खेल
काठमाडौँ । विश्वकप छनोटमा अर्जेन्टिनाले कोलम्बियालाई पराजित गरेको छ । रुसमा हुने सन् २०१८ को विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई ३ – ० ले पराजित गरेको हो ।
विश्वकप छनोटमा खराब प्रदर्शनबाट गुज्रिरहेको अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी, लुकास प्राटो र डि मारियाले समान एक एक गोल गरे । खेलको १० औं मिनेटमा कप्तान मेस्सीले फ्रिकिकबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले खेलको २३ औं मिनेटमा प्राटोको हेड गोलमार्फत अग्रता दोब्बर पारे ।
पहिलो हाफ २ – ० ले अघि रहेको अर्जेन्टिनाले दोस्रो हाफमा थप एक गोल गर्यो । खेलको ८४ औ मिनेटमा डी मारियाले एक गोल गर्दै अर्जेन्टिनालाई सहज जित दिलाए । जितसंगै अर्जेन्टिनाले विश्वकपमा छनोट हुने सम्भावना कायम राखेको छ ।
कोलम्बियामाथिको जितसंगै दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले १२ खेलबाट १९ अंक जोडेको छ । र, छनोटको पाचौ स्थानमा छ । पराजित कोलम्बिया १८ अंक जोडेर छैटौ स्थानमा छ ।
विश्वकप छनोटको दक्षिण अमेरिकी छनोट अन्तर्गत नै बुधबार बिहान भएको अर्को खेलमा चिलीले उरुग्वेलाई ३ – १ ले पराजित गरेको छ । चिलीको जितमा एलेक्सेस सान्सेजले दुई तथा एडु भार्गसले एक गोल गरे ।उरुग्वेका एडीनसन काभानीले एक गोल फर्काए ।
दक्षिण अमेरिकी छनोटमा चिली २० अंक जोडेर छनोटको चौथो स्थानमा छ भने पराजित उरुग्वे २३ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । र, दुवै देशको दक्षिण अमेरिकी राष्ट्रबाट विश्वकपमा छनोट हुने सम्भावना कायम रहेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७३ १२:२७
प्रतिक्रिया दिनुहोस्