खेल
काठमाडौँ । विश्व खेलकुदको महाकुम्भ मानिने ३१ औं ग्रीष्मकालीन ओलम्पिक आगामी अगस्टबाट ब्राजिलको राजधानी रियो दि जेनेरियोमा हुँदैछ । अगस्ट ५ मा सुरु भई २१ मा समापन हुने ओलम्पिक खेलकुदमा सहभागी हुने राष्ट्र तथा खेलाडीहरूको नामावली दर्ता जुलाई १७ मा सकिँदैछ ।
ओलम्पिकमा नेपालले यसपटक पनि सहभागिता जनाउँदैछ । नेपालबाट ५ खेलमा ७ जना खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठका अनुसार नेपालले एथलेटिक्स, जुडो, तेक्वान्दो, पौडी र आर्चरी खेलमा सहभागिता जनाउँदैछ ।
“आईओसीको खेलाडी दर्ता प्रक्रिया आजबाट सकिँदैछ । नेपालबाट यसपटक आईओसीको कोटा पद्दतिमा पर्ने खेल र खेलाडीहरूले सभागिता जनाउँदैछन्,” बाह्रखरीसँग सचिव श्रेष्ठले भने, “नेपालबाट ७ खेलाडीले भाग लिँदैछन् । अब यो संग्ख्या बढ्ने सम्भावना कम छ ।”
नेपालले सन् १९६४ को टोकियो ओलम्पिकदेखि ओलम्पिक खेलकुदमा लगातार सहभागिता जनाउँदै आएको छ । तर, नेपालको सहभागिता ‘वाइल्ड कार्ड’ र ‘युनिभर्सालिटी प्लेसेस’ ९यूपीस० कोटामा सीमित हुँदै आएको छ । तेक्वान्दोका संगीना वैद्य ९एथेन्स २००४० र दीपक विष्ट ९बेइजिङ २००८० मात्र छनोट पार गरेर ओलम्पिक खेलेबाहेक अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले छनोट पार गरेका छैनन् ।
“यसपटक छनोटमा परेका खेलाडीहरू असफल भएपछि आईओसीको कोटाबाट खेलाडीहरू ओलम्पिकमा सहभगिता जनाउँदैछन् । त्यसमध्ये तीन खेलले ‘वाइल्ड कार्ड’ र दुई खेलले ‘युनिभर्सालिटी प्लेसेस’ पाएका छन्,” श्रेष्ठले भने । श्रेष्ठका अनुसार नेपालले यसपटक तीन खेलका खेलाडीले वाइल्ड कार्ड पाएका छन् भने दुई खेलका ४ खेलाडीले यूपीएस प्राप्त गरेका छन् ।
नेपाली खेलाडीले यसपटक जुडो, तेक्वान्दो र आर्चरीमा वाइल्ड कार्ड प्राप्त गरेर सहभागिता जनाउन लागेका हुन् भने पौडी र एथलेटिक्समा यूपीएसबाट प्रतिनिधित्व गर्दैछन् । अघिल्लो संस्करणको सहभागितामा ८ भन्दा कम खेलाडी सहभागी राष्ट्रलाई आईओसीले वाइल्ड कार्ड उपलब्ध गराउने गर्छ । त्यस्तै, आईओसीमा आबद्ध २ सय ८ वटै देशको सहभागिता रहोस् भन्ने उदेश्येले ती देशका दुई खेलका चार खेलाडीलाई युनिभर्सालिटी प्लेसेस प्रदान गर्ने गर्छ ।
नेपालबाट तेक्वान्दोकी निशा रावल, जुडोका फुपुल्हामु खत्री र आर्चरीका जितबहादुर मोक्तानले वाइल्ड कार्ड प्राप्त गर्दै रियो ओलम्पिक खेल्दैछन् । तेक्वान्दोकी निशाले ६४ किलोभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् भने जुडोकी फुपूले ६३ किलो तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । त्यस्तै, आर्चरीका जितबहादुरले रिकर्भ विधामा प्रतिस्पर्धा गर्नेछन् ।
निशा र फुपू अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको छात्रवृति पाउने नेपाली हुन् । तर, दुवै छनोटमा असफल भएपछि वाइल्ड कार्डबाट नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् । फिलिपिन्सको राजधानी मनिलामा निशाले रियो ओलम्पिक छनोट खेल खेले पनि सफल नभएपछि वाइल्ड कार्डबाट नेपालको प्रतिनिधि गर्न लागेकी हुन् । त्यस्तै, १२ औं दक्षिण एसियाली खेलकुद ९साग० मा स्वर्ण जितेकी फुपूल्हामुले उज्वेकिस्तानमा ओलम्पिक छनोटको रूपमा पनि रहेको एसियन च्याम्पियनसिप खेलेकी थिइन् । निशाले नेपालमै बसेर ओलम्पिकका लागि तयारी गरेकी थिइन् भने फुपूले हंगेरीमा ओलम्पिक तयारी गरेकी छिन् ।
यसपटक यूपीएस पाएर पौडीबाट शिरिष गुरुङ र गौरीका सिंहले नेपालको प्रतिनिधित्व गर्दा एथलेटिक्सबाट हरिकुमार रिमाल र सरस्वती भट्टराईले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टोली अगस्ट पहिलो हप्ता रियो दि जेनेरियोतर्फ प्रस्थान गर्नेछ । टोलीको नेतृत्व राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले गर्नेछन् ।
प्रकाशित मिति: आइतबार, साउन २, २०७३ १५:५२
प्रतिक्रिया दिनुहोस्