site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
राउटेनीसँगका ती तीन घण्टा
Sarbottam CementSarbottam Cement

– प्रभास देवकोटा


नियात्राकारको कुनै योजना हुँदैन । योजना बनाएर हिँड्दा संयोग जुर्दैन । झोला बोक्यो, फुत्त निक्लियो । कहिले त बसपार्क वा एयरपोर्ट पुग्दासम्म जाने यात्राको टुङ्गो हुँदैन । मलाई लाग्छ, यात्राको पहिलो शर्त नै बिनायोजना निस्किनु हो । हो, यात्राका लागि चाहिन्छन्– मजस्तै थोरै अराजक, थोरै जिद्दीवाल, थोरै एड्भेन्चरस, थोरै बौद्धिक, थोरै क्रिटिकल, थोरै आध्यात्मिक र सबैभन्दा धेरै बिनायोजना जे पनि र जहिले पनि गर्न सक्ने अदम्य साहस अनि विश्लेषणात्मक चेत । हो, म यस्तै अराजक हुँ ।

साथी वसन्तको विशेष अनुरोधमा यसपालि तीजको मुखैमा म दैलेख पुगेँ । नेपालगन्जको होटल दरबारमा वसन्तले मलाई पर्खिरहेका थिए । म ९ बजेतिर नेपालगन्ज पुगेँ । नेपालगन्जसँग मेरा केही तीतामीठा पूर्वस्मृतिहरू छन् । त्यसैको खोजीमा निक्लने विचार गरेँ । मोबाइलमा फोन नम्बरहरू हेरें । यहाँ स्कुलका राजेश श्रेष्ठ, रमेश कान्दु सम्पर्कविहीन थिए । किशोरसिंह राठौर काठमाडौंमै थिए होलान् । उनी ठूलै राजनीतिज्ञ भइसके । कुबेर कडायत सरुवा भएको थाहा पाएँ  ।

Prabhu Bank
Agni Group
NIC Asia

बूढेसकालमा वयसन्धिले पाको बनाउँदै लगेपछि बच्चाका साथीहरू– विशेषगरी सहपाठीहरूको सरोकार हुँदो रहेछ । समय, सीमा र जीवन भोगाइका साझा कोलाजहरू त एकैएकै न हुन्, हाम्रो स्तरका व्यक्तिहरूको । त्यसैले सौहार्दता, आतिथ्य, आत्मीयता, सेयरिङ र विगत सम्झिँदै नोस्टाल्जिक बन्नुको छुट्टै मजा हुन्छ । त्यसैले मैले विगत खोज्न थालेँ, तर कोही भेटिएनन् । मेरो कोठामा सँगै बस्ने सिनियर दाजु दिनेश श्रेष्ठको नम्बर मसँग थिएन । सबल राणा पनि रहेनछ । सनत रेग्मी दाइ पनि थिएनन् । कुमुद दाइ हुुनुहुन्न जस्तो लाग्यो र म बाँकेबगियातिर गएँ । बाँकेबगियाको सामीप्यले मेरो स्मृतिमा अटेसमटेस रामलीला उभियो । यसो अगाडितिर हेरेको– ठूलीआमाको घर देखेँ । फर्सी (ठूलीआमाको छोरो: दाइ) त्यतै छ कि सोधेँ ।

मेरो बाल्यकालको स्मृतिमा पहिलो शहरको प्रसारण र अवधारणा निर्माण गर्ने नेपालगन्ज । कानको उपचारका क्रममा त्यस्तै ७–८ वर्ष दशैंको समयमा ठूलाबाबा र ठूलीआमासँग साथ लागेर त्यहाँ पुगेको थिएँ । विगतका स्मृति अटेसमटेस आए । बच्चु दाइ र रञ्जनी दिदीले अलि धेरै माया गर्थे । बच्चु दाइ र म एउटै खाटमा सुत्थ्यौं । फर्सी दाइ अलि अलग थियो । कसैसँग नमिल्ने । झल्याँस्स बाल्यकालको स्मरण भयो अनि त्यस्तै त होला भन्ने लाग्यो र त्यसलाई खोज्नतिर लागिनँ ।

Global Ime bank

ठूला बाबा र आमा दुवै अब हुनुहुन्न । उहाँहरूको एक प्रकारको विशेष लगाव थियो मप्रति पछिसम्मै । म त्यहाँ गए ठूला बाबा विश्लेषणात्मक राजनीतिक, सामाजिक र आर्थिक आँकलन गर्न रुचाउनु हुन्थ्यो । ठूलीआमाचाहिँ कहिले ‘तेरो पोलेको खुट्टा देखा त, खै ले तेल घसिदिन्छु’ भन्नुहुन्थ्यो । कहिले गिलासभरि मनतातो दूधमा अलिअलि चिनी हाल्ने अनि डेक्चीमा बोकेर आउने र ‘ल तनक्क खा, कति दिनदेखि हिडिँरा’छस् तँ पक्का’ भनेर आमा हुनुको अधिकारजनित प्रश्न तेस्र्याउनुहुन्थ्यो । ठूलाबाबाको लुङ्गी र गन्जी ल्याएर ‘ल अब नुहाउन जा, सबै लुगा फुकालेर मलाई दे, म धुन्छु’ भनेर जिद्दी गर्नुहुन्थ्यो । नमाने रोइहाल्नुहुन्थ्यो । त्यै भएर खुरुक्क दिन्थेँ । आफैं लुगा, जुत्ता र मोजा धोइदिन्थिन् बूढीले ।

मप्रति बूढाबूढीको त्यस्तो माया थियो । विगत सम्झिँदै त्यो घरभित्र पसेँ । घर त थियो, तर मेरी ठूली आमा थिइनन् अनि ठूला बाबा पनि थिएनन् । त्यहाँ बसेका मान्छेलाई सोधेँ, “यहाँ कोही दाइहरू बस्छन् ?”

को दाइ, के दाइ आदिइत्यादि उत्तर दिनतिर म लागिनँ । सरर चारैतिर आँखा लगाएँ । ठिङ्ग उभिएका थिए घरहरू तर सम्बन्धको प्रसारणबिना उभिएका घरको के काम ? समयचक्रको शाश्वत र चिरन्तन लीलास्वरूप घर त थिए तर सम्बन्धको प्रसारण थिएन । मेरो पोलिएको खुट्टा पकड्दै तेल लगाइदिने मेरी ठूली आमा थिइनन् र मेरो प्रतिभाबाट एकदमै परिचित भएर ‘आफ्नो प्रतिभालाई चिन् है लखे’ भन्ने मेरा ठूला बा पनि थिएनन् । हृदयको अन्तस्करणबाट सम्झेँ दुवैलाई । आँखा आद्र्र भए । भावना भक्कानियो । सजल नेत्र बनाउँदै र दुवैलाई नमन गर्दै त्यहाँबाट निस्केँ ।

वसन्तजी र म ठीक १ः३० बजे होटलबाट निस्कियौँ । बुलेटको आवाजसँगै हामी बत्तियौं । कोहलपुर काटेर चिसापानी पुग्दै गर्दादेखि बाटैभरि हरितालिका तीजको रमझम देखा पर्न थाल्यो । जताततै ‘तीजको रहर आयो बरिलै’ घन्किरहेको थियो । सबै उमेर र वयसन्धिका महिला दिदीबहिनीहरू कम्मर मर्काएर सारी लर्काउनमा व्यस्त थिए । प्रकृतिले पनि अजीबको व्यवहार गर्छ कहिलेकाहीँ । ठूलो मुुसलधारे पानी पर्दै थियो । रेनकोटको के लाग्थ्यो ? निथ्रुक्कै हामी । बबई पुलनेर पुग्यौं । सानो बजार । होटेल शेर्पाअगाडि घ्याच्च बाइक रोक्यौं ।

आँगनैभरि ‘तीजको रहर आयो बरिलै’को पारो उक्लिँदै थियो । त्यो भेला नाचको क्लाइमेक्समा पुगिरहेको थियो । हिमालका शेर्पा दाजु तराई झरेर होटेल गरेका । बुद्धिस्ट शेर्पा दाजुकी मगर्नी भाउजू रहिछन् । सांस्कृतिक समन्वयको ज्वलन्त उदाहरण बनेर त्यहाँ थारू, मधेसी, तामाङ, मगर, बाहुन, क्षेत्री, नेवार र दलित एउटै थलोमा सांस्कृतिक कोलाजको ज्वलन्त झाँकी प्रस्तुत गर्दै सांस्कृतिक साहचर्यको ज्वलन्त नेपाली भर्सन प्रस्तुत गरिरहेका थिए । एउटी अधबैंसे महिला आइन् । ह्वास्स मुख गन्हायो । २–३ पेग तन्काएकी हुँदी हुन् ।

“लौ त सरहरू पनि नाच्न प¥यो,” निर्धक्क हात समातेर तानिन् । मानौं वर्षौंदेखि चिन्थिन् होला या मेरै श्रीमती वा प्रेमिका वा दिदीबहिनी, फुपू होलिन् । मेरो हिम्मतै रहेन नाइँ भन्न । सहज बन्ने प्रयत्नस्वरूप भनें, “आफूचाहिँ तात्नु भा’छ, हामीलाई निथ्रुक्कै जाडो भा’छ, केको नाच्नु ?” 

उनले बुझिन् । भनिन्, “सर, घरमा तीजका लागि बनाएको मगराती ३ पाने छ, भातको हो । केही मिसाइएको छैन, हजुरहरूलाई चल्छ कि चल्दैन ?”

त्यस्तो आत्मीयतासाथ आतिथ्य प्रदान गर्न व्यग्र महिला अगाडि हुँदाहुँदै नाइँ भन्ने वातावरण बनेन । दुबै साथीले एक अर्कालाई हेर्‍यौं । जे त होला– बिस्तारै चलायौं । लाग्यो, यो मोेमेन्ट फेरि भोलि आउँछ/आउँदैन, त्यसैले भरपूर बाँचौँ, खुसी मनाऔं । अभिव्यक्तिको सामूहिक प्रसारणको माध्यम ‘तीजको रहर आयो बरिलै’मा मर्किने विचार गर्‍यौं । चट्ट ग्याम्पे गरेर काँसको ग्लासबाट तन्काउँदा शरीरमा अर्कै स्फूर्ति पैदा भइसकेको थियो । मैले भनेँ, “म पनि दङाली हुँ, पश्चिमी ठाडो भाकाका छिटो नाच्ने गीत गाउनुस् ।”

गीत सुरु भयो । आतिथ्य प्रदान गर्ने महिलालाई सोधेँ, “केमा पर्नुभो ?”

“मगर थापा (मगर),” उनले भनिन् ।

“ए, मगरहरूसँग त हाम्रो खानदानको एकदमै मितेरी नातो छ । मचाहिँ बाहुन ।”

“के दाजु भनौं ?”

“ल हुन्छ !” ती बहिनीले तानिन् ।

अलिअलि लाग्दै गरेको रक्सीको स्फूर्तिले ततायो । चरम उत्कर्षसम्म ती बहिनीसँग जोडी बन्दै डेढ–दुई घण्टा नाचेर, एक–दुई सेल्फी लिई हामी त्यहाँबाट निस्क्यौँ । भर्खरको बाढीले आक्रान्त बाटो, भीरपाखा, बगर र चौरहरू । सुसाउँदा र उर्लेका खोलाहरूको कलकल सुन्दै, कतै बाइक धकेल्दै, कतै ढुङ्गा फाल्दै छिन्चु पुगियो । छिन्चु अहिले त आधुनिक बजार भइसकेको रहेछ । विकासको नेपाली मानक (अस्तव्यस्त) कंक्रिटका घरैघरले भरिएको छिन्चु बजारमा पसलैपिच्छे तीज घन्किरहेको थियो । वातावरण लाल छ, महिलामय छ । हिन्दू संस्कृतिको उच्चतम सांस्कृतिक प्रसारणको द्योतक तीज मूलतः अभिव्यक्तिको प्रसारण नै हो । त्यहाँ पुगेर एकएक कप चिया तन्काएर फेरि एकछिन तीजमय बन्दै हिँड्ने विचारका साथ लाइक माइन्डेड समूहको खोजीमा यसो एक–दुई ठाउँ चहा¥यौँ । एउटा समूहमा थरूनीहरूको भव्य नाचो गम्किरहेको थियो । त्यै समूहमा छिर्‍यौं । फेरि अर्काे निम्तो आयो । एउटा बठिन्या (थारु युवती) बहिनीले घरमै बनाएको भनेर एक–एक ग्लास आतिथ्य टक्र्याइन् । हामी पनि अब त रैथाने बनिसकेका थियौँ । अघिभन्दा अलि सहज बनेर त्यहाँ पनि तन्काइयो अनि नाच्न शुरु भयो । एउटी बहिनी मसँग नाच्न तम्सिइन् । मलाई निम्ता दिइन् । हेर्दा लाग्यो, यिनी राम्रो नाच्छिन् । आफ्नो त शरीरै यस्तो । के सक्छु त सहकार्य गर्न ? दुविधा हुँदाहुँदै पनि पुरुषचेत मनले स्वीका¥यो ।

लु न त ! फेरि नाचियो । त्यहाँ त एकसे एक कलाकार रहेछन् । खप्पिस प्रोफेसनल । सबै रमाइलोका बीचमा आधा घण्टा जति जानी–नजानी तीजका गीतमा कम्मर मर्काइयो । नाच्दानाच्दै झमक्कै साँझ प¥यो । जसरी पनि त्यही दिन दैलेख पुग्नु छ । झसंग भयौं । अब चलाउने पालो वसन्तको थियो । बाटोभरि तीज घन्किरह्यो । करिब ११ बजे दैलेखको पहिलो बजारमा पुगियो । नाम त बिर्सिएँ । त्यो ठाउँ ठ्याक्कै भेंडेटार हिलेजस्तो चिसो । आत्थु, चिसो पो भयो । निथ्रुक्कै भिजिएको छ ।

मैले भनेँ, “अब कतै पूरै नतातिए भोलि काम गर्न सकिँदैन वसन्तजी । त्यै भएर भात पकाउन लगाम् । एक–दुई गिलास बजाम् । लोकल कुखुराको मासु र बोडीको गेडाको दाल पकाउन लगाम् । रात आफ्नै हो । बिस्तारै छोटी कदममा हिँडम्ला हुन्न ?”

वसन्त रसिक छन् । उनले भने, “हो सर, त्यै गरम् ।”

यसरी रातको निस्तब्धतालाई चिर्दै करिब १२ बजे हामी दैलेख बजार पुग्यौं । अर्काे दिन झिसमिसे बिहानैदेखि दैलेख बजारलाई तीजले पूर्णतः छोपिसकेको थियो । बिहान चिया खान होटेलबाट तल झरेँ । मनमा केही जिज्ञासाहरू थिए । बाईसे–चौबीसे राज्यहरूमध्ये दैलेख ऐतिहासिक विशेषता बोकेको गढी । त्यहाँबाट बजार परिक्रमा गरी नजिकै रहेको बाईसे राजाहरूले शत्रूबाट बच्न निर्माण गरेको ऐतिहासिक गढीतर्फ लागेँ, इतिहासलाई आफूभित्र समाहित गरेर । प्रायः नेपालका अरू शहरहरूजस्तै त्यो ऐतिहासिक गढी पनि परित्यक्त र रुग्ण भग्नावशेष थियो । नजिकै पसलमा रहेका अधिकारीजीसँग त्यसको ऐतिहासिकता र त्यससँग जोडिएका थुप्रै कथाहरू सुनियो । पुर्खाको त्यो विरासत रुग्ण भएको देखेर मनमा खिन्नताबोध गर्दै फर्किएँ । होटेल फर्किएर खाना खाएपछि काममा लागियो र लगभग ३ बजेतिर काम सकियो । त्यसपछि अब बसौं कि फर्किहालौंको मानसिक द्वन्द्वमा फर्किने मनले जित्यो र त्यहाँबाट बसमा सुर्खेत हिँडेँ । बाईबाईको हात हल्लाउँदै मेरो एकदिने दैलेख बसाइ सकियो ।

३ बजे दैलेखबाट हिँडेको बस लगभग ६ बजेतिर सुर्खेत पुग्नै लाग्दा बिग्रियो । नजिकै गाउँमा तीज घन्किरहेको थियो । मादलुको तालमा दिदीबहिनीहरू हल्लिरहेका थिए । आज त तीज । ओहो, श्रीमतीलाई सम्झँे । हिँड्ने बेलामा सानो खटपट भएको थियो । त्यसैले अहिलेसम्म न उसले फोन गरेकी थिई, न मैले नै । आफ्नो धृष्टतासँग रिस उठ्यो । आज ऊ मेरा लागि व्रत बस्छे । म भने ? हैट, मेरो मानसिकताले मलाई धिक्कार्‍यो र हत्तपत्त फोन गरें । फोन लागेन । टेक्स्ट लेखेर तीजको शुभकामना व्यक्त गरेँ । श्रीमतीसँगको सहयात्राका २० वर्ष आँखाअगाडि नाचे । साँच्चै पुरुषले महिलाबिनाको संसार कल्पना गर्न पनि सक्दैन । तर, महिला पुरुषबिना पनि पूर्ण हुन सक्छन् भन्ने कुराको बोध भयो । त्यहीँ नजिकै गाडी बिग्रिएको ठाउँको गोठमा नगई नहुने वातावरण सिर्जना भयो ।

गाडी अब आज बन्दैन । सुर्खेतबाट लिएर आउनुपर्छ मिस्त्री । अर्काे कुरा असिन्धार ठूलो मुस्लेपानीले अट्टहास गरिरहेको छ । तीजका व्रतालु महिलाहरूको खुशीमा एक प्रकारको दिग्दारी थप्दैछ पानीले । गोठ र पसलका कोठामा आँगनको तीज कैद भएको छ । तर, महिला दिदीबहिनीको लगाव र स्फूर्तिमा कतै कमी छैन । म पनि आज रातभरि त्यही पसलमा बस्ने भएँ, तीजको नाच हेर्दै । या त दैलेखबाट आउँदै गरेको कुनै ट्रयाक्टर वा ट्रक पाए सुर्खेत जाउँला भनी मनलाई थान्को लगाएँ । अन्यमनस्क र किंकर्तव्यविमूढ भएर यसै च्याँपु अड्याउँदै नाच हेरिरहेको थिएँ । त्यहाँ भीडभन्दा पृथक् दुई–चार जना अरू महिला पनि रहेछन् । बुझ्दै जाँदा त्यहाँका आदिवासी राउटेनीहरू । राउटेबारे बाल्यकालमा थुप्रै तिलस्मी कथा सुनेको थिएँ । आमाले राउटेसँग किनेका कोसी घरमा थिए । म ५–७ वर्षको बच्चा हुँदा घरमा आएका राउटेहरूको स्मृतिलाई पुनः रोमाञ्चक भएर स्मरण गरेँ । त्यो बेला आमा भन्नुहुन्थ्यो, “राउटेले छोपेर जंगलमा लैजान्छन्, जादुटोना पनि जानेका हुन्छन्, त्यसैले राउटेसँग नबाझ्नू, यिनीहरू जंगलका राजा हुन् ।”

मैले राउटे पुरुष देखेको थिएँ तर महिला देखेको थिइनँ । म थोरै रोमाञ्चित, थोरै अचम्भित बनेँ र राउटेनीहरूलाई नियाल्न थालेँ ।

सर्लक्क परेको छरितो जिउडालमा उपभोक्ता संस्कृतिको प्रभाव र सांस्कृतिक समन्वयको अन्तर्घुलनबाट गुज्रिरहेका राउटे महिलाहरूलाई नियालेँ । ती महिलाहरू अरूभन्दा पृथक् छन् । घाँटीमा पैसाको माला, अनुहारमा लिपिस्टिक, हातमा चुरा, घलेक ओढेका । त्यसमध्ये एउटी राउटेनीले मलाई निकै हेरिन् । मैले पनि पाएको मौका किन गुमाउँथेँ ? मजैले धृष्ट बनेर हेरेँ । हेर्दाहेर्दै मलाई ती राउटेनी बिछट्टै राम्री लागिन्– सहज र प्राकृत । कुपोषण र सानैमा धेरै बच्चा पाएकाले होला, उमेरभन्दा चाँडै बूढी देखिएकी । सेता, सफा र चम्किला दाँत । मलाई आँखाभरि हेरिन् । मैले पनि आँखाभरि हेरेँ । प्रणयको भाषा बुझ्न भाषा नै चाहिन्छ भन्ने कुरा पनि कहाँ रह्यो र ? अनि मलाई हेर्दै आफ्नो एउटा खुट्टाको बूढीऔंलाले भुँइ कोट्याउन थालिन् ।

“के पक्का यी राउटेनीले मलाई नै हेरेकी हुन् त ?” मैले आफैंलाई सोधें । 

म उनीतर्फ आकर्षित भई नै रहेँ । उनको बोली कस्तो होला ? बोल्न पाए ? मनमा एउटा भावना आयो ।

परिस्थितिलाई आफूअनुकूल बनाउन सकेजति आफूलाई ग्रामीण बनाउने कोसिसमा लागेँ म । मादल बजाइरहेको भाइसँग मागेर मादल बजाउने विचार गरेँ । बिर्सिएको रहेनछु, ठीकै बजाउँदै गएँ । मादल बजाउन लागेको केहीबेरमै म त्यहाँ गाउँले र रैथाने बनेँ । रात छिप्पिँदै थियो । बसका करिब १२–१३ जना हामी त्यही पसलमा रातलाई छिप्याइरहेका थियौं ।

मादल बजाउनुको मुख्य अभीष्ट नै राउटेनीलाई सकेजति सहज र सरल एवं वैधानिक बनेर हेर्नु थियो । बजाउँदै गएँ, हेर्दै गएँ । राउटेनी पनि नाच्न खप्पिस भइसकेका रहेछन् । एउटीको पालो आयो अनि अर्कीको । अनि मैले हेर्दै गरेकीको पालो । झन्झन् जोडले मादल बजाएँ । मेरो लुगाबाट उनले आँकलन गरिन् होला– बजारको मान्छे हो । उमेर आँकलन गरिन् होला–मजस्तै अधबैंसे रहेछ । यसपटक उनले हामी दुवैले एक–अर्कालाई नजिकबाट नियाल्यौं ।

नाच्दै जाने प्रसंगमा ती राउटेनीले मतिर इशारा गरिन् । प्रष्ट थियो– मलाई नाच्न लगाउने षडयन्त्र रचिँदै थियो । पुरुषचेत मन, त्यसमाथि मेरो कल्पनाभन्दा बाहिर । कोही एक विशेष महिलाले मलाई नाच्न अनुरोध गरिन् । भाषा बुझिनँ तर इशाराबाट बुझिन्थ्यो । म उनीसँगै केही बेर मजैले नाचेँ । अर्कै अनुभूति भयो । थोरै रोमाञ्चक, थोरै अपराधबोध, थोरै एड्भेन्चरस । नाच्दानाच्दै ट्रकको हर्न सुनियो । दौडिएर जाऊँ भन्ने एउटा सोच आयो । अर्काे सोचले भन्यो– फेरि जीवनमा राउटेनी, त्यो पनि आफूलाई हेर्ने राउटेनी भेटिँदैन, यो सान्निध्यता र तादात्म्यता पाइँदैन ।

म उठ्न लागेको देखेर राउटेनीको मुखमा प्रष्ट बेखुशी झल्कियो । उनको कामना थियो– बसोस्, मलाई हेरोस् र म पनि उसलाई हेरूँ । तर, वयस्क भइसकेको मेरो मनले भन्यो– ‘हैन, तँ उठ् । अब जा ट्रकमा सुर्खेत ।

एकछिन ट्रकलाई रोकाएर फेरि आधा घण्टाजति म ती राउटेनीसँग ‘तीजको रहर आयो बरिलै’मा मर्किइरहेँ ।

हो, प्रणयको भाषा हुँदैन, प्रणयको सीमा हुँदैन, प्रणयको पर्खाल हुँदैन, प्रणय केवल प्रसारणमात्र हुन्छ । ट्रक ड्राइभरले ‘सर, ल अब जानुपर्छ’ भनेपछि एकपटक पुनः मैले ती राउटेनी महिलालाई हेरेँ । उनका आँखामा आँसु थियो । म महसुस गर्न सक्थेँ, ती आँसु । तर, हामीबीचमा हेर्नुबाहेक एक शब्दको पनि व्यक्त अभिव्यक्ति प्रसारण भएको थिएन । हिँड्नै लाग्दा उनी झ्वाट्ट अगाडि आइन् र एउटा रुमाल दिइन्, केही बोलिनन् । मैले पनि त्यो रुमाल लिएँ । मन कतै चसक्क भयो । भावना त आखिर भावना नै हो अनि संवेद्यता पनि संवेद्यता । गह्रौँ मन बनाएर म ट्रक चढेँ । ती राउटेनी विस्फारित नेत्रले मलाई नै हेरिरहेकी थिइन् । यतिखेरसम्म कसैलाई थाहा थिएन, म र राउटेनीबीचको आँखाको संवाद । सहयात्री एक जनाले भने आँकलन गरेका रहेछन् । ट्रकमा बसिसकेपछि भने, “सरलाई त राउटेनीले खुबै मन पराइन् ।” 

म निरुत्तर थिएँ । बाटाभरि तिनै राउटेनीको आकृति र ती तीन–चार घण्टा मेरा आँखाअगाडि आइरहे । मेरो फेरि उनीसँग अर्काे पटक भेट हुनेछैन तर पनि त्यो तीन–चार घण्टामा जीवनको एउटा छुट्टै भोगाइ भोगेँ मैले र शायद तिनले पनि । शायद जीवन एक नियमित आकस्मिकता भएर त होला, यस्ता क्षणहरू कहिलेकाहीँ मानवीय जीवनमा आउँदा रहेछन्, जसलाई कहिल्यै पनि स्मृतिबाट हटाउन वा मेटाउन सकिँदैन र जीवन्त बन्छन् । आखिर सम्बन्धको प्रसारण न हो आँखा, अभिव्यक्तिको स्वर न हो आँखा, स्मृतिको क्यानभास न हो आँखा । अनिँदो पहाडसँगै त्यो रातको निस्तब्धतामा ट्रकभित्र बसेर तिनै राउटेनीलाई आँखाभरि सम्झिरहेँ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ३१, २०७४  ०९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC