काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले गत शनिबार प्रकाशित एसईई नतिजामा भएको त्रुटिको छानबिन गर्न माग गरेको छ । नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वमा गएको टोलीले शिक्षा मन्त्री गिरीराजमणी पोखरेललाई बुधबार ज्ञापन पत्र बुझाउँदै एसईईको नतिजा प्रकाशनमा भएको त्रुटीको छानविन गर्न माग गरेको हो ।
नेविसंघले त्रुटीको छानविन गर्दै दोषी परीक्षा बोर्डका पदाधिकारी र कार्यालयका कर्मचारीहरुलाई तत्काल निलम्बन गरेर कारवाहीको माग गरेको केन्द्रीय सदस्य सुशिल भट्टले जानकारी दिए । नेविसंघले शिक्षा मन्त्री पोखरेलसँग कक्षा १ देखि उच्च शिक्षासम्मका सम्पूर्ण पाठ्यक्रम निर्धारण गर्दा नीति, योजना र कार्यक्रम तर्जुमामा सरोकारवाला पक्षसँग व्यापक छलफल र पूर्ण तयारी गरी लागू गर्न पनि माग गरेको छ ।
ज्ञापन पत्रमार्फत नेविसंघले गणित विषयलाई अनिवार्यबाट हटाएर ऐच्छिक विषय बनाइएको प्रति पनि आपत्ति जनाएको छ । शिक्षा क्षेत्रमा भएका आमूल परिवर्तनका विषयलाई नजर अन्दाज गर्दै सरकारले मनोमानी लाद्न खोजे नेविसंघलाई मान्य नहुने ज्ञापन पत्रमा उल्लेख छ ।
यसअघि हिजो (मंगलबार) नेविसंघका अध्यक्ष नैनसिँह महरले विज्ञप्ती जारी गरेर एसईई परीक्षाको नतिजा प्रकाशनमा अनियमितता गरेको भन्दै शिक्षा मन्त्री पोखरेलको राजीनामा माग गरेका थिए । विज्ञप्तीमार्फत नेविसंघले नतिजा प्रकाशनमा भएको अनियमितताको छानविनका लागि स्वतन्त्र छानविन आयोग गठन गरेर एसईई बोर्ड अध्यक्ष लगायतका पदाधिकारीमाथि कारवाही गर्नुपर्ने पनि माग गरेको थियो ।