site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ

ब्रसेल्स, बेल्जियम । युरोपेली संघ (ईयू)ले बुधबार सातवटा देशलाई ‘सुरक्षित मुलुक’को सूचीमा राख्दै आप्रवासनसम्बन्धी नियम कडा बनाउने घोषणा गरेको छ ।

युरोपेली आयोगले कोसोभो, बंगलादेश, कोलम्बिया, इजिप्ट, भारत, मोरोक्को र ट्युनिसियालाई सुरक्षित मुलुकको सूचीमा राख्ने प्रस्ताव अघि सारेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आयोगका आप्रवासन आयुक्त म्याग्नस ब्रुनरले भने, “धेरै राष्ट्रहरूमा शरणका लागि आएका निवेदनहरू थुप्रिएको अवस्थामा छ, त्यसैले निर्णय प्रक्रिया छिटो पार्न सकिने उपाय अत्यावश्यक भएको छ ।”

मानवअधिकारवादीहरूको विरोध
मानवअधिकार संस्था युरोमेड राइट्सले सूचीमा समेटिएका केही देशहरूमा आफ्ना नागरिक तथा आप्रवासीहरूका अधिकार सुरक्षित नभएको भन्दै विरोध जनाएको छ ।“यी देशहरूलाई सुरक्षित भन्ने कुरा भ्रामक र खतरनाक हो,” संस्थाले सामाजिक सञ्जालमार्फत जनाएको छ ।

युरोपको चासो र योजना
सन् २०२३ मा शरणका लागि युरोप छिर्नेहरूको संख्या दस वर्षयताकै उच्च विन्दुमा पुगेको थियो । यद्यपि, सन् २०२४ मा ३८ प्रतिशतले घटेर झन्डै दुई लाख ४० हजार पुगेको थियो । हाल युरोपेली संघले आदेश दिइएका मध्ये २० प्रतिशतभन्दा कम व्यक्तिलाई मात्र फिर्ता पठाउन सकेको तथ्यांक छ । पछिल्लो योजना अनुसार केही मुलुकहरूमा ‘फिर्ता केन्द्र’ बनाउने तयारी पनि भइरहेको छ ।

इटालीको प्रतिक्रिया
इटालीका गृहमन्त्री माटेओ पियान्टेडोसीले भने, “यो कदम हाम्रो सरकारको कूटनीतिक सफलताको प्रतीक हो ।” रासस/एएफपी

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  २३:११
प्रतिक्रिया दिनुहोस्