site stats
बाह्रखरी :: Baahrakhari
खेल
भूकम्पमा ज्यान गुमाएका भोम्जनको सम्झनामा स्मृतिसभा

काठमाडौं । विनाशकारी भूकम्पमा ज्यान गुमाएका सुमन भोम्जनलाई सम्झँदै नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार स्मृतिसभा आयोजना गरेको छ । 

२०७२ वैशाख १२ गतेको भूकम्पमा बस्दै आएको काठमाडौंको महाबौद्धस्थित वासस्थानमा पुरिएका भोम्जनको शव वैशाख १९ गते भेटिएको थियो । भूकम्पमा पुरिएर ज्यान गुमाएका आफ्ना सदस्य भोम्जनको स्मृतिमा मञ्चले बर्सेनि वैशाख १९ गतेलाई सुमन भोम्जन स्मृति दिवसका रूपमा मनाउँदै आएको छ । 

Argakhachi Cement Island Ad

बुधबार मञ्चको त्रिपुरेश्वरस्थित कार्यालयमा भएको स्मृति सभामा मञ्चका कार्यवाहक अध्यक्ष निरञ्जन अधिकारीले भोम्जनले भौतिक रूपमा संसार छोडेर गए पनि उनको सम्झना नेपाली खेल पत्रकारितामा अमर भएर रहिरहने बताए । 

यसैगरी मञ्चका पूर्वअध्यक्ष अजय फुयालले भोम्जनलाई स्मरण गर्दै मञ्च र नेपाली खेलकुदप्रति उनको योगदानको चर्चा गरे । भोम्जनको भावनाअनुसार कार्यक्षेत्रमा लाग्न युवा पुस्तालाई आह्वान गर्दै फुयालले थपे, “सुमन भोम्जन भन्ने नाम उर्जा, प्रतिबद्धता, मेहनत र इमान्दारीको पर्याय थियो । अहिलेको नयाँ पुस्ताले भोम्जनको व्यक्तित्वबाट प्रेरणा लिनुपर्छ ।”

मञ्चका पूर्वअध्यक्ष फुयालले समग्रमै नेपाली खेलकुद पत्रकारिताले पीजे क्लब र खेलाडी संघजस्ता संस्थाहरूसँगको सहकार्यलाई बाक्लो पार्दै अगाडि बढ्न सके नेपालको खेलकुद र खेलकुद पत्रकारितामा ठूलो क्रान्ति सफल हुने बताए । “यसो गर्न सकियो भने मात्र हामीले हाम्रा दिवंगत साथी सुमन भोम्जनप्रति साँचो अर्थमा श्रद्धाञ्जली दिएको ठहर्छ । र, यो अभियानको नेतृत्व सदाझै मञ्चले नै लिनुपर्छ,” उनले थपे ।

नेपाली खेल पत्रकारहरूको छाता संगठन मञ्चले भोम्जनलाई स्मरण गर्ने क्रममा प्रत्येक वर्ष एकजना युवा पत्रकारलाई सुमन भोम्जन अनुज पत्रकार पुरस्कारबाट विभुषित गर्ने गरेको छ । 

मञ्चसँगको सहकार्यमा भोम्जनको नाममा उनको गृहनगर हेटाँैडामा दुईपटक राष्ट्रियस्तरको फुटबल प्रतियोगिता भइसकेको छ भने नेपाल स्पोर्टस क्लाइम्बिङ संघले पनि दुईपटक सुमन भोम्जन स्मृति क्लाइम्बिङ प्रतियोगिता आयोजना गरेको थियो । 

नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुरका संस्थापक अध्यक्ष भोम्जन बक्सिङको जिल्लास्तरका पूर्वखेलाडी पनि हुन् ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १७:३७
प्रतिक्रिया दिनुहोस्