site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
बनारसका ठग भान्जा र हाम्रा नेता

बलिउडका उच्चस्तरीय अभिनेतामध्येका हुन् आमिर खान । अरू अभिनेताले नेताको कुरा गर्दा जनताले हाँसेर उडाउँछन् । तर यिनी फरक छन् । यिनले खेलेको सिनेमाले दर्शकको मन छुन्छ भने बोलेका कुरा दिमागको गहिराइमा बस्छ । कला, संस्कृति र संगीतको सीमाना नहुने कारणले भारतलाई राजनीतिकरूपमा समर्थन गरे वा नगरे पनि धेरै नेपाली दर्शकले आमिर खानलाई इज्जतसँग हेर्छन् र उनको कुरा मनन गर्छन् । त्यसैले कुराको सुरु आमिर खानले स्टार वल्र्ड च्यानलका लागि चलाएका ‘सत्यमेव जयते’ कार्यक्रममा सुनाएको एउटा कथाबाट गरौँ ।

एक जना बनारस सहरको ट्रेन स्टेसनमा उत्रनेबित्तिकै एक युवक आएर चरणमा पर्छ । व्यक्ति छक्क पर्छ । 

“को हौ तिमी?” त्यो व्यक्तिको मुखबाट निस्कन्छ । 

Agni Group

“ओहो चिन्नुभएन मामा ? म मुन्ना, तपाईँको भान्जा ।” 

अझै छक्क परेका व्यक्ति आफ्नो भान्जा पर्ने युवक कसरी वाराणसी आइपुग्यो भन्ने बुझ्दैन । तर, सबैकुरा सोध्न पनि अप्ठेरो हुन्छ । 

Global Ime bank

“तिमी कसरी यहाँ त?” ऊ सोध्छ । युवकले आफू अहिले यतै बस्ने गरेको बताएर धेरै वर्षअघि देखेकाले मामाले नचिनेको भन्ने तर्क दिएपछि मामा चुप लाग्छन् ।

त्यसपछि मामा भान्जाको बाराणसीमा विभिन्न मन्दिरको भ्रमण हुन्छ । गंगाको किनारामा पुगेपछि ती व्यक्तिलाई गंगाको पवित्र पानीमा डुबुल्की लगाउन मनलाग्छ । 

“बनारस आउने अनि गंगामा ननुहाउने पनि हुन्छ ? जानुस्, जानुस् पानीमा डुबुल्की लगाउनुुस्,” भान्जाले उक्साउँछ । 

मामा पानीमा पस्छन् । तर, पानीमा डुबुल्किएर बाहिर आउँदा भान्जाको अत्तोपत्तो हुँदैन । कम्मरमा बेर्ने एउटा रुमालबाहेक अरू केही नराखी भान्जा बेपत्ता हुन्छ ।

त्यही रुमाल बेरेर उनी यताउता भान्जाको खोजी गर्छन् । तर, हात लाग्यो शून्य हुन्छ ।

प्रख्यात भारतीय साहित्यकार शरद जोशीले २५ वर्ष अघि लेखेको यो कथा सुनाएर आमिर खान भन्छन् – अहिलेका नेता त्यही भान्जाजस्ता हुन् जो चुनाव आएको बेला एकदम चरण परेर म तपाईंको भलो गर्ने तपाईंको प्रतिनिधि हुँ भन्छन् तर जब जनताले आफ्नो बहुमूल्य मत दिएर पठाउँछन् तब पाँच वर्षसम्म जनतालाई तौलियामात्र बेर्न बाध्य बनाएर गायब हुन्छन् ।

आमिर खानमार्फत कहिएको र २५ वर्ष अघि लेखिएको कालजयी भारतीय कथा अहिलेको नेपालको परिस्थितिमा दुरुस्त मिल्दछ । नेताहरू अहिले अनेकरूप रंगमा आएका छन् । हिजोसम्म गाउँमा आउँदा जनता भेट्न आउलान् कि भनेर लुकेर हिँड्ने नेता अहिले घरघर धाउँदै छन् । नोटका बन्डल जनताको आँखा अगाडि घुमाउँदैछन् । तर, जनतालाई के थाहा ? अहिले गरेको खर्च यी नेताका लगानी हुन् । देशलाई गरिब बनाएर अथाह सम्पत्ति कमाउने लालसाले यी नेता अहिले याचक देखिएका हुन् । अन्ततः जनताले यिनको जति खाएका छन् त्यसको सके १०० दोब्बर नभए पनि १० दोब्बर बनाउन यिनीहरू जात्ती भई टोपलेका हुन् । 

यो कथा कुनै एक दलको होइन, सबै दलका सबै नेताको हो । कुनै पनि एउटा नेताको नाम लियो भने यो व्यक्ति फलानो दलको भएको हुनाले हामीलाई बदनाम गर्दैछ भनेर सहजै बेवास्ता गरिदिन्छन् । त्यसैले जनतालाई अझै फलानो फलानो पार्टीको यो यो व्यक्ति सही छ भनेर मिडियाले तोकेर भन्न सक्दैन, भनेको खण्डमा विश्वास पनि गर्दैनन् । तर, हाम्रा नेतालाई वाराणसीको ठगका रूपमा परिणत नगर्ने हो भने जनताले एउटा विषयमा मात्र ध्यान दिए हुन्छ – त्यो हो जनताको कुरामा कसले कति ध्यान दिएको छ ।

जनताको हितको कुराभन्दा अघि अहिले कम्युनिस्ट गठबन्धनको समाजवाद र लोकतान्त्रिक गठबन्धनको खुला समाज केलाई चुन्ने भन्ने तर्क अघि सरेको देखिन्छ ।

वास्तवमा जनतालाई भोलि आउने समाजवाद पनि वीरबलको खिचडी हो भने लोकतान्त्रिक खुलापन पनि जुनको रापमात्र हो । दलका नेता जनमुखी भएनन् र जनताका लागि भन्दा आफू र आफ्नाका लागि देश दोहनमा लागे भने कुनै पनि सिद्धान्तको व्यक्तिले जितेर जनताको जीवनस्तरमा केही फरक पर्दैन । जसलाई जिताए पनि कुनै सिद्धान्तले जित्दैन । 

यहाँ एउटा कुरा प्रष्ट भए हुन्छ, नेपालको संविधान, २०७२ लाई मानेर आएका दलले जुनसुकै विषयमा जति भट्याए पनि लोकतन्त्र, बहुलवाद, जनताको जीवनको अधिकार, सम्पत्तिको अधिकार, बोल्ने र लेख्ने अधिकार आदिमा सोझो तरिकाले आग्लो लगाउन सक्तैन । त्यस्तै संसदीय व्यवस्था, गणतन्त्र, संघीय स्वरूपमा पनि धेरै छलफलको अब कुनै गुन्जायस छैन । नेपाली जनता बारम्बार अहिले प्राप्त अधिकार गुमाएर फेरि यसैको लागि लड्न तयार छैनन् । अब सिसिफसको नियतिबाट नेपाली जनताले मुक्ति पाउनुपर्छ । 

यो नियतिबाट मुक्ति पाउन पुराना दललाई बिर्सने हो त ? अब नयाँ दललाई अगाडी बढाउने बेला आएको हो त ? हैन । दुवै कुरा होइन । अबको समय भनेको पहिले राजनीतिक व्यवस्था र राजनीतिक विचारलाई किनारामा राख्ने हो । जसले आफूलाई राजनीतिक व्यवस्थाका संरक्षक भन्छन् ती पनि सम्पूर्णरूपमा सही हैनन् र जसले यो राजनीतिक व्यवस्थाभन्दा भिन्न व्यवस्थाका परिकल्पना गरेका छन् ती त झन् स्थायित्व र जनअधिकारका दुस्मन हुन् । त्यसैले कुनै एक दललाई चुन्ने अहिलेको समय हुँदै होइन् । अहिले राजनीतिक दललाई खबरदारी गर्ने बेला हो । 

राजनीतिक दललाई खबरदारी तबमात्र हुन्छ जब उसले छानेर पठाएका गलत तत्त्वले धुलो चाट्छन् । अहिलेका ठूला भनिएका सबै दलले गुण्डा, दलाल र शक्तिमा पुगेपछि देशलाई जसरी दोहन गरे पनि हुन्छ भन्ने सोचका व्यक्तिलाई पनि टिकट दिएका छन् । जनताको जिम्मेवारी यस्ता व्यक्तिको जमानत जफत गराइदिने हो ।

तपाई लोकतन्त्रमा विश्वास गर्नुस् वा समाजवाद हुँदै साम्यवादमा पुग्ने कल्पनामा डुब्नुस् माथि भनिएजस्ता व्यक्ति सदनमा आए भने नरभक्षी बाघलाई शासनको अभिभारा सुम्पनुभन्दा अर्को केही फाइदा हुँदैन ।

सबै व्यक्ति को कस्तो भनेर लोकतन्त्रमा चिन्न गाह्रो हुन्छ । तर, चिनिएन भनेर आफूले समर्थन गरेको दललाई मत दिनु पनि पाप हुनसक्छ । जनताले आफ्नो विचारलाई मतदान गर्ने त समानुपातिकमा मात्र हो । प्रत्यक्षमा लड्न भनेर आएका व्यक्तिको त एक एक बानी व्यवहार, उस्को शिक्षा, क्षमता, काम, क्रियाकलाप सबैको लेखाजोखा गर्नुपर्छ । संविधानले समानुपातिक र प्रत्यक्ष व्यवस्था गरेकै यही उद्देश्यका लागि हो ।

उमेदवार कसरी चिन्ने ? सबै मतदाताले गुगल गरेर खोज्न त जान्दैनन्, सबैको इतिहास विकीपिडियामा पनि भेटिँदैन । अहिले कसैको विषयमा अरूलाई सोध्यो भने पनि सबै सही सूचना प्राप्त हुँदैन । अनि सबैको प्रोफाइल लिन्क्डइनमा पनि हुँदैन । तर, प्रायः सबै फेसबुकमा हुनसक्छन् ।

तिनले जनताको समस्यालाई कसरी हेरेका छन्, उनको विरुद्धको असहमतिमा कस्तो प्रतिक्रिया जनाउँछन् र कुन विषयमा कति सस्तो तथा हलुंगो विचार पेस गर्छन् सो हेर्नु पर्छ । कुन नेता राजाले शासन लिएको बेलामा कुन खेमामा थिए, नाकाबन्दीको बेलामा जनताको पक्षमा कति बोल्यो, बाढी र भूकम्पमा के र कसरी सहयोग गर्यो यस्ता विषयमा मनन गर्नुपर्छ । 

निर्वाचनको बेलामा आएर पैसाको खोलो बगाउँछु झै गर्ने त नौटंकी नेता हुन्, यस्तालाई समयमै चिन्नुपर्छ । निर्वाचनको बेलामा सबैलाई चिन्ने, सबैसँग ढोगभेट गर्ने र जस्तोसुकै सेवा गर्छु भन्ने भान पार्ने व्यक्ति र आमिर खानले सुनाएको बाराणसीको ठगमा कुनै फरक छैन । दुवै ठग हुन्, दुवैले आफ्नो सिकारको विश्वास जितेर उसको भोग चढाउने परिपञ्च गर्दैछन् भन्ने बुझ्नु पर्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४  १४:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC