कञ्चनपुर । नेपाली कांग्रेस कञ्चनपुरले सरकारसँग कञ्चनपुर गोलीकाण्डका घाइतेहरुको उपचारमा ध्यान दिन आग्रह गरेको छ । स्थानीय प्रशासनमार्फत् बुधबार ज्ञापनपत्र बुझाउँदै कांग्रेस कञ्चनपुरले घाइतेहरुको उपचारमा ध्यान दिन आग्रह गरेको हो ।
सरकार पक्षबाट भएको दमनपछि जिल्लाको अशान्त वातावरण सहज बनाउन भदौ ९ गते बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले घाइतेहरुको उपचार सरकारले गर्ने सहमति भएपनि सरकारका तर्फबाट घाइतेहरुको उपचारका लागि कुनै पहल नभएको प्रति ज्ञापनपत्रमा आपत्ति जनाइएको छ ।
‘‘उपचारका लागि सम्बन्धित व्यक्तिले आफ्नै स्रोतबाट व्यवस्थापन गरिरहेको भन्ने बुझिन आएकोले यसबाट आर्थिक अभावका कारण घाइतेहरुको समयमा उपचार हुन नसकेर दिन प्रतिदिन स्वास्थय अवस्था झन विग्रने सम्भावना भएकाले घाइतेहरुको अविलम्ब एवम् सहज ढंगले उपचारको व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गर्दछौं,’’ जिल्ला सभापति हरिप्रसाद बोहराद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ ।
१३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै चर्किएको नागरिक आन्दोलनमा प्रहरीले व्यापक दमन गर्दा घाइते भएकाहरुको अहिले महेन्द्रनगर, धनगढी, कोहलपुर, काठमाडौं र भारतीय सहर बरेलीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । आन्दोलनमा प्रहरीले गोली चलाउँदा १४ वर्षिय सन्नी खुनाको मृत्यु भएको थियो भने कयौं युवाहरुलाई गोली लागेको थियो ।