काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङले विदेशी कम्पनीको प्रायोजन पाएका छन् । नेपालका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका गोलरक्षक किरणलाई विदेशी कम्पनी आरजीले प्रायोजन गरेको हो ।
किरणलाई साइप्रसको ग्लोभ्स कम्पनी आरजीले प्रायोजन गरेको हो । किरणलाई आरजीले दुई वर्षका लागि प्रायोजन गरेको हो । किरण हाल भारतीय क्लब मिनर्भा पन्जाबबाट खेलिरहेका छन् ।
किरणले बुधबार कम्पनीसँग औपचारिक रुपमा सम्झौता गरेका छन् । सम्झौताअनुसार आरजीले किरणलाई हरेक वर्ष २० जोर ग्लोभ्स उपलब्ध गराउनेछ । नेपालबाट गोलरक्षकले विदेशी प्रायोजन पाएको यो पहिलो पटक हो ।
“विदेशी कम्पनीको प्रयोजन पाउनु धेरै ठूलो कुरा हो । मिहिनेत गरेपछि जस्तो सुकै सफलता पनि पाउन सकिन्छ भन्ने उदारण हो यो । मेरो यो प्रायोजनले धेरै नयाँ खेलाडीलाई सहयोग मिल्नेछ,” किरणले बाह्रखरीसँगको कुराकानीमा भने ।