मुम्बई । साउथ स्टार अभिनेत्री रश्मिका मन्दाना बलिउडमा डेब्यु गर्दै छिन् । उनी ‘मिसन मज्नु’ बाट बलिउडमा पाइला टेक्ने भएकी हुन् । जसमा उनी बलिउड अभिनेता सिद्धार्थ मल्होत्रासँग जोडी बनेर आउँदै छिन् ।
सिद्धार्थले चलचित्रको फर्स्ट लुक पोस्टर सामाजिक सन्जालमा सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् । चलचित्रको पोस्टर सेयर गर्दै सिद्धार्थ लेख्छन्, “दुश्मनको सीमामा गएर हाम्रा इन्टेलिजेन्स एजेन्सीले निकै खतरनाक अपरेसन गरे ! मिसन मज्नुको फर्स्ट लुक पेस गरेको छु ।”
यो ७० दशकको भारतको सबैभन्दा महत्त्वाकांक्षी गुप्त अपरेसनमा आधारित चलचित्र हो । यो भारतले पाकिस्तानको मुटुमा गरेको सबैभन्दा साहसिक मिसन हो जसले भारत-पाकिस्तानबीचको सम्बन्ध सधैंका लागि परिवर्तन गरिदियो ।
चलचित्रकी अभिनेत्री रश्मिका मन्दानाले कन्नड, तमिल र तेलुगु चलचित्रमा पनि काम गरेकी छिन् । नेसनल क्रसका रुपमा पनि परिचित २४ वर्षीया रश्मिकाले सन् २०१६ मा कन्नड चलचित्रबाट डेब्यु गरेकी थिइन् ।
-नवभारत टाइम्स