काठमाडौं । मलेसिया जाने कामदार ठगी गर्ने ४८ जनालाई प्रहरीले पक्राउ गरेको छ । कामदारसँग भीएलएन, बायोमेट्रिक स्वास्थ्य परीक्षण, माइग्राम्स, वन स्टप सेन्टर (पासपोर्ट संकलन गरी दूतावाससम्म लैजाने) लगायतका काममा कामदार ठगी गरेको पाइएपछि महानगरीय अपराध महाशाखाको टोलीले छापा मारेको थियो ।
अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिँहका अनुसार आइतबार बेलुकासम्म काठमाडौंबाट ४४ र ललितपुरबाट ४ जनालाई पक्राउ परेका छन् । त्यसमा धेरै मेडिकल सेन्टर सञ्चालक रहेका छन् ।
पक्राउ पर्नेमा भीएलएन र वानस्टप सेन्टरका नाममा ठगी गर्ने सञ्चालक राम श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीसँगै अन्य सञ्चालकहरु पनि पक्राउ परेका छन् । यी पाँचवटा संस्थाले एकजना कामदारसँग कम्तिमा पनि १७ हजार ठगी गरेको पाइएको छ ।
“पक्राउ परेका सबैलाई ठगी मुद्दा अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइनेछ,” सिंहले बाह्रखरीसँग कुरा गर्दै भने ।
भिसा प्रक्रियामा सरकारको अनुमतिबिना नै संलग्न भएका कम्पनी र स्वास्थ्य परीक्षणमा एकाधिकार कायम गरिएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भीएलएन, माइग्राम्स, ओएसी, जीएसजी अवैध भन्दै खारेज गरेको केहीदिनपछि नै प्रहरीले ती कम्पनीविरुद्ध कारबाही थालेको हो ।