काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि जनयुद्धको महत्व बुझेको बताएका छन् । मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा ‘२३ औं जनयुद्द दिवस’को अवसरमा आयोजित कार्यक्रममा 'प्रचण्ड'ले हिजो भएको भेटवार्तामा एमाले अध्यक्ष ओलीले नेपाली समाजको राजनीतिक, सामाजिक, आर्थिक रुपान्तरणमा जनयुद्दको विशेष भूमिका रहेको कुरा बुझेको बताएका हुन् ।
"इतिहासको आवश्यकतालाई बोध गरेर नेकपा एमालेसँग पार्टी एकता भइरहेको छ," प्रचण्डले भने, "ओलीजीले नेपाली समाजको राजनीतिक, सामाजिक, आर्थिक रुपान्तरणमा जनयुद्दको विशेष भूमिका रहेको कुरा बुझ्नुभएको छ । हामी ऐतिहासिक जनयुद्दकै दिन पार्टी एकता टुंगोमा पुर्याउने कोशिसमा छौं ।”
अध्यक्ष प्रचण्डले छरिएर रहेका सबै कम्युनिष्टहरुलाई एउटै कम्युनिष्ट केन्द्रमा सामेल हुन आव्हानसमेत गरेका छन् । ‘अहिले समृद्धि र समाजवादको आधार तयार गर्ने ऐतिहासिक असाधारण अवसर हाम्रा सामु छ,’ अध्यक्षले भने, “लहड र रहरले क्रान्ति हुन्न, त्यसो हुने भए हामीले २०४६ साल अघि नै जनयुद्द शुरु गरिसक्थ्यौं । त्यसैले वैद्य, विप्लवलगायत सबै कम्युनिष्टहरुलाई इतिहासको आवश्यकता बुझेर महान एकता प्रक्रियामा सहभागी हुन आव्हान गर्दछु ।”
सबै कम्युनिष्टहरु एक ठाउँमा नआएसम्म समाजवाद स्थापना हुन नसक्ने जिकिरसमेत उनले गरे । अध्यक्ष प्रचण्डले भने, “विप्लवजी, वैद्यजीहरुले द्वन्द्वात्मक भौतिकवादलाई यथार्थमा बुझ्न विशेष अपील गर्दछु । माओले मास लाइनको कुरा गर्नुहुन्थ्यो, अहिले नेपाली जनताले के चाहेका छन्, त्यो बुझेर एकतामा आउन आव्हान गर्न चाहन्छु । यो मेरो अपील मात्रै होइन, विशेष अपील पनि हो ।”
पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०४६ साल अगाडि नै हतियार जम्मा गरेर क्रान्ति सुरू गर्ने तयारी भएपनि त्यतिखेर आमजनता भने पञ्चायतविरोधी आन्दोलनको मनस्थितिमा रहेकोले छापामार युद्द सञ्चालन गरे पञ्चायतलाई नै सहयोग पुग्ने निश्कर्षमा पुगेर जनआन्दोलनमा सहभागी भएको बताए । “त्यतिखेर म पार्टीको महामन्त्री थिएँ र युद्दको प्राविधिक तयारीको जिम्मेवारी पनि मेरो नै थियो," प्रचण्डले अगाडि भने, "तर हामीले बस्तुगत अवस्थाको विश्लेषण गर्दा नयाँ जनवादी क्रान्ति सुरु गर्दा पञ्चायतलाई नै फाइदा पुग्ने हामीलाई लाग्यो । जनताको चाहना पञ्चायत फाल्ने थियो । हामी संयुक्त आन्दोलनमा होमियौं ।”
२०४६ पछि पाँच वर्ष संसदीय व्यवस्थाको उपयोग गरेर जनयुद्दको शुरुआत गर्नु आत्मगत र बस्तुगत दृष्टिकोणले वैज्ञानिक थियो भन्दै अध्यक्षले त्यतिखेर संसदीय व्यवस्थाको उपयोग गरेर जनयुद्दको आधार तयार पारेको बताए ।
“म सबैलाई स्मरण गराउन चाहन्छौं, हामी त्यतिखेर पनि संसदवादमा फसेनौं । इतिहासमा सधैं अगाडि बढेर मात्रै क्रान्ति हुँदैन । कतिपय अवस्थामा पछाडि हटेर पनि अगाडि बढ्नुपर्छ," प्रचण्डले भने ।