बेइजिङ । चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजारभन्दा बढी भएपछि उच्च अधिकारिहरुलाई जिम्मवारीबाट हटाइएको छ ।
हुबेइ हेल्थ कमिसनका पार्टी सेक्रेटरी र कमिसन प्रमुखलाई जिम्मेवारीबाट हटाइएको हो । अहिलेसम्म जिम्मवारीहरुबाट हटाइएकाहरुमा उनीहरु वरिष्ठ उच्च अधिकारी हुन् ।
त्यसैगरी स्थानीय रेड क्रसका उपनिर्देशकलाई पनि डोनेसन प्रदान गर्ने कार्यमा कमजोरी गरेको भन्दै जिम्मवारीबाट हटाइएको हो ।
दुईजना चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरुको सट्टामा पनि चिनको राष्ट्रिय स्वास्थ्य आयोगका उपनिर्देशक वाङ हिसाङलाई नियुक्त गरिने भएको छ ।
सोमबार मात्रै कोरोनाका कारण १०३ जनाको मृत्यु भएको थियो भने दुई हजारभन्दा बढी संक्रमित भएका थिए । अहिले कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार १६ पुगेको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार पहिले भन्दा दैनिक संक्रमितको हुने संख्या भने घट्दो छ । सुरुका दिनमा दैनिक ३ हजार संक्रमित हुने गर्थे भने अहिले उक्त तथ्यांक दुई हजारमा झरेको छ ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार जिम्मेवारीबाट सयौं अधिकारीहरुलाई निकालिएको छ । उनीहरुको विषयमा अनुसन्धान भइरहेको र हुबेइ र अन्य प्रान्तमा समेत चेतावनी दिइएको छ ।
तर, जिम्मवारीबाट निकालेको विषयलाई निन्दाको रुपमा लिइएको छ । यसको अर्थ उनीहरुलाई जिम्मवारीबाट सदाका लागि निकालिएको नभई घटुवा गरिएको रुपमा बुझ्न सकिने बताइएको छ ।
जिम्मेवारीबाट हटाइएका अधिकारीहरुलाई चिनियाँ कम्युनिस्ट पार्टीले पनि सजाय दिनसक्ने बताइएको छ । - बीबीसी