काठमाडौं । राष्ट्रिय टिम छनोटका रुपमा समेत रहेको आठौं अम्बिकाबहादुर क्षेत्री स्मृति खुला जुडो प्रतियोगितामा शनिबार तीन खेलाडीले राष्ट्रिय टिममा स्थान बनाउन सफल भएका छन् ।
पहिलो दिन पुरुष÷महिलामा समान ४–४ गरी ८ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । राष्ट्रिय टिममा पर्न सफल तीनै खेलाडी महिला हुन् । पुरुषमा भने पुरानै अनुहारले निरन्तरता पाए ।
महिलाको ४८ केजीमुनि त्रिभूवन आर्मी क्लबकी सुमित्रा राई, ७० केजीमुनि १३ औं दक्षिण एसियाली खेलकुद (साग) की कांस्य विजेता गंगा चौधरी र ७८ केजीमाथि आर्मीकी आकृति जोशीले राष्ट्रिय टिममा स्थान बनाए ।
फाइनलमा सुमित्राले आफ्नै क्लबकी सुस्मिता लवतलाई पराजित गरिन् । यो तौलसमूहमा यसअघि नेपाल प्रहरी क्लबकी सरिता चौधरी राष्ट्रिय टिममा थिइन् । सरिता प्रतियोगितामा सहभागी भइनन् । गंगाले सीतु बोर्डिङ स्कुलकी मग्नोलिया श्रेष्ठलाई फाइनलमा हराइन् । राष्ट्रिय टिममा रहेकी न्यु होराइजन क्लबकी सुनीता मगर ताम्राकार शीर्ष तीन स्थानमै अटाइनन् । त्यस्तै आकृतिले राष्ट्रिय टिममा रहेकी कञ्चनपुरकी सुनीता बोहराको चुनौती समाप्त पारिन् ।
स्व. अम्बिकाबहादुरका परिवारको प्रायोजनमा नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको महिला ५७ केजीमुनि १३ औं सागकी रजत विजेता आर्मीकी मनीता श्रेष्ठ प्रधान पहिलो भइन् । मनीताले फाइनलमा नेपाल एपीएफ क्लबकी देवीका खड्कालाई पाखा लगाइन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको पुरुषको ५५ केजीमुनि बन्दी सहायता नियोग (पाम) का रोशनबहादुर दोङ पहिलो भए । उनले फाइनलमा ओसिडका हरिराम चौधरीलाई निराश पारे । ६६ केजीमुनि १३ औं सागका कांस्य विजेता पामका इन्द्रबहादुर श्रेष्ठ पहिलो भए । उनले फाइनलमा रसुवाका सुनील नगरकोटीलाई पन्छाए ।
पुरुष ८१ केजीमुनि केन्द्रीय जुडो डोजोका मोहन सुनुवारले शीर्ष स्थान हात पारे । मोहनले निर्णायक भिडन्तमा प्रहरीका मनीष महतोमाथि जित रचे । १०० केजीमुनि प्रहरीका रविन श्रेष्ठले फाइनलमा आर्मीका शिवबहादुर बरामलाई पाखा लगाउदै पहिलो स्थान हात पारे ।
पुरुषको ५५ केजीमुनि बाहेक सबै स्पर्धामा पहिलो हुने खेलाडीले राष्ट्रिय टिममा स्थान बनाउने प्रावधान छ । पुरुष ५५ केजीमुनिको तौल राष्ट्रिय टिम तयारीमा राखिएको छैन । महिलाको ४४ केजीमुनि तौलसमूह पनि राष्ट्रिय टिम तयारीमा समावेश छैन ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताअन्तर्गत १६ स्पर्धामा विभिन्न २३ टिमका १ सय ४० खेलाडी सहभागी छन् । पुरुष÷महिलामा समान ८–८ स्पर्धा समावेश छन् । अन्तिम दिन आइतबार पुरुष÷महिलामा समान ४–४ स्पर्धामा भिडन्त हुनेछ ।