विचार

स्वराज कूटनीति र भारतीय सोच

स्वराज कूटनीति र भारतीय सोच

हुनत, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टुइटे कूटनीति र उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनको आणविक अस्त्रको धम्कीपूर्ण परीक्षणको अगाडि पुरानो कूटनीतिक कौशल र दुई देशबीचको पारस्परिक सम्बन्धमा प्रयोग गरिने रणनीति पुरानो भएको देखिन्छ । तर, अझै पनि कूटनीतिका खेलाडी भने यो खेलमा बोलेको कुरा नगरिने र नबोलेको कुरा गरिने चलन रहेकोमा विश्वास गर्छन् । ट्रम्प र उन जति बोले पनि बोलेको भन्दा गरिने काम फरक भएको सहजै महसुस गर्न सकिन्छ । एकातिर कुन देशका प्रमुखसँग कत्रो आणविक शक्तिको बटन छ भन्ने प्रतिस्पर्धा चलिरहेको छ भने अर्कोतिर दक्षिण कोरियामा हुने ओलम्पिक्समा उत्तर कोरियालाई भाग लिन पनि प्रोत्साहित गरिदैँछ । तर, नेपालमा भने कूटनीतिक खेलको अन्तर्य बुझ्नेभन्दा आफ्नो हितका लागि अथ्र्याउने चलन देखिएको छ । बिहीवार र शुक्रवार दुई दिनको भारतीय विदेश मन्त्री सुषमा स्वराजको भ्रमणमा पनि त्यस्तै अन्योल देखिएको छ । 

नेकपा (एमाले) अहिले भारतले केपी ओलीसँग मित्रताको हात बढायो भनेर दङ्ग परेर बसेको छ । अरु बेला भारतको कुनै ठूलो नेताको भ्रमणका लागि नेपालले अनौपचारिक दूत पठाएर गोप्य मन्त्रणा गरेर अनिमात्र निमन्त्रणा गर्नुपथ्र्याे तर यसपल्ट आफैँ फोन गरेर निमन्त्रणा मागी मोदीले विदेश मन्त्रीलाई आफ्नो विशेष दूतका रुपमा पठाएकोमा एमाले दङ्ग छ । उता सरकारमा रहेको नेपाली कांग्रेस भने रणभुल्लमा परेको र आफू उपेक्षित भएजस्तो देखिएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्षले भने स्वराज भ्रमणको केही अर्थ बुझेजस्तो अभिव्यक्ति दिँदैछन् । उता, आफ्नै स्वार्थका लागि भए पनि राष्ट्रपति विद्या भण्डारीले पनि माओवादी र एमालेलाई कार्यकारी पद बाँडफाँट गरेरै भए पनि मिल्नुपर्छ भन्ने सल्लाह दिएकी छिन् । उनले यो मिलापको महत्त्व बुझेर हो वा नबुझेरै हो अहिलेको अवस्थामा दलको एकीकरणमा जोड भने दिएकी छिन् ।

पहिले भारतीय विदेश मन्त्री स्वराजको भ्रमणको कार्य तालिका हेरौँ । उनले आउने बित्तिकै एमाले अध्यक्ष ओलीलाई भेटिन्, त्यसपछि एमाले नेताहरूसँग संयुक्त भेटघाट गरिन् । स्वराजले ओलीलाई के भनिन् भन्ने विषयमा धेरै अन्दाज गर्नुपर्दैन । उनले ओलीलाई सरकार प्रमुख हुनसक्ने मत ल्याएकोमा बधाई दिइन् र भविष्यमा उनको सरकारसँग मिलेर कामगर्न भारत इच्छुक छ भनिन् । त्यसबाहेक दुवैजना मिर्गौलाका बिरामी भएकाले के खान हुने, के नहुने जस्ता कुरा भए । 

एमालेसँगको भोजमा सरिक भएका केहीमात्र नेताले भारतको विश्वास गर्न नसकिने बताए । अरुले भने भारतले नेपालको सन्दर्भमा लिएको नीतिको कोर्स करेक्सन गर्न स्वराज नेपाल आएको सम्झेर एक प्रकारले खुसी व्यक्त गरेका छन् । तर, भारतले नेपालमा आफैँले जानेर कोर्स करेक्सन गर्ने होइन, नेपाली आफैँले भारतसँग एउटा तहभन्दा तल नझुकेर व्यवहार गर्न सकेको खण्डमा मात्र भारत सो कोर्स करेक्सन गर्न बाध्य हुन्छ भन्ने विषयमा त्यति सोचिएको देखिएन । वास्तवमा भारतीय विदेश मन्त्रीको भ्रमण सो कोर्स करेक्सन गर्नुपर्छ वा पर्दैन भन्ने जानकारी राख्न भएको स्पष्ट देखिन्छ । 

कुनै पनि देशमा सरकार परिवर्तन नभएको अवस्थामा सबैभन्दा ठूलो दललाई बधाई दिन प्रधानमन्त्रीको विशेष दूत किन आउँछन् ? सो दल आफैँमा सरकार बनाउनसक्ने अवस्थामा हो भने खासै विवाद हुँदैन थियो । तर, एमालेलाई माओवादी वा मधेशवादी दलले समर्थन नगरेको अवस्थामा सरकार बनाउनसक्ने अवस्था छैन । यस्तो बेलामा स्वराजले नेपाल भ्रमण गरेर ओलीलाई सघाउन सबै दललाई आव्हान गरिन् होलिन् ? त्यस्तो गर्न मिल्छ ?

वास्तवमा स्वराजको भ्रमणलाई २०७२ साल असोज १ गतेको भारतका परराष्ट्र सचिव एस. जयशंकरको भ्रमणसँग दाँजेर हेर्नुपर्छ । भारतले भनेको अवस्थामा नेपालमा जस्तोसुकै परिवर्तन पनि हुन्छ भनेर संविधान जारी हुन दुई दिन बाँकी हुँदा जसरी उनको भ्रमण भएको थियो अहिले पनि सरकार गठनको पूर्वसन्ध्यामा त्यस्तै भ्रमण भएको हो । जयशंकरले आफ्नो एजेन्डा वा असहमति सबैतिर झल्काउँदै हिँडे तर स्वराजले त्यसो गरिनन् । स्वराजले सबैतिर जसले जे खोजेको हो त्यही पस्केर दिइन् । तर, दुवै भ्रमणको मूल उद्देश्य उस्तै थियो । असोज १ गतेको भ्रमण संविधान जारी हुनबाट रोक्नु थियो भने स्वराजको २०७४ माघ १८ र १९ गतेको भ्रमण भारतीय आशीर्वादबिना सरकार नबनोस् भन्ने उद्देश्यले भएको देखिन्छ । 

उनको भ्रमण पश्चातका स्वरहरू सुन्दा स्वराजले ओलीलाई समर्थन दिने कुरा गरिन् भने मधेसवादीलाई ओली सरकारमा सामेल हुन आग्रह गरिन् । ओली र मधेसवादी दलले भारतीय आग्रह मानेर जाने हो भने माओवादी केन्द्र कतै न कतैको हुने देखिन्छ । यस्तो भएको खण्डमा भारतले नेपालमा चीनको राजनीतिलाई परास्त गरेको अर्थ लगाउन सकिन्छ । यसै परिप्रेक्ष्यमा हेर्दा कमरेड दाहाललाई भने नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्न सुझाव दिएको पनि हुनसक्छ । 

तर, के यसमा स्वराजको कुनै दोष छ ? बिल्कुल छैन । आफ्नो घरमा दाजुभाइ झगडा गरेर बस्छन् भने छिमेकीले तिनलाई मिलाउने नाममा तिनको घरमा बसेर तिनकै चुलोमा आफ्नो रोटी त सेक्छ नै । नेपाली कांग्रेसलाई जसरी पनि सरकारमा टिक्नु नै छ भने र दाहाललाई प्रधानमन्त्री बन्ने रहर जागेको छ भने त्यो उत्कट अभिलाषाको आगोमा घिउ थप्न भारत तयार हुनु उसको स्वार्थी सोच हुनु त्यति अस्वाभाविक पनि हैन ।

यसैले अहिले स्वराजले आएर कसलाई के भनेर गइन् भनेर तिनको कुराका आधारमा आफ्नो व्यवहार धन्दा मिलाउन कसैले खोज्यो भने त्यो गल्ती हुनेछ । जनताले म्यान्डेट दिएको वाम गठबन्धनलाई हो । वाम गठबन्धनको सरकार बन्नुपर्छ । यस्तो सरकार भारतको प्रभावले बन्यो वा चीनको प्रभावले भनेर धेरै हिसाब गरिराख्नु जरुरी छैन । सरकार बने पश्चात् दुवै देशसँग राम्रो सम्बन्ध राख्ने चुनौती नयाँ प्रधानमन्त्रीको हो । नेपाली जनतालाई लोकतान्त्रिक शासन चाहियो, विकास चाहियो । हाम्रा देशका प्रधानमन्त्रीको रिमोट कन्ट्रोल अर्को देशमा छ भनेर सुन्न कसैलाई मन लाग्दैन । तर, दुवै देशको उच्च नेतृत्वलाई खुसी बनाएर देशको शासन चलाउनुपर्न यथार्थ पनि छँदै छ । 

कुनैबेला वरिष्ठ अधिवक्ता गणेशराज शर्माको प्रवचन सुन्न उनको कमलादीस्थित निवासमा जाँदा जेसुकै कुरामा पनि भारतको हात छ भन्ने सुन्दा अलि नमीठो लाग्थ्यो । बिस्तारै राजनीतिको खेल बुझ्दै जाँदा पत्रकारितामा दुई दशक नाघेका सबैले हरेक कुरामा भारतको खेल छ भनेर एक प्रकारको मानसिकता विकास गरिसकेका छन् । केही वर्षअघि मात्र सम्पादकको पदबाट पत्रकारितामा प्रवेश गरेका रिपब्लिका दैनिकका सम्पादक सुभाष घिमिरे सुरुसुरुमा जुनसुकै कुरामा भारतको हात देख्ने दोषी आँखामाथि सन्देह गर्थे । अहिले उनको पनि सोच बिस्तारै परिवर्तन हुँदैआएको छ । यसका पछाडि कस्को दोष छ ? भारतको वा चीनको दोष छैन । तिनले पाएको मौकामा नेपालमा आफ्नो प्रभाव जमाउने जमर्को अवश्य गर्छन् ।

दोष छ त हाम्रा नेताकोमात्र जो आफू प्रधानमन्त्री हुन पाउने हो भने जुनसुकै कुरामा पनि सम्झौता गर्न पछि पर्दैनन् । हामीलाई एक स्वतन्त्र र स्वाभिमानी देशका बासिन्दाको इज्जत दिने हो भने नेपाली नेताहरूले विदेशीका सामु घुँडा टेक्न बन्द गर्नुपर्छ । नेपाली कांग्रेसले पनि यसपल्ट विपक्षमा बसेर राम्रो काम गर्छु भन्ने उद्घोष गर्दै वाम गठबन्धनको सरकार बनाउन सहयोग गर्नुपर्छ । यति गर्नसकेको खण्डमा देश बलियो हुन्छ । एक सशक्त, स्वाभिमानी र सार्वभौम देशको नागरिक बनाउन सबै दलले सहयोग गरुन् । हामीसँग किम जोङ उनको जस्तो संसार थर्काउन आणविक हतियार नभए पनि नेपालीपनको तातो रगत र न्यानो परिचय छ, त्यसैले संसारमा प्रभावशाली हुन सक्छौँ, नेताले साथ दिउन्मात्र ।
 

तपाईंको मत