काठमाडौं । ललितपुर प्रहरीले अनलाइनमार्फत विद्युतीय सामान बिक्री गर्ने भन्दै ठगी गर्नेलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
आइतबार महानगरीय प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरी ठगीमा संलग्न दुईजनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा पर्साको पकाहामैनपुरका प्रमोद साह र पर्साको बहुदरमाइका मेवालाल साह रहेका छन् ।
पक्राउ परेका दुवैले फेसबुक र ह्वाट्सएपमा कम्प्युटर, मोबाइल, घडी, ल्यापटपजस्ता सामान बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउने भन्दै विज्ञापन गर्ने, सम्पर्कमा आएका खरिदकर्तालाई पैसा डिपोजिट गर्न लगाउने तर सामान नदिई ठगी गर्ने गरेका थिए । यसबाट ठगिएका प्रविनप्रसाद साहको जाहेरीका आधारमा प्रमोदलाई पर्साबाट र मेवालाललाई काठमाडौंबाट पक्राउ गरेको प्रहरीले बताएको छ ।
पत्रकार सम्मेलनमा प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले पक्राउ परेका व्यक्तिको गिरोहले दर्जन बढी व्यक्तिहरुसँग एक करोड रुपैयाँ बढी ठगी गरेको अनुसन्धानमा खुलेको बताइन् । अनुसन्धान बाँकी नै रहेकोले ठगिएका व्यक्ति अझै बढी हुन सक्ने उनले उल्लेख गरिन् ।
प्रतीकात्मक तस्बिर ।