काठमाडौँ । नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ एन्फाको लापरवाहीको कारण नेपाली राष्ट्रिय लिग बिजेता रुस्लान थ्री स्टार क्लबले मलेसियामा हुने एएफसी कप २०१६ को छनोट प्ले अफ खेल्नबाट वन्चित भयो ।
एसियाली फुटबल महासंघ एएफसीले नेपालबाट क्लबको नाम सिफारिस गर्न गरेको पटक पटकको आग्रहलाई एन्फाले गैरजिम्मेवार ढंगबाट लत्याउँदा ललितपुरको क्लब एसियाको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता एएफसी कप २०१६ को छनोट प्ले अफ खेल्नबाट वञ्चित भयो ।
नेपाली लिग च्याम्पियन थ्री–स्टार गत अगस्टमा मंगोलियामा भएको प्ले अफ छनोट खेलमा समूह विजेता बन्दै अर्काे चरणमा प्रवेश गरेको थियो । एएफसीले एन्फालाई पहिलो पटक नोभेम्बर १४ भित्र क्लब दर्ता गर्न, दोस्रोपटक नोभेम्बर २३ र तेस्रो पटक एन्फाको महासचिव धिरेन्द्र प्रधानलाई सम्बोधन गर्दै नोभेम्बर २६ सम्म दर्ता गर्न समय दिएको थियो ।
तर, त्यसबीचमा एन्फाले एएफसीलाई दर्ताका लागि केही जवाफ दिएन र गत बुधबार एएफसीले विज्ञप्ति जारी गर्दै नेपाली राष्ट्रिय लिग च्याम्पियन थ्री स्टारले निर्धारित समय सीमामा क्लब एएफसीमा दर्ता नगरेको भन्दै प्रतियोगिताबाट अलग राख्दै नयाँ टाइसिट निकालेको थियो । र, नेपाली राष्ट्रिय लिग च्याम्पियन थ्री–स्टार क्लबले एसियन फुटबल महासंघ (एएफसी)ले आयोजना गर्ने एएफसी कप–२०१७ को प्लेअफ र समूह चरणमा खेल्ने मौका गुमाउन पुग्यो । त्यसपछि एएफसीले नेपालको थ्री स्टारको स्थानमा उपविजेता बनेको मंगोलियाको इर्चिम एफसीलाई समावेश गर्यो ।
मंगलबार अपरान्ह मलेसियाको क्वालालाम्पुरमा एएफसी क्लव च्याम्पियनसिपको ड्र सार्वजनिक भईरहँदा रुस्लान थ्री स्टार क्लबले भने एन्फाविरुद्ध ६ करोड क्षतिपूर्तिको माग गर्दै पत्रकार सम्मेलन गरिरहेको थियो । र, पत्रकार सम्मेलनमा उपस्थित फुटबल सरोकारवालाहरुले एन्फाको लापरबाहीको चर्को बिरोध जनाए ।
पत्रकार सम्मेलनमा क्लबका पदाधिकारीहरुका साथै बिभिन्न ए बि र सी डिभिजन क्लबका पदाधिकारी तथा प्रशिक्षक लगायतले एन्फाविरुद्ध आक्रोश पोखेका थिए । जसमा अधिकांशले एन्फाको कार्यले नेपाली फुटबलको सबैभन्दा ठुलो दुखद घटना भएको बताए ।
थ्री स्टारले आयोजना गरेको पत्रकार सम्मेलनमा कसले के भने ?
सन्जिब शिल्पकार (थ्री स्टारक्लब महासचिव)
यो नेपाली फुटबलको दुर्भाग्य रहेको घटना हो । यो एन्फाको अकल्पनीय, गैर जिम्मेवारीपन छ । हामी हाम्रो क्लबको यो घटनाले निकै मर्माहित छौं । क्लबका लागि यो पछिल्लो वर्ष निकै दुखद समय रह्यो । त्यहि घटनामा यो पनि एक हो । यो पिडामा हामी फुटबल खेल्न सक्ने स्थितिमा छैनौँ । क्लबले गरेको करोडौँ लगानी बिलिन भएको छ ।
यसबिषयमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय,राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटिको ध्यानाकर्षण गर्न चाहन्छु । हामीले यो समाचार मिडियाबाट जानकारी पाउँदा अचम्मित भयौँ । किनकि हामीले पटक पटक एन्फालाई एएफसी कपको बारे जानकारी माग्ने गथ्र्यौं । उहाँहरु एएफसीले जानकारी दिएपछि खबर गर्छौँ भन्नुहुन्थ्यो । तर, एक्कासी दुखद समाचार सुनियो । त्यसलगत्तै हामीले एएफसी, फिफा सबैसँग सम्पर्क गरिसकेका छौ ।
यस बिषयमा एन्फाले आफ्नो गम्भीर त्रुटी रहेको स्वीकार्यो । छानबिन समिति बनाउने बतायो । तर, एन्फाले गर्ने यो खाले लापरबाहीले नेपाली फुटबल धरासायी बन्ने छ । हामीले माग गरेको क्षतिपूर्ति पाएनौँ भने हामी फुटबल गतिबिधिमा संग्लग्न हुने छैनौँ । र, चाँडै हामीले क्षतिपूर्तिबारे एन्फालाई अल्टिमेटम दिनेछौ । यो अन्जानमा घटेको छैन । किनकि एउटै पत्रमा आएको दुई कार्यमध्ये एक कार्य एन्फाले गरिसकेको छ ।
यसले नेपाली फुटबललाई दुखित बनाएको छ । त्यसैले अब हामीले फुटबल क्लब एसोसियसनबाट क्लब फुटबलको हितमा जानु जरुरी छ । अब एन्फाबिरुद्ध क्लबहरु एकजुट हुनुपर्छ ।
मेघराज केसी (थ्री स्टार, मुख्य प्रशिक्षक )
यो बिषयमा बोल्ने शब्द नै छैन मसँग, अब बाँकी के नै पो रह्यो र ? हामीले गुमाउनु गुमाइसकेपछि । एन्फाको यो लापरबाहीले नेपाली फुटबलमा दुखद समय आएको छ । यो प्रतियोगिता थ्री स्टार जस्तो एतिहासिक क्लबले गुमाएसँगै अब नेपाली फुटबल एसियन स्तरमा हैन घरेलु स्तरमा खुम्चिनुपरेको छ ।
एन्फाले यो मात्र गल्ती गरेको छैन । उसले विगत २० वर्षदेखि यस्तो गल्तिहरु गर्दै आएको छ । यो घटनाले एन्फा नेपालको कानुनभन्दा माथि देखिएको छ । के एन्फा नेपालको कानुन भन्दा माथि हो ? यस्तो घात गर्ने एन्फालाई कुनै कारबाही किन हुन्न ?
अब यस्तो घात गर्नेलाई दण्डित गर्नुपर्छ । हामीले यो समय पनि दण्डित गरेनौ भने हामीले अझै २० औँ वर्ष यस्तो नियत भोग्नुपर्छ । नेपाली फुटबल २० बर्ष पछि धकेलिन्छ । त्यसैले अब हाम्रो क्लबहरु मिलेर अघि बढ्नुपर्छ ।
ठुलोभाई जोशी (जावलाखेल क्लबका अध्यक्ष तथा ए बि र सी क्लबका प्रतिनिधि)
नेपाली फुटबलमा दुखद र दुर्भाग्यपूर्ण घटना सुनियो । एन्फाको लापरबाहीले गर्दा यो घटना भएको भन्दा झनै दुख लाग्यो ।
नेपाली फुटबल क्लबहरुले धानेको छ । तर एन्फाले किन एस्तो लापरबाही गर्छ ? अब यो घटनाको छानबिन सरकारले गर्नु पर्छ उसलाई दण्डित गर्नुपर्छ । थ्री स्टारले न्याय पाउनु पर्छ ।
बालगोपाल महर्जन (क्लबका पूर्व प्रशिक्षक)
यो घटना थ्री स्टारलाई मात्र हैन । नेपाली फुटबलकै दुर्भाग्य हो । दुख लागेको छ यो घटना सुन्दा । यो घटनाले खेलाडीको मनोबल गिरेको छ ।
आगामी दिनमा यस्तो घटना नहोस । सरकारले कदम चाल्नु पर्छ । दोषीलाई कारबाही गर्नु पर्छ । छानबिन हुनु पर्छ । किनकि यसखाले कार्यक्रममा एएफसीले सिधै एन्फालाई जानकारी गराउछ । एकै इमेलबाट आएको दुई सुचनामध्ये एन्फाले अर्को सूचनाको कार्यक्रम गरिसकेको छ । त्यसैले यहाँ निकै रहस्यमय छ ।
अब नेपाली फुटबलको विकास गर्न पुरस्कारसंगै दण्डको पनि सजाय हुनु जरुरी छ । यस घटनाको पिडितले क्षतिपूर्ति पाउनु पर्छ भन्ने मलाई लागेको छ ।
कृष्ण कार्की (थ्री स्टार अफिसियल फ्यान क्लब वि आर स्टारका अध्यक्ष)
एन्फाले थ्री स्टारलाइ एएफसी कप खेल्नबाट बन्चित गराउनु फुटबलको दुखद दिन हो । मलाई लाग्छ एन्फाले जानीजानी यो घटना घटाएको हो । यो घटनाबाट हामी जस्तो फुटबल प्रेमीहरुमा निराशा छाएको छ । एन्फाले थ्री स्टारको करोडौ लगानी शुन्य बनाईदियो । यस घटना राष्ट्रघाती काम हो । एन्फाका नेतृत्वले राजिनामा दिनुपर्छ । यो टेक्नोलोजीको समयमा एउटा इमेल चेक गर्न नसक्नेले एन्फाको नेतृत्व हाक्न कदापी सक्दैन ।
क्लबले क्षतिपूर्ति नपाए हामी एन्फा घेर्नेछौ । कानुनी बाटो अपनाउने छौ । हामी त्यसको लागि तयार छौँ ।