काठमाडौं । पाल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सदरमुकाम तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटनामा परेको बताइएको छ । स्थानीयका अनुसार दुर्घटनामा १५ जना घाइते भएका छन् ।
लु १ ख ९७५ नम्बरको यात्रुवाहक बस आज बिहान रम्भा गाउँपालिका–४ हुमिनमा सडकबाट खसेर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज पन्तका अनुसार दुर्घटनामा ९ पुरुष र ३ महिलाको मृत्यु भए पनि सनाखत हुन बाँकी छ । प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख घटनास्थलमा पुगिसकेको जिप्रका पाल्पाले जनाएको छ ।
घाइतेको उद्धार गरी अस्पताल लगिएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
यसैबीच दुर्घटनामा मृत्यु हुनेकाे सनाखत भएकाे राससले जनाएकाे छ । मृत्यु हुनेमा तानसेन नगरपालिका–४ का विष्णु बज्राचार्य र कृष्णबहादुर बोहोर, तानसेन– २ का लोकनाथ ढकाल, तानसेन– ३ का वसन्ती खाँड, देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य र सुुशीलप्रसाद श्रेष्ठ, तानसेन– ६ का दुर्गाबहादुर सारु र गीता बुढाथोकी तथा तानसेन बजारका सचिन बज्राचार्य र कमला कार्की रहेका छन् ।
रामपुरको अध्ययन अवलोकन भ्रमणमा निस्केको तानसेनको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको टोली चढेको लु२ख ९७५ नं को बस आज बिहान पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा दुर्घटनामा परेको हो ।