मुम्बई । बलिउड अभिनेता अक्षय कुमार अगस्तमा चलचित्र ‘बेल बटम’ को छायांकन सुरु गरेर कोरोनाकालमा छायांकन सुरु गर्ने पहिलो ए-लिस्ट कलाकार बनेका थिए । ३५ दिनभित्रै छायांकन सकेर उनले चलचित्र २०२१ अप्रिल २ मा रिलिज मिति पनि घोषणा गरेका थिए ।
यद्यपि बलिउड हंगामाको पछिल्लो रिपोर्टअनुसार अक्षयको यस बहुप्रतिक्षित चलचित्र अब पूर्वघोषित मितिमा रिलिज नहुने भएको छ ।
एक स्रोतलाई उल्लेख गर्दै हंगामाले लेखेको छ, “बेल बटमका निर्माताहरुले चलचित्रको रिलिज २ महिना ढिला गरेर जुनमा रिलिज गर्ने तय गरेका छन् । ढिलाइ हुनुको मुख्य कारण अक्षयको चलचित्र ‘सूर्यवंशी’ हो । सूर्यवंशी मार्च १५ देखि अप्रिल १५ एक महिनाको विन्डोमा रिलिज हुने भएको छ । यसकारण अक्षयको २ वटा चलचित्र १ महिनाको ग्यापमा मात्रै रिलिज गर्ने त्यो पनि ठूलो पर्दा र यस महामारीका बीच मूर्खता हुने भएकाले पोस्टपोन्ड गरिएको हो ।”
यो चलचित्र हाल पोस्ट प्रोडक्सनको चरणमा छ र अन्तिम सम्पादन फेब्रुअरीको मध्यतिर सकिने आशा गरिएको छ । अभिनेत्री वाणी कपुर अक्षयको श्रीमती र लारा दत्त सन् १९८० दशककी भारतकी प्रधानमन्त्रीको दुई मुख्य भूमिकामा देखिँदै छन् ।