काठमाडौं । प्रायः खेलाडीले सोचेका हुन्छन्, आफ्नो सन्यास सुखद होस्, अविस्मरणीय रहोस् । तर, कतिपय खेलाडीको सन्यास त्यस्तो सुखद पनि हुँदैन ।
सुखद विदाई पाउने खेलाडी कमै हुन्छन् । त्यही सुखद विदाई पाउनेमा एक रहे नेपालका स्टार स्ट्राइकर तथा कप्तान अनिल गुरुङ । किनकी उनको सन्यास सोचेजस्तै भयो । उनकै शब्दमा, “सोचेको थिएन, मेरो नेपालको लागि अन्तिम खेल यति भव्य हुन्छ भनेर । तर, मेरो लागि यो सधैँ अविस्मरणीय रहनेछ ।”
एएफसी एसियन कप छनोट अन्तर्गत मंगलबार होम खेलमा फिलिपिन्सलाई गोलरहीत बराबरीमा रोक्दै नेपालले कप्तान अनिलको सुखद विदाई गर्यो । सायद अन्तिम खेलमा हारको नतिजा आएको भए अनिलको विदाई निराशाजनक हुने थियो ।
खेल सकिन अन्तिम १० मिनेट बाँकी रहँदा मैदानमा छिरे पनि अनिलले विपक्षीको डिफेन्सलाई हम्मेहम्मे पारे । रेफ्रीले खेल सकिएको घोषणा गरे अनिलले पनि १० वर्षे नेपाली फुटबलसँगको खेलाडी नातामा बिट मारे ।
अनिलले १० नम्बरको जर्सी अरुलाई नै सुम्पिए ।
रेफ्रीको इशारासँगै खेलको ८१ औं मिनेटमा सुजल श्रेष्ठको स्थानमा मैदान छिरेका अनिलले नेपालको जर्सीमा ५० औं क्याप पुरा गरे ।
खेल सकिएपछि एन्फाले उनलाई सम्मान गर्यो । लगत्तै अनिल मैदानको बीच भागमा पुगे । मैदानलाई चुमे, ढोगे र अन्नतः अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए ।
एन्फा कम्प्लेक्स पुगेका दर्शकले उठेर कप्तान अनिलको सम्मान समय खर्चिए । लगत्तै अन्य खेलाडीले बोकेर अनिललाई मैदान वरिपरी घुमाए । सायद, त्यो क्षण कमै खेलाडीले पाउने गर्छन । त्यसैले त निकै भावुक बनेका अनिलले भने, “मलाई यति धेरै माया दिनुभयो, अझै दिनुहुनेछ । म यो गुण कहिले बिर्सने छैन । जहाँ रहे पनि नेपाली फुटबलभन्दा टाढा रहने छैन ।”
सन् २००७ मा राष्ट्रिय टिममा डेब्यु गरेका अनिलले १० बर्ष टोलीमा रहँदा नेपालको जर्सीमा ५० औं पटक मैदान ओर्लने मौका पाए ।
नेपालको जर्सीमा ५० औं खेल पुरा गर्ने थोरै खेलाडीमा अनिलले आफ्नो नाम लेखाए । फुटबलमा समर्पित भएका अनिलले नेपालको लागि ९ अन्तर्राष्ट्रिय गोल गरे ।
पोखराको सहारा क्लबबाट फुटबल करियर सुरु गरेका अनिलको सन्याससँगै नेपाली फुटबलमा अर्को एक युगको अन्त्य समेत भयो । अनिलसँगै फुटबलमा लागेका धेरैको फुटबल करियर सकिसकेको छ । तर, लामो समयसम्म नेपाली टोलीमा रहने खेलाडीमा अनिल जोडिए । सन् २००९ मा काठमाडौंमा भएको प्रधानमन्त्री कप फुटबलको उपाधि नेपालले जित्दा पनि अनिल टिमका मुख्य खेलाडी थिए । त्यस्तै गत बर्ष नेपालले सोलिडारिटी कप जित्दा अनिल नेपालको कप्तान थिए ।
तर, अब दर्शकले अनिलको नाममा हुटिङ गर्ने छैनन् । कुनै बेला अनिल गुरुङको खेल हेर्न रंगशालामा दर्शकको ओइरो लाग्ने गर्थ्यो ।
“अब मैले धेरै कुरा गुमाउनेछु,” भावुक भनेका अनिल केहि समय रोकिएर बोले, “मेरो १० नम्बर जर्सी र मेरो फ्यान हो, त्यो कुराहरू चाहिँ निकै मिस गर्नेछु ।”
मोफसलको क्लब सहाराबाट फुटबलको कखरा सिकेका अनिल क्लब फुटबलमा समेत चर्चित खेलाडी हुन् ।
राजधानी छिरेपछि अनिलले सुरुवातमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बाट ‘ए’ डिभिजन लिग खेले । एक बर्ष बीबीसीमा बिताएपछि अनिल ललितपुरको क्लब थ्री स्टारमा गए । थ्री स्टारमा एक वर्ष बिताएपछि फेरि अनिल मनाङ मर्स्याङ्दी क्लबमा आबद्ध भए ।
मनाङमा २ वर्ष बिताएपछि उनि न्युरोड टिम (एनआरटी) गए । त्यसपछि अनिल भारतको लिग क्लब सिलोङ लाजोङमा ६३ लाखमा तीन वर्षका लागि अनुबन्धित भए । भारतको शिर्ष लिग खेल्ने अनिल पहिलो खेलाडी बने ।
सिलोङ लाजोङबाट फर्किएपछि अनिल फेरि पुरानै क्लब मनाङ मर्स्याङदीमा आबद्ध भए, जुन नेपाली क्लब फुटबलमा अर्को इतिहास बन्यो । अनिललाई मनाङले मासिक ७० देखि ८० हजार दिनेगरी अनुबन्धित गरेको थियो । जुन नेपाली क्लब फुटबलमा सर्वाधिक पारिश्रमिक हो । अनिलकै कप्तानीमा मनाङले दुई बर्षअघि ‘ए’ डिभिजन लिग जित्यो ।
त्यसैले त, अन्तर्राष्ट्रिय फुटबलबाट बिट मारेपनि अनिलले क्लब फुटबलबाट बिट मार्ने सोचेका छैनन् । अनिलले अझै केहि बर्ष क्लब फुटबलमा आफ्नो कला देखाउनेछन् । जाँदा जाँदै उनले भने, “हेरौं समयले साथ कति दिन्छ । शरीरले साथ दिएसम्म क्लब फुटबलमा रहनेछु ।”