समय फेरियो तर स्वदेशमा चरम निराशाको बादल हटेर नीलो सग्लो आकाश देखिने आशा सम्भावनामै रह्यो । परदेश गएर भविष्य उज्वल बनाउने सपना यो जुनीमा देशकै नियतीसँग मेल खाने पो हो कि ? थाहा छैन !
(बाह्रखरीको सहयोगमा प्रविधिको उपयोग गरेँ । र, योसँगै अर्कोप्रति हुलाकमार्फत गाउँमा पठाएको छु । सायद व्यक्तिगत चिठी घरमै मात्र पठाएको भए राम्रो हुन्थ्यो तर सबैको नियतिको प्रक्षेपण गर्न सार्वजनिक सञ्चारबाट संसारमा पु¥याउनु युक्तिसँगत ठाने । )
प्रिय बुबाआमा, बालुवा भूमिबाट ढोग गरँे । अवश्यै आर्शीवाद दिनुभयो । मैले पाएको आभास गरेँ । सन्चै हुनुहुन्छ भन्ने आशा छ ।
श्रीमती पनि सन्चै होलिन् । असीम र अटुट माया !
यहाँ म कुशल छु । तपाईँहरूमा पनि कुशलताको कामना ।
त्रिभुवन विमानस्थलबाट जेट विमानको यात्री बनेसँगै मातृभूमिबाट टाढिएँ । सम्भावनाको राजधानी काठमाडौंमा आफ्ना सुखद पाइलाको दूरी नाप्न खोज्दै गर्दा विकल्पहरू साघुँरिएपछि कतार बाध्यताको कर्मथलो बन्यो । यससँगै स्वदेशमा देखिएका सुकिला र ऊर्वर सपना ओइलाए ।
काठमाडौं विमानस्थलमा विमान ठूलो स्वरले उँड्दा धेरैपटक आफैँ तर्सिने गर्थे कतै परदेशतिर बत्तिनुपर्ने त होइन भनेर । तर, परिस्थितिले त्यही डरसँग साक्षात भेट गराइदियो ।
काठमाडौंको आकाशबाट जहाज जतिजति टाढा पुग्दै थियो स्वदेशी सामिप्य नजिकिएको आभास भइराख्थ्यो । जहाज स्वदेशको भूमिबाट स्वतन्त्र भएर वेग उडेपनि म स्वतन्त्र बन्न सकिन । किनभने मस्तिष्कमा भरिएका सपना, इच्छा र पीडाले साथ छोडेनन् । केही समयको अन्तरालमा आफ्नै देशबाट निकै टाढा पुगिसकेछु ।
कतारको हमाद विमानस्थलमा ज्यान उत्रिएपछि घर छाड्नुको पीडा तथा जहाजको पट्यारलाग्दो थकानले शरीर ऊर्जाहीन बन्यो । तैपनि जीवनको फूल फूलाउनु थियो । त्यसको सुगन्ध परिवारमा छर्नु थियो । त्यसैले परदेशको कर्ममा जोडिएँ । बिस्तारै आफ्ना सहकर्मीको उस्तै दिनचर्याले मनलाई सम्झाउँदै लग्यो । शरीरले लयमा फर्कने कोसिस गर्यो ।
जिन्दगीको सुनौलो भविष्यमा सजिँदै यहाँका आलिसान महल खडा गरिरहँदा इँटा र बालुवा मेरा हरपलका साथी बनेका छन् । दुःख यिनैसँग साट्छु । रिस उठे इँटामाथि पोख्छु । जो नजिक छ उसैसँग त पर्ने रहेछ ठाकठुक र लाग्दो रहेछ माया । एक खालको प्रेम भनौं न ! नभए निर्जीवसँग यसरी सम्बन्ध पनि त रहने थिएन नि ।
प्रिय बुबाआमा,
एक्लो सन्तान । घरमै नभए स्वदेशकै कुनै ठाउँमा बसेर छोराले केही गरोस् भन्ने आशा तपाईँको थियो नै । तर, जिन्दगीका केही सीमित चाहना पूरा गर्नको लागि यहाँसम्म आएँ । असीमित चाहना मनमै बाँधिएका छन् ।
यसपाली पनि घर नफर्किदाँ परदेशी छोराले बिर्सियो भन्ने लाग्यो होला । दसैं नजिकिदाँ बुबा आमाको अनुहारमा नरमाइलाका उदास रेखा दौडिँदा हुन् । प्रियतमाको प्रेमिल चम्किलो मुहार मेरो प्रतीक्षामा अनवरत बेचैन छ होला । सोच्छु, मेरो अभावमा निलो आकाश हेरेर आँखा कति भिज्दा हुन् ?
बाल्यकालमा स्कुल पढ्दा बुबाआमा तपाईँले कठिन ज्यामी काम गरेर मलाई पढाउनु भयो । बिर्सेको छैन, मलाईमात्रै खुवाएर तपाईँहरू भोकै सुतेको । अनि अझै झस्काउँछ चारैतिर च्यातिएर टालेका कपडा लगाएर तपाईँहरू काममा हिँडेको । मलाई पोल्छ, गरिबीको चित्र बोकेर हिँड्नुभएका तपाईँहरूलाई खिसिट्युरी गर्दै कानेखुसी गर्ने ती निष्ठुर मान्छेका चित्रले ।
गरिब परिवारमा जन्मेपछि परदेशबाहेक अर्को विकल्प के नै रह्यो र ? खर्चमा मितव्ययी सदा हामीलाई बनिरहनु नै प¥यो । जीवनको ३१ आंै बसन्तमा हिँडिरहँदा थोरै पैसा खर्च गर्न पनि दिमाग सयौंपटक सोचिरहन्छ ।
अग्ला हिमालमा सौम्य भएर बसेका हिउँका ढिक्का कति खुसी छन् है नेपालमा ! ती हिमाल आफ्नै हुनुको नाताले पनि अलिकति त हाम्रो ओठमा पनि हाँसो छचल्किनु पर्ने हो । तर, अहँ हाम्रो हाँसोको बान्की हराएको छ ।
आमाको लामो कपाल पनि काँसजस्तै फुलिसक्यो होला । बुबाको अनुहार पनि चाउरिन थाल्यो कि ! बुबालाई घर व्यवहार चलाउन गाह्रो पर्यो होला । कतै भनेजस्तो छोराले पैसा पठाएन भनेर तपाईँको मनले थकथकी त मान्दै छैन !
यहाँ सोचेजस्तो कमाइ छैन । छिमेकीहरूले कमाएको देख्दा घरमा तपाईँहरूलाई लाग्ला छोराले सोचेजस्तो पैसा कमाएन भनेर तर यहाँ काम अनुसारको तलब छैन । सबैको कमाइ एकनासै यहाँ पनि कहाँ हँुदोरहेछ र ! तर, हिम्मत हारेको छैन । एकदिन कसरी हाम्रा खुसीका दिन नफर्किएलान् र !
बुबा दसैं मनाउन भनेर सदरमुकाम सन्धिखर्कमा आइएमई मार्फत पैसा पठाएको छु । मैले पठाएको पैसाले तपाईँलाई कपडा किन्न नपुगे पनि आमा र बुहारीलाई भने किनिदिनुहोला । उधारो भए पनि दसैंमा मिठो मसिनो ल्याउनुहोला । मोबाइल किनेर पठाउन्छु भनेको थिएँ तर यसपटक सकिन । सकेँ भने तिहारसम्म पठाउनेछु । अनि फोनमा धित मरुन्जेल कुरा गरौँला ।
दसैंमा धेरैजसो घर फर्किँदा अरूबेला शुन्य लाग्ने गाउँघर पनि भरिए होलान् । फेसबुकमा सेयर भएका फोटाहरूले यही बुझिरहेको छु मैले । स्वदेशमा यति ठूलो पर्वले खुसी दिइरहँदा परदेशमा बसेर सम्झनामा उदास बन्नुपरेको छ । यसपाला दसैं मान्न गाउँमा को को आए सम्भव भयो भने बुहारीलाई चिठी कोर्न लगाउनुहोला ।
यहाँको हावापानी खै के हावापानी ! नेपालको त्यो स्वच्छ चिसो देउराली डाडाँको हावा सोच्दा पनि शरीर शितल हुन्छ । मस्तिष्कका कुना कुनामा त्यो प्रकृतिको हरियाली छटाले मेरो मातृभूमिको यादले रुवाउँछ ।
हरियो वनपाखा, लहरै झुल्न तर्खर गरेका धानका बाला, पहेँलै ढममक्क फूलेर सुगन्ध छरिरहेका तोरीबारी । सोच्दा पनि यहाँ मन उजाडिन्छ । भौतिक शरीर यो मरुभूमिमा रहे पनि मन भने गाउँमै रहन्छ । आखिर कल्पनामा डुब्दा पनि अपार आनन्द मिल्छ । यो परदेशी जीवन विचित्रको छ । गाउँका सबै एकैपटक भेट्ने सौभाग्य कहिले जुर्ला र !
यो चिठी तपाइहरुको हातमा पुग्दा जमरा पनि शिरमा सिउरने बेला भइसक्यो होला । घरमा सानो हुदाँ आमा तपाईँले जमरा छर्दा म कत्ति खुसी हुन्थे है !
हिजोमात्रै एउटा दैनिक अखबार पढ्दै थिए । ‘एकै गाँउका ५०० भन्दा बढी युवा रोजगारीका लागि कतारमा’ शीर्षकमा । यो समाचार पढेपछि मन कुँडियो । आफ्नै गाँउको यो आफ्नै समाचार थियो । नजिकिँदा ठूला पर्वमा गाउँका अधिकांश युवा यतै हुदाँ धेरैका परिवारमा खुसीको आयतन पक्कै बढेको छैन होला तर बाध्यताको उपज आज हामी स्वदेशमा रहन सकेनौ । दसैंको छेकोमा आएको यो समाचारले यहाँको तापलाई उछिनेर उकालो ग्राफ चढ्यो । र, मनको गर्मी त्यसैगरी उम्लियो ।
मनका कुराहरु लेखेर त कहिल्यै सकिदैन । लेखँु भने पनि शब्द नपुग्लान जस्तो ! खुसी खोज्न र दिने भिडमा हिँडिरहे पनि अझै भेटिन । हेरौँ, यो यात्राबाट भेटिन्छ÷भेटिन्न ।
सायद मैले गल्ती गरे । परिवारलाई यी सारा दुःखका कुरा गरेर । अरू कसलाई सुनाऊँ ? परिवार नै त हो हरेक घुम्तीमा सँगै रहने । बुबा, आमा र पत्नीलाई यो चिठीले स्तब्ध बनायो होला । पढ्ने पाठकलाई पनि त्यसैगरी ।
तीन वर्षको बसाइ सकिन अझै ३ महिना बाँकी छन् । म घर फर्कँदा चाडपर्व सबै बिदा भइसकेका हुनेछन् । विदेशको कर्मभूमी आफुले भनेजस्तो त कहाँ हुन्छ र ! कति चाडपर्वमा घरमा सँगै हुन नपाइने हो यही पिरलोले मनलाई सधैँ घोचिरहेको हुन्छ ।
मनका कुरा पोख्दै जाँदा चिठी पनि लामो बनिसकेछ । बिहान सबेरै उठेर डिउटी जानु छ । अब कलमलाई यहीँ रोक्छु है ।
रातो टीका र जमराले निधार रंगाउनुहोला । ज्यान सकुशल रहे भेटौँला ।