काठमाडौं । केही वर्षयता नेपालमा राम्रा चलचित्र पनि बने । कतिपयले नयाँ ‘ट्रेन्ड’ नै स्थापित गरे । व्यापारका हिसाबले पनि नेपाली चलचित्रमा निकै सुधार आयो । ‘छक्का पञ्जा’ले अहिलेसम्मका सबै रेकर्ड नै तोड्यो ।
नेपाली चलचित्रको यो उत्साहजनक परिदृष्यसँगै अर्को पाटो पनि छ । नेपालमा बन्ने केही चलचित्रमात्रै दर्शकले रुचाउँछन् र उत्साहजनक व्यापार गर्छन् । अधिकांश चलचित्र त ‘फ्लप’ नै हुन्छन् ।
यसलाई चलचित्र विकास बोर्डको तथ्यांकले पनि पुष्टि गर्छ । बोर्डका अनुसार ०७१ सालमा ८१ वटा चलचित्र रिलिज भए । यीमध्ये ८ वटामात्र व्यावसायिक रूपमा सफल भए । बाँकी ७३ वटा चलचित्र त घाटामा गए । त्यस्तै, ०७० सालमा रिलिज भएका ९७ चलचित्रमध्ये ६ वटामात्र सफल भए ।
नेपालमा अपेक्षाअनुसार किन राम्रा चलचित्र बनिरहेका छैनन् त ? किन औंलामा गन्न सकिने चलचित्रमात्रै सफल हुन्छन् ? यसमा कसैले बजेट अभावलाई कारक ठान्छन् त कसैले कमजोर स्क्रिप्टलाई अनि कसैले चाहिँ प्रविधिलाई ।
।
“चलचित्र भनेको टिम वर्क हो । यो एक्लैले गर्ने काम हैन,” निर्देशक निश्चल बस्नेत भन्छन्, “हामीलाई स्क्रिप्ट ५० हजारमै चाहिन्छ, एक लाखमै चाहिन्छ, १० लाख रुपैयाँ लगानी गर्न किन सक्तैनौं ?” स्क्रिप्ट नराम्रो भएपछि मात्रै भिजुअल र सेट राम्रो बनाउनतर्फ ध्यान दिने गरेको बस्नेतको भनाइ छ । “यहाँ भिजुअलमा एक करोड खर्च गर्न मान्छे तयार छ, तर त्यही व्यक्तिलाई स्क्रिप्ट ५० हजारमा चाहिन्छ,” निर्देशक बस्नेतले भने, “स्क्रिप्टमा लगानी गरेपछि मात्रै भिजुअलले पूर्ण रूप पाउँछ भन्ने कुरा पहिले बुझ्नुपर्छ ।”
अर्का चलचित्र निर्देशक दिपेन्द्र के खनाल भने फरक विचार राख्छन् । खनालको विचारमा सीमित स्रोतसाधनमा बनाउनुपरेका कारण सोचेजस्तो चलचित्र बन्न नसकेको हो ।
“हामीसँग विषयवस्तुको भेराइटी छ, धेरै ऐतिहासिक विषय छन्, तर त्यतातर्फ हामी प्रवेश गर्न सकेकै छैनौं,” निर्देशक खनाल भन्छन्, “यसका लागि रिसर्च गर्नुपर्छ । रिसर्चका लागि समय, जनशक्ति र बजेट चाहिन्छ । तर, हामीसँग बजेट नै छैन ।”
पर्याप्त बजेट भए अन्तर्राष्ट्रिय चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्ने नेपाली चलचित्र बन्ने उनको तर्क छ । “मसँग कति धेरै कथा छन्, दिमागमा यसो गर्न पाए हुन्थ्यो भन्ने आउँछ तर सेटमा जान पैसा चाहिन्छ,” निर्देशक खनाल अगाडि भन्छन्, “हामी हिमाली भेग तथा दुर्गम क्षेत्रमा जानै सक्दैनौं । पाँच करोड रुपैयाँ दिएर चलचित्र बनाऊ भन्ने हो भने हामी हलिउड, बलिउडसँग प्रतिस्पर्धा गर्न सक्ने चलचित्र बनाउन सक्छौं ।”
पुराना तथा अनुभवी निर्देशक तुलसी घिमिरे भने कसैलाई दोष लगाउँदैनन् । उनी अपेक्षा गरेअनुसार नेपाली चलचित्र बन्न नसक्नुमा निर्देशकीय क्षमता नै मुख्य कारक रहेको बताउँछन् ।
“नेपाली चलचित्र राम्रो नहुनुको मुख्य कारण ‘मुर्गा प्रवृत्ति’ नै हो,” निर्देशक घिमिरे भन्छन्, “दुई–चार जनालाई ‘मुर्गा’ बनाएर चलचित्र बनाउनु नै असफलताको मुख्य कारक हो ।” पछिल्लो समय चलचित्रमा लगानी गर्नेको संख्या बढ्दै गएको भन्दै उनले अब नेपाली चलचित्र उद्योगमा प्राविधिक रूपमा दक्ष निर्देशकको खाँचो रहेको औंल्याए । “राम्रो कथा, स्क्रिनप्ले, राम्रो डाइलग, म्युजिक र स्टोरीअनुसारको कलाकार चयन गर्न क्षमता निर्देशकमा हुनुपर्छ,” घिमिरे भन्छन् ।