उदय निरौला
अविरल बगिरहेको नदी
सुकाउनु
धारोमा आइरहेको पानी
मर्काउनु
मैदानमा बाँस नुहाउनु
भोको गाईको घाँस फाँड्नु
र सपिङ कम्प्लेक्स खोल्नु
पोखरीहरू खोजी खोजी
सालासाली, जेठान, जेठानीको बनाइदिनु
नानीहरूले पढ्ने कविता
हटाउनु र रातो रगत पढाउनु
नीलो मसी फाल्दिनु
र रातो माटोको मसी बनाइ टोपल्नु
हाम्रा सनातन मान्छे हुन् त !
अब नानीहरूले खोज्नेछन् हिसाब किताब
समय टाढा छैन
खोज्नेछन् हिसाब !
लाउने छन् डँडाल्नाको छालाको पेटी
नठान्नु, छैनन् उनीहरू केटाकेटी ।
सुन्तला फलिरहेकै हो
बास मागेर नराम्ररी फसाएछ ऐँजेरुले
घरमा नानीहरू बसेकै थिए
खेलिरहेकै थिए
रातको छहारीमा निदाइरहेकै थिए
पसेछन् अरिंगाल र बसेछन्
टोड्का टोड्कामा बास
खेदिए नानीहरू
टोकिए नानीहरू
सुकुम्बासी बनाइए नानीहरू
ऐले घरबारी सबै कब्जा गरेर
अरिंगालहरू राज गरिरहेछन्
रातैभरी अपशकुन कराउँछ हाफसिलो
हाप् हाप् हाप्
लौन के हुनलागेको हो ?
भयभित छन् मान्छेका बस्तीमा खास मान्छेहरू ।