विराटनगर । पूर्वाञ्चलको विभिन्न शहरमा आयोजना हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज बिराटनगरमा हुदै छ । र, सातौं राष्ट्रिय खेलकुदको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ ।
बिराटनगरस्थित सहिद रंगशालामा राष्ट्रपति विद्या भण्डारीले औपचारिक उद्घाटन गर्ने राष्ट्रिय खेलकुदमा आज पनि विभिन्न खेलहरु संचालन हुँदैछ । आगामी पुस १५ गतेसम्म चल्ने राष्ट्रिय खेलकुद अन्तर्गत आज फुटबल, क्रिकेट र खोखो खेलहरु हुँदैछ ।
फुटबल
सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत आज फुटबल खेलको स्पर्धा हुँदैछ । फुटबल अन्तर्गत पुरुष फुटबल धरानमा हुदै छ भने महिला फुटबल दुहवीमा हुनेछ ।
बिहिबारबाट सुरु भएको पुरुष फुटबल अन्तर्गत आज दुई खेल हुँदैछ । सुनसरीको धरानस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा समुह ख का खेलहरु हुनेछन् ।
समुह ख अन्तर्गत बिहान ८ बजे हुने पहिलो खेलमा विभागीय टोलि सशत्र प्रहरीको एपीएफ क्लब र मध्य पश्चिम विकास क्षेत्रको टोलि भिड्दैछन् । त्यस्तै १० बजे सुरु हुने दोस्रो खेलमा सुदूरपश्चिममान्चल फुटबल टिम र विभागीय टोलि नेपाल आर्मी भिड्दैछन् ।
यसअघि बिहीबार भएको खेलमा नेपाल पुलिस क्लब र मध्यमाञ्चलले विजयी सुरुआत गरिसकेको छ । जितसंगै पुलिस र मध्यमाञ्चलले ३ अंक बटुलेका छन् ।
त्यस्तै सुनसरीको दुहवीमा हुने महिला फुटबलमा सेमीफाइनलको खेलहरु हुँदैछ । आज हुने पहिलो सेमिफाइनलमा समूह ‘क’ बाट बिजेता बनेको नेपाल प्रहरी र समूह ‘ख’ बाट उपविजेता बनेको मध्यमाञ्चल खेल्दै छ । त्यस्तै समुह क को उपविजेता एपीएफले समूह ‘ख’ को बिजेता नेपाल आर्मीसंग खेल्ने छ । पहिलो सेमिफाइनल खेल बिहान ८ बजे र दोस्रो सेमिफाइनल बिहान १० बजे सुरु हुने छ ।
क्रिकेट
सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेटको पुरुष र महिला दुवैको खेल आजबाट सुरु हुँदैछ । टि – ट्वान्टी फर्म्याटको क्रिकेट अन्तर्गत पुरुष क्रिकेट मोरंगको बैजनाथपुर खेल मैदानमा हुने छ भने महिला क्रिकेट सुनसरीको इटहरीस्थित जनता क्याम्पसको खेल मैदानमा हुने हुनेछ ।
क्रिकेट अन्तर्गत आज बिहान ९ बजे सुरु पुरुषतर्फको पहिलो खेलमा विभागीय टोली एपीएफ र मध्यमाञ्चल विकास क्षेत्रबीच हुने छ । त्यस्तै दिउसो १ बजे सुरु हुने पुरुष क्रिकेटमा पूर्वान्चल विकास क्षेत्र र पश्चिमाञ्चल विकास क्षेत्रबीच प्रतिस्पर्धा हुने छ ।
यस्तै महिलातर्फको पहिलो खेलमा एपीएफ र मध्यपश्चिम प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा मध्यमाञ्चल र पश्चिमाञ्चल खेल्ने छन् । पहिलो खेल बिहान ९ बजे सुरु हुने छ भने दोस्रो खेल दिउसो १ बजे सुरु हुने छ ।
खो खो
सातौ राष्ट्रिय खेलकुद अन्तर्गत खो खो खेलको पुरुष र महिला स्पर्धाका खेलहरु आज सुरु हुँदैछ । सुनसरीको इनरुवामा हुने खेलमा महिला र पुरुष दुबैको विभिन्न खेलहरु हुनेछ ।
सातौमा खोखो खेलमा सुदूर पश्चिमाञ्चल, पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्य पश्चिमाञ्चल र नेपाली सेनाको गरि ६ टोलि सहभागी छन् ।