काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको आडमा जनताको हितविपरीत काम गरिरहेका कर्मचारीलाई पार्टी सत्तामा आएपछि कारबाही गरिने चेतावनी दिएका छन् ।
कांग्रेसको कोरोना अनुगमन समितिले १०७ औं बीपी जयन्तीको अवसरमा सञ्चालन गरेको ‘कोरोना संक्रमणको सन्दर्भ : सरकारको भूमिका र हाम्रो दृष्टिकोण’ विषयक अन्तरक्रियामा सभापति देउवाले यस्तो चेतावनी दिएका हुन् ।
अनुगमन समितिले शुक्रबार आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय ‘भर्चुअल’ अन्तरक्रियामा उनले सरकारको आडमा जनताको हितविपरितका काममा संलग्न कर्मचारीको सूची तयार गरेर राख्न पनि नेता–कार्यकर्ताहरुलाई निर्देशन दिए ।
“हाम्रा मान्छेले जितेका पालिकामा यो सरकारले बदमास कर्मचारी पठाएर दुःख दिइरहेको छ । बदमासी गर्ने, जनताको हितमा काम नगर्ने कर्मचारीलाई भोलिका दिनमा छोड्नेवाला छैनौं,” सभापति देउवाले भने, “बदमासी गर्ने कर्मचारीको लिस्ट बनाएर राख्नुहोला ।”
उनले कोभिड–१९ को महामारी डरलाग्दो अवस्थामा पुगिसक्दा पनि चिन्ता नभएको भन्दै सरकारको आलोचना गरे । उनले सरकारलाई भ्रष्टाचार गर्ने चिन्ताबाहेक कुनै पनि कुराको चिन्ता नभएको पनि आरोप लगाए ।
सरकारले कोरोना संक्रमण रोकथामका लागि पहल नगरेको दाबी गर्दै भने, “सरकारलाई भ्रष्टाचार गर्नेबाहेक चिन्ता छैन । न कोभिड अस्पताल बनाएको छ, न संक्रमितका लागि इन्स्योरेन्स गरेको छ । संक्रमितका बालबालिकालाई हेरेको छैन ।”
सभापति देउवाले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका नाममा लकडाउन, निषेधाज्ञा गरेर सरकारले जनता भोकभोकै मर्न बाध्य बनाएको पनि आरोप लगाए । सरकारले लकडाउन, निषेधाज्ञा अवधिमा जनताका लागि राहतका कार्यक्रम नल्याएकै कारण सुदूरपश्चिमका जनता परिवार पाल्न भारत जान बाध्य भएका पनि बताए ।
“भोकभोकै मर्नुभन्दा रोगबाट मरौंला भनेर सुदूरपश्चिमका दाजुभाइ जहाँ सबैभन्दा बढी कोरोना संक्रमित छन् त्यहाँ जान बाध्य भएका छन्,” सभापति देउवाले भने ।