अर्थ व्यवसाय
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा कृषि विकास बैंकको नाफा बढेको छ ।
चालु आवको असोजसम्म बैंकले ४२ करोड २३ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले २८ करोड ८६ लाख रुपैयाँ नाफा गरेको थियो । गत आवको सोही अवधिको तुलनामा चालु आवको पहिलो त्रैमाशमा बैंकले १४ करोड रुपैयाँ नाफा बढाएको छ । गत आवमा बैंकले कुल २ अर्ब ५७ करोड ७२ लाख रुपैयाँ नाफा गरेको थियो ।
समीक्षा अवधिमा बैंकले ८५ अर्ब ६६ करोड रुपैंयाँ निक्षेप परिचालन गरेको छ । गत असारसम्म बैंकले ८७ अर्ब २६ करोड रुपैयाँ निक्षेप परिचालन गरेको थियो । चालु आवको पहिलो त्रैमाशमा बैकको निक्षेप साढे २ अर्ब रुपैयाँ घटेको बैंकले मंगलबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाशिक वित्तीय प्रतिवेदनमा उल्लेख गरेको छ ।
यस्तै बैंकको कर्जा सापटीमा वृद्धि भएको छ । असोजसम्म बैंकले ८१ अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत असारसम्म बैंकले ७९ अर्ब ७५ करोड रुपैयाँ लगानी गरेको थियो । बैंकको चुक्तापुँजी १० अर्ब ३७ करोड ४४ लाख रुपैयाँ छ । कृषि विकास सबैभन्दा बढी चुक्तापुँजी भएको बंैक हो ।
यस्तै बैंकको निष्क्रिय कर्जा अनुपातमा केही कमी आएकोछ । असोजसम्म बैंकको निष्क्रिय कर्जा अनुपात ३.८ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३ ०९:११
प्रतिक्रिया दिनुहोस्