साहित्य
सुर्खेतबाट दैलेखहुँदै जुम्ला पुग्ने कर्णाली राजमार्गमा सुर्खेतबाट करिब दुई घन्टाको मोटर बाटोमा पर्छ तल्लो ढुंगेश्वर । ढुंगेश्वर महादेवको मन्दिर भएको राजमार्गको सानो बजारमा बस्छन् नौ वर्षीय सुनिल वादी । वादी प्रायः बजार क्षेत्रमा नै आफ्ना साथीसंगीसँग खेल्न व्यस्त हुन्छन् । तर, कसैले गीत गाउन अनुरोध गरे तत्कालै गीत गाएर पनि सुनाउन उनी तयार भइहाल्छन् ।
यी बालकको स्वर सुन्ने सबै उनको गीतमा मुग्ध हुन्छन् र प्रतिभाको प्रशंसा गर्छन् । उनले घरमा रेडियोमा सुनेकामध्ये आफूलाई मनपर्ने केही गीत निकै मीठो स्वरमा गाएर सुनाउने गरेका छन् ।
सुनिललाई आफूले गाएको गीत कसले गाएको वा कुन चलचित्रको हो भन्ने पनि राम्रोसँग थाहा छैन । तर, उनलाई मन परेका गीतहरू जस्ताको तस्तै गाउने प्रयास गर्छन् । आफूलाई सुनिल भनेर चिनाउन चाहने उक्त बालक थर भन्न रुचाउँदैनन् । थर के हो भनेर सोध्दा चुप लागेर बस्ने सुनिलका एक साना साथीले बादी भनेर उत्तर दिए । अर्थात् बादी भन्ने जातिलाई समाजमा हेय भावले हेरिन्छ भन्ने पनि उनलाई परेको रहेछ । तर, प्रतिभालाइ कुनै जात, वर्ग, समूहजस्ता गलत सामाजिक विभेदले नरोक्ने उनका समवयी साथीले समेत बुझ्दै आएका छन् ।
उनले बाह्रखरी संवाददाता सामेल रहेको टोलीलाई दुईवटा गीत गाएर सुनाए । सो टोलीका हरेक सदस्यले उक्त बालकलाई उसका प्रतिभा निखार्ने मौका दिइयो भने निकै सशक्त र मिठासयुक्त गायक बन्ने संभावना देखिएको टिप्पणी गरे ।
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३ १०:१०
प्रतिक्रिया दिनुहोस्