित छ । 

कुराकानीमा वीपी कोइरालाका निजी सचिव रेखबहादुर भट्टराई र वरिष्ठ शल्यचिकित्सक प्राडा दिनेशनाथ गोंगलसँग कुरा गर्दा पनि पुराना कुरामा नै विशेष जोड दिइयो ।  

त्यस उप्रान्त सुरु भयो एउटा स्तम्भ, ‘पुराना कुरा’ । यसरी थालिएको पुराना कुरामा पहिलो पटक राजनीतिज्ञ पशुपति शमशेर जबराका कुरा प्रस्तुत गरिएको थियो भने अहिलेसम्म समाजका विभिन्न क्षेत्रमा क्रियाशील १७ जना विशिष्ट व्यक्तित्वका पुराना कुरा यो स्तम्भमा समेटिइसकिएका छन् ।

केही साता अगाडि वरिष्ठ फिजिसियन डा. सुन्दरमणि दीक्षितसँग निक्कै लामो कुराकानी भएको थियो । ती सबै दुई हजार–पच्चीस सय शब्दमा समेटिन सक्ने अवस्था पनि थिएन । सोही कुराकानीका क्रममा डा. दीक्षितले एक जना डाक्टरको अवस्थालाई चित्रण गरेका थिए । ति डाक्टरसँग उनको परिचय त थिएन, तर तिनका बारेमा उनलाई धेरैले केही कुरा सुनाएका थिए । वीर अस्पतालको ढोका अगाडि ती डाक्टर विक्षिप्तरुपमा नानाभाँती बोलीरहन्थे अरे । पछि डा. दीक्षितले कसैबाट थाहा पाए ति एकजना कुशल डाक्टर थिए । ती डाक्टरले आफू पहाड नजाने भन्दाभन्दै पनि तिनलाई पहाडी अस्पतालमा काम गर्न पठाइयो । पश्चिमी पहाडको अस्पतालमा पठाइ दिएपछि तिनको जीवन रक्सीकै नसामा घोलिएर गयो । डा. दीक्षितको भनाइ थियो, ‘एउटा राम्रो डाक्टरलाई सरोकारवालाहरुले यतिसम्मको पीडा दिएका थिए ।’  

पूर्वमन्त्री भद्रकुमारी घलेसँगको कुराकानी पनि रोचक रह्यो । कुराकानीकै क्रममा उनले आफ्नो मावलका हजुरबुबाको कथा सुनाएकी थिइन् । उनका मामाघरका हजुरबुबा त्यसबेला राणाजीहरुलाई घोडा बेच्थे । राणाहरुसँग संगत भएका कारण उनको कुरो चल्थ्यो पनि । तर एक पटक केही ठालुहरुसँगै उनको मुद्दा पर्यो । मुद्दामा उनी हराइए । त्यसपछि उनका बाजेले सिंहदरबारको ढोका अगाडि बसेर राँको नै बालेर आन्दोलन गरेछन् । बिहान भएपछि चन्द्र शमशेरले उनका हजुरबुवालाई सिंहदरबार भित्र बोलाएछन् । 

चन्द्र शमशेरले ‘ए बीरे, यो बौलाहा तालको काम किन गरेको भनेपछि उनले पनि यथार्थ बताए । अनि भनेछन्, ‘गोर्खा राज्यमा न्याय हरायो । म यो राँको बालेर त्यही न्याय खोजी रहेछु ।’

पछि चन्द्र शमशेरले उनको कानमा गोकुल लगाईदिएर तीन हजार दाम बक्सिस दिएर अब उप्रान्त बीरे गुरुङ्गका नाममा कसैले नालिस दिन नपाउने र वीरेले पनि कसैमाथि नालिस दिन नपाउने सुनाएछन् । 

आफ्ना हजुरबुबाका विषयमा भनिरहँदा भद्रकुमारी घलेको अनुहार खुलेको थियो ।

वरिष्ठ गीतकार तथा कवि रत्नशमशेर थापा सिद्धहस्त गीतकार हुन् । उनी गीत लेख्दा धुनमा लेख्न मनपराउँछन् । उनी धुनमा गीत लेख्न खप्पीस पनि छन् । जबकी धुनमा गीत लेख्ने कार्य कठिन मानिन्छ । जो कोहीले शब्द र भाव दुबैको संयोजन धुनमा लेखिएको गीतमा गर्न सक्दैनन् । तर थापालाई यसमा महारथ प्राप्त छ भन्दा अतिशयोक्ति नहोला । उनले गीत मात्रै नभएर कविता, मुक्तक र हाइकु पनि लेखेका छन् । र केही लामा निवन्धहरु पनि प्रकाशित छन् ।

कवि लेखकहरुसित मात्रै होइन, उनका टोले साथीहरुसितै पनि कैयन पटक उनी रातरात भर तिनको खानपानको साक्षी बनेका छन् । तर उनले कहिल्यै रक्सी र बियरलाई हात लगाएनन् । नपिए पनि उनी साथीहरुलाई पुरापुर साथ दिन्थे । उनका साथीहरुको जमात देखेर थापालाई पिउँदैन भनेर कसैले भन्दैनन् । उनीमाथि शंका त गरेकै हुन्थे । 

थापाका अनुसार एक पटक एक जनाले उनलाई सोधेछन् पनि, ‘दाइ अचेल पिउन छोडनु भयो ?’ उनले भनेछन् ‘मैले कहिले पिएको छु र ? तिमीले कहिले देख्यौं मैले पिएको ?’ यो सुनेर ती टोलेले भनेछन्, ‘हैन सधै पिउने साथीहरु सितै रहनु हुन्छ त्यसैले सोधेको हुँ’ । 

यो प्रसंगको चर्चा गरिरहँदा गीतकार थापा हाँसी रहेका थिए । एक पटक त एकजनाले उनलाई भनेछन्, ‘नपिएर पनि यस्तो गीत लेख्न सकिन्छ र ?’
वरिष्ठ समालोचक प्राध्यापक मोहनराज शर्माको बाल्यकालदेखि युवा उमेरसम्मका अधिकांश समय बनारसमा नै बित्यो । उनको अधिकांश समय लेखपढमै बित्यो । यसकार अतिरिक्त उनी चङ्गा उडाउने काममा विशेष पोख्त थिए । समय मिल्यो कि उनको हात लटाईमा पुग्थ्यो । यसरी लामो समयसम्म चंगा उडाउँदा उडाउँदा उनको आखाँ नै माथिमाथि उक्लिसकेको उनी बताउँदै थिए । आफ्नो बाल्यकाल सम्झिएर उनी मुस्कुराउँदै थिए ।

शर्माको बनारस बसाइ थियो । राजनीतिज्ञहरुसितको सम्पर्क नहुने त कुरै भएन । तर उनलाई राजनीतिले कहिल्यै तानेन । तानेको भए उनी सायद राजनीतिमा स्थापित हुने थिए । तर त्यो बेला सायद नेपाली साहित्यले एउटा फरक धारका लेखक र कुशल समालोचक पाउने थिएन होला । 

पौभा चित्रकलामा उत्कृष्टता हासिल गरेका वरिष्ठ कलाकार प्रेममान चित्रकारले मन्दिरका टुँडालहरुमा देखिने नग्न चित्रकारिताका विषयमा बताएका थिए । उनका अनुसार त्यो हरेक मानिसको जीवन दर्शन हो । उनको भनाइअनुसार नग्नतामा सुन्दरता त छँदैछ, त्यसमाथि मन्दिरका टुँडालहरुमा राखिएको चौरासी आसनको कलात्मक प्रस्तुतिले प्राकृत्तिक विपद्हरुबाट त्यसलाई जोगाउँछ भन्ने मान्यता रहिआएको छ । उनी भन्दै थिए, ‘हामीले पनि सुनेकै कुरा हो, पानी, अग्नी वा अरु प्रकोपहरुबाट यस्ता चित्रकलाले बचाउँछ भन्ने मान्यता छ । यस्को प्रभावले छुँदैन अरे । तर भैचालोमा काष्ठमण्डप पनि ध्वस्त भयो । अब यसलाई कसरी सत्य मान्ने ?!’ उनले आश्चर्यमिश्रित प्रश्न उठाए ।

वरिष्ठ शल्यचिकित्सक डा. सुदीपकुमार भट्टाचार्यका सहपाठी थिए, योगेन्द्रमान सिंह प्रधान । पढाई सक्याएर आएपछि दुबैलाई पहाडी अस्पतालमा पठाइने कुरा उठ्यो । तर योगेन्द्रमानले आफू पहाडमा हिँड्न नसक्ने कुरो बताए । त्यसपछि उनलाई पोखरा पठाईएको थियो । त्यसबेला पोखरामा भरखरै हवाईजहाज जान सुरु भएको थियो । र डा. भट्टाचार्यलाई भोजपुर खटाइयो । उनका अनुसार भोजपुरमा उनी दुई वर्र्र्ष बसे । त्यही समयमा २०१७ साल पुस १ गतेको घटना घट्यो । उनले त्यो बेला काँग्रेसी भएको आरोप पनि खेप्नु परेको थियो ।  

डाक्टर भट्टाचार्यका अनुसार उनी एफआरसीएस गर्न तीन वर्षका लागि बेलायत गएका थिए । तर दुई वर्ष नबित्दै उनको एफआरसीएसको तालिम सकियो । उनले बताएका थिए, ‘त्यसबेला मैले अञ्जनीकुमार डाक्टर साहबलाई मात्रै फोन गरेँ र भनेँ मेरो पढाइ सकियो । तर म यहाँ अझै केही काम सिक्न चाहन्छु । कसैलाई नभनिदिनु होला । यसरी बाँकी अवधि पनि मैले बेलायतमै बसेर काम सिकेँ ।’ 

वरिष्ठ समाजसेवी श्रीजंग शाहको दानवीर प्रवृत्तिको चर्चा नगर्ने मानिस कमै भेटिन्छन् । उनले काठमाडौं कान्तिपथको अरबौं मूल्य पर्ने आफ्नो घर जग्गा अस्पताललाई दान दिए । र यस्तो उदारता कमैमात्रले देखाउन सक्छन् । 

एकपटक उनी पशुपति विकास कोषको उच्चस्तरीय समितिमा पनि बसे । उनले त्यहाँ रहँदा पशुपति विकास कोषका लागि धेरै व्यापारीहरु सित सहयोग मागे । शाहका अनुसार उनी र उनका सहयोगीहरुले त्यसबेलाको करिब साढे चार करोड रुपैयाँ उठाएका थिए । यो कार्यमा सबैको सहयोग जुटेको थियो । 
उनी सृुनाउँदै थिए सहयोग रकम उठाउँदाको प्रसंग । उनी भन्दै थिए, ‘कतिपय ठाउँमा बैंक थिएन । त्यस्तो ठाउँमा पैसा उठ्दा सहयोग वापत प्राप्त रकम हामीले मालपोत कार्यालयमा लगेर जम्मा गर्दथ्यौं । मालमा पैसा बुझाएर रसिद लिन्थ्यौं । अनि काठमाडौं आएर त्यो रकम निकाल्थ्यौं ।’

भाषासेवी वसन्तकुमार शम्र्मा नेपालसँग कुराकानी हुँदा उनी भन्दै थिए, मेरो आँखा र कान दुबै कमजोर छन् । के कुरा गर्नुहुन्छ । तर उनीसँग कुरा गर्न बस्दा दुई घण्टा बितेको पत्तो भएन । 

पद्मोदय स्कूलमा अध्यापन कार्यमा समेत सक्रिय रहेका ९६ वर्षिय नेपाल सुनाउँदै थिए एउटा प्रसंग, ‘मैले एसएलसीमा एउटा प्रश्न दिएँ, शुद्ध गर भनेर । प्रश्न थियो ‘घोराको घुुराको हार ।’ यसलाई लेखिनु पर्दथ्यो ‘घोडाको घुुँडाको हाड’ । तर यो प्रश्नलाई लिएर मलाई धेरैले गर्नु गाली गरे । त्यसबेला मैले भनेँ, ‘मैले कसैलाई होच्याउन यो प्रश्न दिएको होइन । यो शुद्ध बनाउन दिएको हुँ । मैले हरेक विद्यार्थीले शुद्ध लेख्नुपर्छ शुद्ध बोल्नु पर्छ भनेरै यो प्रश्न दिएको हुँ । कसैलाई होच्याउन होइन । वास्तवमा त्यसबेला मैले सबैलाई चेतना दिने काम गरेको थिएँ । शुद्ध लेख्ने कोशिस गर भनेर सिकाएको थिएँ ।’

मोफसलमा बसेर निरन्तर पत्रकारिता गर्दै आएका व्यक्ति हुन् राजेश्वर नेपाली । उनको कर्मक्षेत्र जनकपुर र काठमाडौं बन्यो । उनले जनकपुरबाट काठमाडौंसम्मका विभिन्न पत्रपत्रिकालाई समाचार पठाए । राससमा पनि सहयोग गरे । पत्रकारितामा संलग्न भएकाका कारण उनको स्थानीय नेताहरुसित सम्पर्क बढ्नु स्वाभाविक थियो । तर पनि उनले यो सम्पर्कलाई सम्वन्धलाई कुनै कार्यमा प्रयोग गरेनन् । 

काठमाडौं आएका बखत पुराना कुराका लागि वार्तारत रहँदा उनी भन्दै थिए, ‘म खासै कहिँ पनि गइन । एक पटक तत्कालिन मन्त्री भोजराज घिमिरेजी कहाँ गएको थिएँ । फर्कने बेलामा उहाँले मलाई रोक्नु भयो र आफ्नै गाडीमा म बसेको लज मारवाडीबासा न्युरोडसम्म पु¥याउनु भयो । त्यतिबेला उहाँले म सक्दो सहयोग गर्छु भन्ने वचन पनि दिनु भएको थियो । उहाँले मलाई सम्मान नै गर्नुभएको थियो । एउटा साथीको नाताले उहाँले दिनुभएको सम्मान म आज पर्यन्त अनुभूत गरिरहेको छु । यति त आजका मन्त्रीहरुले गर्नै सक्दैनन् । रुद्रप्रसाद गिरीको स्वभाव बेग्लै थियो । डा. तुलसी गिरीसंग त हाय हलो मात्रै थियो ।’
पुराना कुराले पुराना दिन मात्रै सम्झाउँदैन, ति दिनको सम्झनाले उर्जा पनि मिल्छ । र, कतिपय अवस्थामा हरेक व्यक्तिलाई उत्प्रेरणा पनि दिन्छ । यतिभन्दा सायद अतिरञ्जना नहोला ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०७५  १२:४९
प्रतिक्रिया दिनुहोस्