site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कमलावती–चन्द्रावती
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

यौटा नेपाली डिपार्टमेन्ट स्टोरमा जागिरे थिई कमलावती । पहिलेको किराना पसल अब डिपार्टमेन्ट स्टोर भएको थियो । जहाँ मान्छेका दैनिक आवश्यकताका सबै चिजहरू पाइन्थ्यो । अर्थात् दाल, चामल, तेल र चिनीदेखि लिएर मट्टितेल, सियो–धागोका साथै गुलाफ र प्यान्थर पनि पाइन्थ्यो । अनि, यी सबै चिजहरू बिक्री जिम्मा कमलावतीको थियो । उसको ड्युटी पनि गजबकै थियो अर्थात् बिहान ८ः०० बजेदेखि बेलुकी कति बेलासम्म हो– निश्चित थिएन । ऊ एक्लै डेरा लिएर काठमाडौं बसेकी पनि ५ वर्ष पुगेर ६ लागिसकेको थियो । यसैले यौटा अनिश्चित समय, अनिश्चित जिन्दगी लिएर बाँच्नु उसको बाध्यता थियो । बाध्यता मात्र होइन, विवशता पनि थियो । जुन बाध्यता र विवशतालाई भित्रभित्रै दबाएर मुस्कानसहित उसले सोध्नुपरथ्यो– यहाँलाई के टक्र्याऊँ... । 

कुनै साथीको माध्यमले महिनाको ७/८ सय मात्रको जागिरमा अल्झन परे पनि कमलावती खुसी थिई । जुन सहरमा, जुन देशमा जागिर पाउनु हीरा–मोती नै पाउनुझैँ हुन्छ, कमलावतीका लागि सानु जागिर पनि हीरा–मोतीझैँ मूल्यवान थियो । बिहान उठेदेखि नै अफिस जाने तयारीमा ऊ हुन्थी । बल्लबल्ल भेटेको जागिर गुम्यो भने ? गुम्यो भने पछिका शब्दहरू ऊ सोच्तिन थिई । किनभने, त्यसरी सोच्ता फेरि सोच्नपर्ने चिजहरू धेरै हुन्छन् । ती विगतका पनि हुन सक्छन्, वर्तमानका र अनि भविष्यका समेत । 

कुनै फुर्सदको क्षणमा कमलावतीले सोचेकी थिई– उसको कुनै विगत छैन, कुनै वर्तमान छैन र भविष्य पनि छैन । भविष्यको कुराले ऊ गम्भीर हुन्थी र धेरै बेर टोलाइरहन्थी । ऊ भर्खरै २२ पुगेर २३ लागेकी थिई र अझ धेरै लामा वर्षहरू ऊसँग बाँकी थिए । ती लामा वर्षहरूमा उसका केही सपनाहरू पनि बाँकी थिए । सपना देख्नु नै कुनै अपराध होइन, ऊ बरोबर सोच्तथी । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

एक–डेढ महिना पसल राम्रोसँग चलिरहेको थियो र उसको गुजारा पनि भइनै रहेको थियो । एक साँझ पसलको साहुसँग उसको जम्काभेट भएको थियो । अहिलेसम्म उसको भेट नै कहाँ भएको थियो र ! यो पसल मात्र होइन, साहुको गार्मेन्ट र कार्पेट उद्योग पनि छ भन्ने कमलावतीले सुनेकी थिई । यसकै आधारमा साहुको यौटा अस्पष्ट चित्र पनि कमलावतीले कोरेकी थिई । अधबैंसे उमेरको, तिल–चामले कपाल, अलि अग्लो र गम्भीर व्यक्तित्व साहुको होला भन्ने कमलावतीको सोचाइ एकैछिनमा समाप्त भएको थियो । उसको अगाडि २७/२८ को, जुँगाको रेखी पनि पूरा बसीनसकेको, चुल्बुले आँखाहरू लिएको जवान व्यक्ति साहुका रूपमा उभिएर कमलावतीलाई सोधिरहेको थियो– “नयाँ काम गर्ने केटी तिमी नै हौ ?”

अनि साहुले उसको खुट्टादेखि टाउकोसम्म एकनास हेरेको थियो । उसका आँखाहरूमा आफ्ना सेक्सी आँखाहरू जुधाउन खोजेको थियो । उसले जवाफ दिन नपाउँदै मुस्कानसहित भनेको थियो– “तिमी राम्ररी इमानदारीसाथ काम गर्दै छौ भन्ने मैले सुनेको छु । यस्ता व्यक्तिहरूको मबाट सधैँ कदर हुन्छ । तिम्रो तलब कति छ ?... ए मैले भुले । त्यही सात सय होइन । ल अहिलेको जमानामा जाबो सात सयले केही पुग्छ । म तिमीलाई हजार गरिदिउँला– यौटो सिङ्गो हात्ती ।” 

Royal Enfield Island Ad

हो र ? कमलावतीका आँखामा अविश्वास थिए । उसले अनुभव गरेकी थिई– यस्ता कुराहरूको कुनै अर्थ छैन । यी क्षणिक आवेशका आवाजहरू हुन्, जसको कुनै मूल्य छैन । उसका आँखामा चितौनका थुप्रै हात्तीहरू आए । जुन हात्तीहरूका छेउछाउ उसको बाल्यकाल बितेको थियो । 

‘यहाँलाई धन्यवाद’ मात्र भनेर आफ्नो डेरामा पुगेर ऊ सोचिरहेकी थिई – काम गरेको ४५ दिन पनि नपुग्दै तीन सय तलब के कसैले बढाइदेला ? के साहुहरू यति उदार हुन्छन् ? 

फेरि ऊ आफ्नो विगततिर फर्केकी थिई– जहाँ सानै उमेरमा आमा र बालाई केही दिनको फरकमा गुमाउनुपरेको सत्यता उसभित्र थियो । सानैदेखि अर्काको घरमा भात भान्सा र घर व्यवहारभित्र बाल्यकाल बिताउनुपरेको तिक्तता पनि उसभित्र थियो । टाढाको नाता पर्ने दिदीले तरुनी हुन थालेदेखि नै तँलाई बम्बै लगिदिन्छु, सुखसँग दिन काटी रानी भई बस्लिस् भनेको सपना पनि ऊभित्र थियो । तिनै दिदीको लोग्नेले बेलाबखत जहाँ भेटे पनि जिस्क्याउने, बाटो छेकेर जान नदिने विवशता पनि ऊभित्र थियो । आफ्नो शरीरको नाङ्गोपनलाई एकाकी हेरेर सोच्न बाध्य भएको इतिहास पनि कमलावतीसँग थियो । अर्थात् छातीका भागहरू किन क्रमशः उठ्न लागेका छन् ? आँखाभित्र यौटा माछा किन सल्बलाउन लागेको छ ? शरीरभित्र र बाहिर कहीँ कतै किन करेन्ट लागेजस्तो भइरहन्छ आदि आदि । जसलाई आफूले चाहेर पनि उसले रोक्न सकिरहेकी थिइन । 

यौटा हुस्सु लागेको बिहान– उसले जागिर खाएको पसल बन्द थियो । ९ बजेसम्म पर्खंदा पनि खुलेको थिएन । पसल बाहिरबाट उसको युवा साहुको लास गइरहेको थियो र त्यही पसलको पेटीमा बसेर कमलावती सोच्न बाध्य थिई– उसकै कारणले यौटा मोटरसाइकल दुर्घटनामा त्यस साहुको गएराति अचानक मृत्यु भएको थियो । साहुको युवा श्रीमतीको सिउँदो पुछिएको थियो र स–साना छोराछोरीको भविष्यमा प्रश्नचिह्न लागेको थियो । 

फेरि कमलावती सडकमा थिई– एक्लै भौँतारिरहेकी । जिन्दगीको अर्को मोडमा कुनै सानोतिनो जागिरका लागि दौडिरहेकी । सडकमा मात्र होइन, ऊ साँगुरा गल्लीहरूभित्र थिई । कुनै साप्ताहिक पत्रिकामा काम पाएकी थिई– ग्राहकहरूको नाम लेख्ने । वास्तवमा ती स्वेच्छाले ग्राहक बनेका थिएनन्, जबरजस्ती तिनलाई पत्रिका पठाइन्थ्यो र पछि शुल्क लिइने गरिन्थ्यो । पत्रिका पनि एक किसिमको ठेक्कामा दिइएको थियो । कम्पोजिटहरू आफूलाई मन लागेका गोरखापत्रका न्युजहरू कम्पोज गर्थे र त्यसमा छाप्थे । त्यो पनि एउटा पत्रिकालाई होइन, त्यस प्रेसबाट छापिने २/३ पत्रिकाका लागि । अर्थात् नाम मात्र फरक गरी पत्रिका त्यहाँबाट निस्कन्थ्यो, समाचारहरू उही हुन्थे । आफ्नो नामसमेत शुद्ध लेख्न नजाने पनि सम्पादकसँग भारतबाट ल्याएको कुनै स्नातकको नक्कली प्रमाणपत्र थियो । सम्पादक खबर खोज्न र लेख्नभन्दा बढी तरुनी ठिटीहरू र मन्त्रीका पछि धाउँथ्यो । सम्पादकजीले पत्रिका निस्केको साँझ स–सानो पार्टी गर्नुहुन्थ्यो । १/२ पेग खुकुरी रम दिएर उहाँ कराउनुहुन्थ्यो– यो देश मेरो पत्रिकाले थामेको छ । अन्यथा उहिले कहाँ पुगिसक्थ्यो । नेपालमा प्रजातन्त्र ल्याउने पत्रिका नै मेरो हो । अन्यथा नेपालीहरूले अर्को एक सय वर्ष बास बस्नुपर्थ्यो । कमलावती यस्तो पार्टीमा बस्न बाध्य हुन्थी । जागिरका लागि ऊ बियर खान पनि बाध्य हुन्थी । थोरै बियर पनि उसलाई लाग्थ्यो र डेरासम्म हिँडेर पुग्न गाहारो हुन्थ्यो । 

पत्रिकाबाट तलब लिनु भन्ने कुरा हास्यास्पद थियो । प्रत्येकपटक पैसा चाहियो भन्दा ऊ २० रुपैयाँ पाउँथी, न त्यसभन्दा बढी, न घटी । अनि, त्यो बीस रुपैयाँ यताउति बस चढ्दा र चिया खाँदै सिद्धिन्थ्यो । प्रत्येक महिनाको १ गते घरपट्टि भाडा लिन धाउँदा रुपैयाँको सट्टामा ऊ मुस्काउँथी । त्यो रहरको मुस्कान थिएन, गरिबी र बाध्यताको ओठ खुलाइ थियो । घरपट्टि साहुभन्दा साहुनी मापाकी थिई– यस्ता नक्कली आइमाईलाई सित्तैमा बस्न दिन यो घर बनाएको होइन ? अहिल्यै कोठा छाड् । होइन भने सारा हाँडी चिन्डी सडकमा निकालिदिन्छु । 

कमलावतीसँग यसको जवाफ थिएन । भाडा तिर्न नसक्नु कमलावतीको कमजोरी थियो, बाध्यता र हीनताबोध थियो । कमलावती यसरी पनि परिस्थितिसित सङ्घर्ष गरिरहेकी थिई, यौटा लडाइँ लडिरहेकी थिई आफैंसित । र, त्यो लडाइँ पनि समाप्त भयो– पत्रिका बन्द हुनुसँगै । यौटा घाम लागेको बिहान उसले खबर पाई– पत्रिका अब ननिस्कने भयो । पत्रिकाको सारा पैसा जम्मा गरेर सम्पादक गार्मेन्ट फ्याक्ट्री खोल्ने तयारीमा हुनुहुन्छ भन्ने पनि उसले सुनी । ३÷४ महिना मरिमेटी काम गरेको कुनै हिसाब कमलावतीको थिएन र त्यो खोज्नु पनि व्यर्थ थियो ।

फेरि कमलावतीको मनको पुल भत्केको थियो । उसको विश्वासको आकाश हराएको थियो । सहरमा थुप्रै अनुहारहरूबीच ऊ एक्ली थिई, शून्य थिई । धेरै ठूलो सोर्स लगाएर गएका ठाउँहरूमा उसले सुन्नुपर्थ्यो– तिमी एसएलसीसम्म पनि पास छैनौ । तिमीलाई कम्प्युटरसम्म पनि आउँदैन भने तिमी के जागिर खान्छौ ?... । भन्नेहरूलाई के थाहा ? कुन जङ्गलबाट ऊ आएकी थिई । कुन खोलाको लहरले उसलाई सहर भनिने यस सिमेन्टको जङ्गलमा ल्याएर फ्याँकेको थियो ।

केटा–केटी उमेरको अबोध मनमा श्री स्वस्थानी व्रतकथा गाउँघरमा कमलावतीले सुनेकी थिई । स्वस्थानी व्रतकथाकी चन्द्रावती आफूमा साटिएको अनुभूति कमलावतीलाई भइरहेथ्यो । चन्द्रावतीका यी वृतान्तहरूले कमलावतीलाई एकनास झस्काइरहेथ्यो– “शालीनदीमा आएर तर्न लाग्दा अकस्मात् चँदुवा टाँगेजस्तो मेघ उठी, हुरी चली ठूलो पानी प¥यो । हावाले गर्दा म डोलीबाट खसेर शालीनदीमा माझमा परेँ । .... म यस्तै हुँ भन्ने कुराको ज्ञान पनि भएन र हलचल गर्न नसकी जहाँको तहीँ नदीकै तीरमा पडिरहेँ ।”

त्यो शालीनदी अहिले यो पीडादायक सहरमा परिणत भएको थियो र कमलावती साँच्चै नै चन्द्रावती भएकी थिई । उसका दुःखका दिनहरू समाप्त भएका थिएनन् । कमलावती शालीनदीको किनारामा थिई– सारा इच्छा र आकांक्षालाई समाप्त गरेर बाँच्नुको नाममा बाँच्नु, हाँस्नुको नाममा हाँस्नु भएर । डेराको भाडा हरेक महिना बढ्दै थियो । अब मुस्कानले पनि अर्थ गुमाउन लागेको थियो । हरेक बिहान साहु र बेलुकी साहुनी आएर भाडा माग्थे । जसलाई बिहान–बेलुकी खानाको समस्या छ, भाडा तिर्नु भन्नु यौटा दुस्साहस मात्र थियो । तर, ऊ कोठा छाड्न सकिरहेकी थिइन, न त आरामसँग बस्नु नै ।

नियतिले कमलावतीलाई फेरि यौटा गार्मेन्ट फ्याक्ट्रीमा लगेर केही दिनपछि फ्यालिदियो । उसले त्यसरी फ्यालिनु नै थियो । अमेरिका र जर्मन जाने कमिजहरूको टाँक–घर बुनेर पेट पाल्नुपर्ने नियतिमा ऊ गाँसिई । भारतबाट काम गर्न आएका थुप्रै दर्जीहरूसँग भेट हुन लाग्यो । चिया सँगै खाने क्रमबाट सुरु भएर नयाँ सिनेमा हेर्न जाने, पिकनिक जाने क्रमहरूमा पुग्यो । अझ कमलावती कहिलेकाहीँ पोखरा पनि पुग्न लागी ! जिन्दगी यति रमाइलो पनि हुँदो रहेछ, यसरी पनि यसलाई भोग्न सकिँदो रहेछ– कमलावती यस्तै केही सोच्न लागेकी थिई । स्वस्थानीकी चन्द्रावती यौटा कल्पनासम्म हो, त्यो यथार्थ हुँदै होइन भन्ने निर्णय पनि कहिलेकाहीँ गर्थी ।

सहरमा गाडीहरू बढ्न लागेका थिए । गाडीसँग फेसन र महँगी पनि बढ्न लागेका थिए । कमलावतीले एक बिहान ऐना हेर्दा सोची– उसको उमेर पनि सहरझैँ, गाडीझैँ बढ्न लागेको थियो । आँखामा केही काला धर्साहरू देखापर्न लागेका, छाती खुकुलो हुन लागेका कुराहरूले कमलावतीको मन ढक्क फुलेको थियो । जिन्दगीको आधा भाग समाप्त हुन लागेको छ र बाँकी भाग खाली छ, शून्य छ भन्ने सोच्ता कमलावतीलाई निद्रा पर्न छाडेको थियो ।

गार्मेन्टमा कोही बम्बैको, कोही कलकत्ताको सपनाहरू देखाउँथे । मिठो खाने, राम्रो लाउने इच्छाका बिरुवाहरू फुलाउँथे । तर, किन किन कमलावती तिनमा विश्वास गर्दिनथी । ऊ सोच्तथी– यी समयका क्षणिक विषयहरू हुन्, जसले उसलाई पतनको अझ गहिरो खाडलमा लगेर जाक्नेछ । ऊ अरू बढी सपनाको खेती गरेर आफूलाई संकष्टको भुमरीमा पार्न चाहन्न थिई ।

ऋतुहरूका सम्बन्धमा उसले सानो छँदा पुस्तकमा पढेकी थिई । तर, कमलावतीसँग कुनै वसन्त र गृष्म थिएन । मात्र शरद र शिशिर थियो । वर्षभरि ऊ जाडोको अनुभव गर्थी– कडा र यातनापूर्ण चिसो हिउँ । ऊसँग लगाउने यौटा स्वेटर मात्र थियो– बाह्रैमहिनाका लागि । ऋतुअनुसार फेसन बदल्नुपर्छ भन्ने कुरा उसले कहीँ–कतै सुनेकी थिई र टेलिभिजनका पर्दाहरूमा हेरेर आफूलाई चित्त बुझाएकी थिई । 

जति तिर्दै गए पनि २/४ महिनाको भाडा बाँकी नै हुन्थ्यो । जति–जति महिना सिद्धिन लाग्थ्यो, कमलावती तलब आउने कुराले खुसी हुन्थी । तर, कोठा भाडा तिर्न बाँकी भएको कुराले उसका खुसीहरू सबै हराउँथे ।

फेरि एक साँझ गार्मेन्ट फ्याक्ट्री अनिश्चितकालका लागि बन्द भएको थियो । विदेशबाट आउने कोटामा कमी भएका कारणले फ्याक्ट्री अनिश्चितकालका लागि बन्द भएको सानो सूचना पढेर कमलावती कोठामा फर्केकी थिई । ऊसँग सोच्ने, सम्झने र विचार गर्ने कुरा अब फेरि पनि थिएन । उसको दिमाग र शरीर दुवै शून्य थियो, चेतनाहीनको स्थितिमा थियो ।

‘हे पापिनी ! तेरो निमित्तमा हामीलाई लाज मर्नु भयो, किनभने तेरो नाउँ लिनेबित्तिकै राजाको खानेकुरा राखेको भण्डार सुक्यो ।’ स्वस्थानी व्रतकथाका यी केही हरफहरू थिए, जो चन्द्रावतीतिर लक्षित थियो । कमलावतीका लागि अब देशका सारा भण्डारहरू सुकेका थिए । उसले जहाँ टेक्यो पहिरो जान्थ्यो, जहाँ पौडन्थी त्यहाँ बाढी आउँथ्यो । उसका सामु यौटा मात्र विकल्प थियो– मुसा मार्ने औषधि । जुन कामलाई ऊ पाप सम्झन्थी, सात नरकमा परिन्छ भनेर कमलावती तर्सन्थी । तर, सधैँका लागि समाधानको यौटा मात्र बाटो थियो– मुसा मार्ने औषधि, जो कमलावतीजस्ता महिलाहरूका निमित्त आवश्यक थियो । उसलाई यसरी सजिलै मर्न मन थिएन । जिउँदो लास हुनु उसको नियति नै थियो ।

उसको संघर्ष अझ बाँकी थियो । समाप्त हुने कुनै लक्षण थिएन । कोठाको अँध्यारोमा ऊ अँध्यारो सोचेर बसिरहेकी थिई । त्यही अँध्यारोमा साहुको छाया देखियो । त्यो छाया उभियो र कमलावतीलाई तीन महिनाको पन्ध्र सय भाडा एकैपटक माग गर्यो । ऊ सत्राङ् सुत्रुङ्ग भई । जागिर सिद्धिएको भोलिपल्ट साहु यसरी आइपुग्ला भनेर उसले सपनामा पनि सोचेकी थिइन । यस्तो विषम् स्थितिसँग लड्न ऊ कुनै हालतमा तयार थिइन । तर, साहुको स्वर त्यस अन्धकारमा अझ ठूलो भएर आयो– “अब त म सहन सक्तिनँ । मेरा पनि जहान केटाकेटी छन् । मेरो आम्दानीको मुख्य स्रोत यही घर भाडा हो कमलावती !”

यसपटक यसको के जवाफ दिने हो ? उसले सोचेकी थिइन । तर, जवाफ दिनु आवश्यक थियो । साहुनीसमेत आइपुगी भने झन् संकष्टको स्थिति आउने कुरा सत्य थियो । केही होस् र केही बेहोसमा ऊ बोल्न बाध्य भएकी थिई– “हेर्नोस् न, मेरो जागिर छैन । म जहाँ जागिर खान्छु त्यो अफिस नै खारेज हुन्छ । अहिले भाडा तिर्न मसँग एक पैसा पनि छैन ।”
“त्यसो भनेर कहाँ हुन्छ ? भाडा तिर्नुहोस् र कोठा आजै छाडनुहोस्”– साहुको यो वाक्य धेरै कडा थियो ।

उसलाई भन्न मन लागेको थियो– ऊसँग तिर्ने कुरा अब उसको शरीर मात्र छ । त्यो शरीर पनि क्रमशः ओइलाएर जान लागेको छ ।

स्वस्थानी व्रतकथाको चन्द्रावतीले आफूले पोखेको पीडा यसरी व्यक्त गरेकी थिई–
‘टपरीमा ल्याएको भात दिए । मुख धुन भनी शालीनदीमा गएँ, म गएको देखेर शालीनदीको जल सुक्दै गयो । जल फेला पार्न सकिनँ । हार मानेर माथि आई मुख नधोई खान लाग्दा भात खरानी भयो, त्यो खरानी पनि खाउँ भनेर आँट्दा भुमरी बतास रुमलिएर आएर उडाएर लगे । तब अनेक तरहले रोई कराई शीत–ताप, भोक प्यास इत्यादि महा दुःख सहेर रहेँ ।’

र, त्यही चन्द्रावती यति धेरै हजारौँ वर्षपछि कमलावती भएकी छे । यस्तै केही विश्वास गर्न कमलावती बाध्य र विवश भई । तर, यसबाट मुक्ति पाउन उसले कसको व्रत बस्ने हो ? कुन भगवान्लाई खुसी गराउने हो ? त्यो भने उसले थाहा पाउन सकिन ।

(वरिष्ठ कथाकार परशु प्रधानको कथासंग्रह ‘उत्तराद्र्ध’का सम्पूर्ण कथाहरू धारावाहिक रूपमा हरेक शनिबार प्रकाशित गर्दै जानेछौँ ।) 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ३, २०७७  ०९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro