![अण्डा र झण्डा अभियान साथसाथ](https://12khari.top/uploads/posts/2020-03-12_Egg_812171501.jpg)
रामपुर । पाल्पाको माथागढी गाउँपालिकाले गर्भवतीलाई लक्षित गरी पोषणका लागि अण्डा उपहार कार्यक्रम सञ्चालन गरेको छ । ‘उपाध्यक्ष आमा सुरक्षाः गर्भवतीलाई अण्डा, घरमा हरियो झण्डा’ कार्यक्रमअन्तर्गत गर्भवतीलाई अण्डा उपहार दिन थालिएको हो ।
नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र पोषणयुक्त खानामा समेत ध्यान पुर्याउने भएकाले नियमित गर्भ जाँच गराउनेलाई गाउँपालिकाले अण्डा उपहार अभियान सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले जानकारी दिए ।
अभियानबाट गर्भ परीक्षणका लागि स्वास्थ्य संस्थामा जानेको सङ्ख्या बढ्न थालेको पाइएको छ । संस्थागत सुत्केरी प्रोत्साहन रकम वितरण गर्दै आएको गाउँपालिकाले यस वर्षदेखि अण्डा र झण्डा अभियानलाई पनि सँगसँगै अगाडि बढाएको छ । यस कार्यक्रमको लागि गाउँपालिकाले रु चार लाख रकम विनियोजन गरेको जनाइएको छ ।
“अझै पनि महिला स्वास्थ्य संस्थामा जान हिचकिचाउने पनि यदाकदा छन्, उनीलाई नियमित स्वास्थ्य संस्थामा गएर गर्भ परीक्षण गराउन बानी बसाल्न अण्डा उपहार कार्यक्रम ल्याएका हौँ”, उनले भने ।
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
गर्भ रहेको सामान्यतया चार महिनादेखि नौ महिनासम्म गर्भ जाँच गर्न आउँदा स्वास्थ्य संस्थामार्फत नै अण्डा वितरण गर्न थालिएको छ । गर्भवती महिला स्वास्थ्य संस्थामा नै गर्भ परीक्षणका लागि पुगेपछि रु ३५० बराबरको अण्डा दिन थालिएको छ ।
स्वास्थ्य संस्थामा नै सुत्केरी हुने महिलालाई प्रतिव्यक्ति रु दुई हजार ५०० रकम प्रोत्साहनस्वरुप दिने गरेको रुप्से स्वास्थ्यचौकीका प्रमुख यमबहादुर चिदीले जानकारी दिए । रासस