राप्रपा अध्यक्ष कमल थापाले पार्टीमा रिक्त ४२ केन्द्रीय सदस्य मनोनित गरेपछि राप्रपामा अर्को विवाद देखिएको छ । राप्रपाका वरिष्ठ नेता पशुपतिशमशेर राणाले सार्वजनिक विज्ञप्ति नै जारी गरेर यो निर्णयको ठाडै विरोध गरेका छन् ।
उनको उक्त विज्ञप्तिपछि अध्यक्ष थापाले सम्हाल्न नसके राप्रपा फुटको संघारमा पुग्न सक्ने आँकलन गरिएको छ ।
तर राप्रपा महामन्त्री राजेन्द्र लिङ्देन यो कुरालाई अस्वीकार गर्छन् । झापा गृहजिल्ला भएका लिङ्देनले आफ्नै जिल्लामा तीनवटा तह जिताएर राप्रपाको इज्जत नै जोगाइदिएका छन् ।
प्रस्तुत छ, राप्रपामा देखिएको विवाद, राप्रपाको सिद्धान्त, संविधान संशोधन, सरकारमा सहभागी लगायतका विषयमा राप्रपा महामन्त्री लिङ्देनसँग बाह्रखरीका लागि गरिएको कुराकानीः
राप्रपामा विवाद बढेको छ । फेरि पनि फुटकै संघारमा पुगेको हो ?
सवै समस्या समाधान भएर जान्छन् । फुटसम्म जाने विवाद पनि होइन । जीवन्त पार्टीमा सामान्य समस्या आइरहन्छ । यो छिटै समाधान हुन्छ ।
पशुपति शमशेर राणाले जारी गरेको विज्ञप्तिअनुसार त पार्टी अब धेरैसमय सँगै जान नसक्ने अवस्था देखिन्छ नि ?
उहाँसँग छलफल पनि भएको छ । उहाँको सल्लाह र सुझाव पनि लिएकै छौं । पूर्व राप्रपा र राप्रपा नेपालका रुपमा अब यो पार्टीलाई हेर्नुभएन । केन्द्रीय सदस्य नियुक्ति पनि एकपक्षीय गरियो भन्ने देखिन्नँ । उहाँका केही विषय रहेछ भने पार्टीले सम्बोधन गर्छ ।
तर कमल थापाले एकलौटी गरेको त हो नि ?
पार्टीका वरिष्ठ नेताको पनि सल्लाह र सुझाव हो । सबैलाई समेटेरै अघि बढेका छौं । तर पनि केही समस्या रहेछ भने फेरि पनि छलफल हुन्छ । कोही छुट्नुभएको रहेछ भने सल्लाह गर्न सकिन्छ । यसलाई एकलौटी निर्णय भन्न मिल्दैन ।
कमल थापाले पार्टीको नेतृत्व लिइसकेपछि पूराना राप्रपाका केही नेताहरु अहिले पनि असन्तुष्ट हुनुहुन्छ, किन ?
डा. प्रकाशचन्द्र लोहनी किन असन्तुष्ट हुनुभयो थाहा छैन । महाधिवेशनपछिको बैठकमा पनि उहाँ उपस्थित हुनुहुन्थ्यो । त्यो बीचमा विवादको कुनै इस्यु पनि आएको छैन ।
चुनाव चिन्हको विषय उहाँले उठाउनुभएको छ । केन्द्रीय समितिले निर्णय गर्ने भनेर महाधिवेशनले भनेको थियो । त्यहाँ सर्वसम्मत रुपमा निर्णय भएको हो । उहाँले त्यो विषय बैठकमा पनि उठाउनुभएन । सर्वसम्मतिले निर्णय भएको हो । अरु वरिष्ठ नेताहरुमा कुनै पनि प्रकारका असन्तुष्टि छैन । बाहिर हल्ला भएजस्तो राप्रपामा विवाद छैन ।
कमल थापाको कार्यशैलीमै समस्या छ भन्छन् नि ?
त्यो अनर्गल कुरा हो । त्यस्तो केही छैन । उहाँले सबैलाई मिलाएर लैजाने प्रयासमा हुनुुहुन्छ ।
एकतापछि बलियो हुुनुपर्नेमा राप्रपा झनै कमजोर भयो किन ? हलो चिन्ह राखेको भए वलियो हुन्थ्यो कि ?
गाई चिन्ह लिएरै झापाबाट तीनवटा गाउँपालिका जिताएर म यहाँ आएको छु । निर्वाचन आयोगको अकर्मन्यताका कारण पनि केही समस्या भयो । दल नै दर्ता नभएको पार्टीको चुनाव चिन्ह गाईजस्तै देखिने गरी जोडा गोरु पनि चुनाव चिन्ह प्रदान गरियो । यसले गर्दा पनि केही समस्या देखियो । त्यही कारणले नै सबै समस्या आयो भन्न मिल्दैन ।
आउने निर्वाचनमा जोडा गोरु नरहेपछि हामी थप वलियो हुन्छौं । गाईले नै समस्या ल्याएको हो भने पनि छलफल हुन सक्छ । मयुर, हाँस जे राखे पनि हुन्छ । यो विषयमा पार्टीले निर्णय लिन पनि सक्छ । चुनाव चिन्हकै कारणले हारजित भएको होइन ।
एकतापछि जसरी संगठन निर्माणमा लाग्नुपर्ने थियो त्यसरी नलाग्दा हारको मार खेप्नुपरेको हो । एकतापछि वलियो राष्ट्रवादी शक्तिको रुपमा उदाउँदै थियो । त्यसको मुल नेतृत्वलाई कमजोर बनाउने षडयन्त्र हुँदाहुँदै समयमा प्रतिरोध गर्न सकेनौं ।
अबको निर्वाचनमा सुधार होला त ?
हुन्छ किन नहुनु ।
तर मत राप्रपालाई नभई उमेदवारलाई परेको देखियो । झापा र नेपालगञ्जकै उदाहरण दिएर हेर्दा राप्रपालाई नभएर उमेदावरलाई दिएको देखिन्छ नि त ?
झापामा केपी ओली, कृष्ण सिटौला लगायतका नेताहरुसँग प्रतिष्पर्धा गरेरै जितेका हौं । जहाँ हामीले संगठन सुधार गरेका छौं । त्यहाँ जित हासिल गरेका छौं ।
राप्रपा सिद्धान्तमा विचलित भएको हो कि होइन ?
होइन, विचलित भएका छैनौं । यस्ता भ्रमहरु हामीले समयमा चिर्न सकेनौं । संवैधानिक राजसंस्था र सनातन हिन्दुधर्म छाड्यो भन्ने कुप्रचार भयो । त्यसलाई समयमा चिर्न सकेनौं । राजासहितको प्रजातन्त्र, सर्वधर्म समभाव, सनातन हिन्दु धर्मबाट राप्रपा पछि हटेको छैन ।
तर तपाइँहरुकै पार्टी पूर्वराजाले फुटाउन लागे भन्ने समाचार आइरहेका छन्, राप्रपा फुटाउन पूर्वराजा लागिपरेका हुन् ?
यो गलत प्रचार हो । पूर्वराजाबाट राप्रपा फुटाउने प्रयास भएको छैन । हामीले पनि राजासहितको प्रजातन्त्र छाडेका छैनौं । एउटा जीवन्त पार्टीमा के दृष्टिकोण बनाउने भन्ने छलफल हुनु स्वभाविक हो ।
तर राप्रपाका ३७ जना सांसदहरु पनि मुल मुद्दामा एकैठाउँमा उभिन किन सक्दैनन् त ?
त्यो गलत कुरा हो । संविधान संशोधनको बेला कुरा गर्नुभएको होला । निर्णयार्थ पेस होस् । त्यसबेला हाम्रो सांसद अनुपस्थित रहे भनेमात्रै भन्न सकिन्छ । कुनै सांसद बैठकमा विभिन्न कारणले आइपुगेको हुँदैन त्यसैलाई आधार मान्न त भएन नि । त्यसबेला फ्लोर क्रस भयो भने मात्रै कुरा हुन्छ । अहिले नै हुन्छ भन्नु गलत हो ।
राप्रपा सत्तापक्ष कि प्रतिपक्ष ?
यो सरकार निर्माण गर्ने क्रममा हामीले पार्टी एकतालाई ध्यानमा राखेर पार्टी नेता पशुपति शमशेर राणाको प्रस्तावअनुसार नै यो सरकारलाई समर्थन गर्ने निर्णय भएको हो ।
तर प्रतिपक्षसँग तपाइँहरुका धेरै कुरा मिल्छ त ?
होइन । त्यसरी मिलेको छैन ।
संविधान संशोधनमा तपाइँहरु एमालेसँग नजिक होइन त ?
हामीले संविधान संशोधनमा कुनै पनि दल बाहिर नहोस् भन्ने चाहन्छौं । सकेसम्म सबै राजनीतिक शक्तिहरु सहमतिमा आएर निकास दिने काम गर्नुपर्छ ।
एमाले आएन भने पक्षमा उभिनुहन्न ?
के गर्ने भनेर हाम्रो केन्द्रीय समितिले छिटै निर्णय गर्नेछ ।
सरकार गठन भएको डेढमहिना भैसक्यो । राप्रपा अझै सहभागी भएको छैन, किन ?
सरकारमा जाने हाम्रो प्राथमिकताको विषय थिएन । हामीलाई औचारिक रुपमा आमन्त्रण पनि आएको छैन । पार्टी नेता पशुपति शमशेर राणाले समर्थन गरेर जानुपर्छ भनेपछि हामीले निर्णय गरेका हौं ।
तपाईँले अघि पनि सिद्धान्तमा विचलित भएका छैनौं भन्नुभयो । अझै पनि नेपालमा राजतन्त्रको सम्भावना देख्नुहुन्छ ?
त्यो हाम्रो मान्यताको कुरा हो । नेपालजस्तो विविधतायुक्त, बहुजाती, बहुभाषिक मुुलुकमा निर्वाचनभन्दा माथिको एउटा संस्था होस् भन्ने चाहन्छौं । जसले देशलाई जोड्न सकोस् । त्यो संस्था नहुँदा मुलुक कमजोर हुँदै गएको छ । नजानिँदो ढंगले राष्ट्रियता कमजोर भएको छ । सानो रुपमा भए पनि विखण्डनका कुरा उठ्न थालेका छन् । त्यसैले पनि नेपाली जनताले यो विषय स्वीकार्छन् भन्ने हामीलाई लागेको छ ।