काठमाडौं । राष्ट्र बैंकले बैंकहरूलाई बैंकिङ सेवा अवरुद्ध नहुने गरी सुरक्षित सेवा प्रदान गर्न निर्देशन दिएको छ । शुक्रबार राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीले बैंकर्स संघका अधिकारीसँग छलफल गर्दै बैंकिङ सेवामा भिडभाड नगराउन निर्देशन दिएका हुन् ।
सरकारले नै २५ जनाभन्दा बढीको भिडाभाड नगर्न निर्देशन दिइसकेकाले बैंकमा ग्राहकको भिड कम गराउन डिजिटल कारोबारमा प्रोत्साहन गराउन निर्देशन दिएको राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालले बताए ।
बैंकमा ग्राहक र कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै कर्मचारी ग्राहक र कर्मचारीहरू अफिस भित्र छिर्दा तापक्रम जाँच्न, सेन्टिलाइजर प्रयोग गर्ने व्यवस्था गर्न निर्देशन दिएको उनले बताए । राष्ट्र बैंकले बैंकहरूलाई बैंकिङ सेवा अवरुद्ध नहुने गरी सुरक्षित कारोबारको व्यवस्था मिलाउने निर्देशन दिएको ढकालले बताए ।
यता बैंकर्स संघका अध्यक्ष भुवन दाहाल पनि बैंकमा ग्राहहको भिडभाड नहोस् भनेर आइतबारबाट सम्पूर्ण डिजिटल बैंकिङ कारोबारलाई निःशुल्क बनाउने निर्णय भएको बताउँछन् । बैकर्स संघले ग्राहकको कुनै पनि सेवा नरोक्ने तर कतिपय विभागमा धेरै कर्मचारी छन् भने त्यस्तो विभागकको काम घरबाट गर्न सकिन्छ भने त्यसलाई घरबाट गराउने निर्णय समेत बैंकर्स संघले गरेको अध्यक्ष दाहालको भनाइ छ ।
ग्राहकको सेवा कुनै पनि रोेकिँदैन । अध्यक्ष दाहालले भने, “संघले उच्च तहका कर्मचारी एकै ठाउँमा हुँदा एकै पटक संक्रमित हुन सक्ने भन्दै सावधानीका लागि छुट्टाछुट्टै भवनमा बसेर काम गर्न विषयमा कुराकानी भएको छ, यस विषयमा संघका सीईओ अनिल शार्माले अध्यन गर्दै हुनुहुन्छ ।”
प्रमुख कार्यकारी अधिकृत र नायब प्रमुख कार्यकारी दुवैलाई एकै पटक संक्रमण भयो भने बैंकको सम्पूर्ण प्लानिङ नै प्रभावित हुने भएकाले त्यसलाई मध्यनजर गर्दै छुट्टाछुट्टै बसेर काम गर्ने र एक ठाउँमा जम्मा नहुने भन्ने कुरा आएको उनको भनाइ छ ।
त्यसका लागि के के सम्भावना छ बैंकर्स संघले गाइडलाइन जारी गर्ने निर्णय संघले गरेको र त्यसका लागि संघका सीईओ अनिल शर्माले काम गरिरहेकाले एक दुई दिनमा नै गाइडलाई आउने दाहालले बताए ।
सरकारले पनि भिडभाड कम गरौं भनेकाले किन एउटै ठाउँमा भिडभाड धेरै गर्ने भन्ने उद्देशयले कर्मचारीलाई मिलेसम्म सिफ्ट अथवा घरबाटै गर्न मिल्ले कामलाई घरबाट नै गर्ने व्यवस्था गर्न सकिन्छ कि भन्ने उद्देशय संघको रहेको र बैंकमा पनि भिडभाड कम हुने उनको भनाइ छ ।