अर्थ व्यवसाय
काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा नाफा बढाएर १ अर्ब रुपैयाँ पुर्याएको छ ।
चालु आवको पहिलो त्रैमाशमा बैंकले १ अर्ब १६ करोड ६० लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ४४ करोड ४३ लाख रुपैयाँ नाफा गरेको थियो । गत आवमा बैंकले ३ अर्ब १ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले मंगलबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाशको वित्तीय विवरणले नाफा बढेको देखाएको छ ।
चालु आवको असोजसम्ममा बैंकको निक्षेप परिचालनमा साढे ३ अर्ब घटेको छ । गत असोजसम्म बैंकले ८६ अर्ब २२ करोड ३७ लाख रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आव असारसम्म बैंकको निक्षेप परिचालन ८९ अर्ब ४१ करोड रुपैयाँ थियो ।
यस्तै कर्जा लगानीतर्फ चालु आवको असोजसम्म ६६ अर्ब ३ करोड रुपैयाँ भएको छ । गत असारसम्म बैंकले ६३ अर्ब ५२ करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । निक्षेप घटे पनि बैंकको कर्जा लगानी बढेको वित्तीय विवरणले देखाएको छ । हालसम्म बैंकको चुक्ता पुँजी ६ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ छ । आउँदो असारसम्म बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउनुपर्ने छ । बैंकले २३.७ प्रतिशत हकप्रद सेयर निश्कासन गरेर चुक्तापुँजी ८ अर्ब पुर्याउने योजना सार्वजनिक गरेको छ ।
बैंको खराब कर्जा अनुपात असारको तुलनामा बढेको छ । असोजसम्म खराब कर्जा अनुपात बढेर ३.१ प्रतिशत छ । यस्तै गत असारसम्म यस्तो कर्जा २.७ प्रतिशत मात्र थियो । बैंकको प्रतिसेयर आम्दानी ७२ रुपैयाँ छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३ १०:२५
प्रतिक्रिया दिनुहोस्