काठमाडौं । काठमाडौंको बाटो र त्यही बाटोमा खानेपानीको पाइप बिछ्याउने निकायलाई व्यङ्ग्य गर्दै सुप्रलराज जोशीले आफ्नो फेसबुक वालमा लेखे-
“ओहो ! कस्तो राम्रो पिच भएछ यो बाटो, हेर्दै भत्काऊँ भत्काऊँ लाग्ने– काठमाडौं उपत्यका खानेपानी लिमिटेड ।”
सुप्रलले भनेजस्तै काठमाडौंको बाटोमै छन् सबै विकासका पूर्वाधारहरू । सडक विभागले बाटो बनायो, अनि खानेपानी वा ढलका लागि बाटो भत्कायो ।
सामान्यतया काठमाडौंको एउटा बाटोमा खानेपानी, ढल, बिजुली, टेलिफोन, टेलिभिजन केबल र इन्टरनेटका तारहरू पुगेकै छन् । विकासका लागि योजनाविहीन ढंगबाट एकै ठाउँमा यस्ता पूर्वाधारले काठमाडौंबासी सास्ती भोग्न बाध्य छन् ।
सडक विभागले आज बनाएको बाटो भोलि खानेपानीले भत्काउँछ । त्यस्तै, अर्को दिन ढल निकासका लागि त्यही ठाउँ फेरि भत्काउनुपर्छ । यसले गर्दा सरकारी बजेट अनावश्यक खर्च भएको छ भने सडक प्रयोगकर्तालाई पनि सास्ती भएको छ ।
एउटै बिजुलीको पोलमा दर्जनौं टेलिभिजन केबल तथा इन्टरनेट सेवाप्रदायक कम्पनीका तार टाँग्दा सडकका सहरको अवस्था विरूप त बनेको छ नै, तिनै चुँडिएका तारका कारण फुटपाथमा हिँड्ने सर्वसाधारणले दुर्घटनाको जोखिम मोल्नुपरेको छ ।
धुलाम्मे बाटो र जामको सास्ती
केही वर्षअगाडिसम्मको अस्तव्यस्त र साँघुरो सडक विस्तार भएका छन्, केही हुँदैछन् । सडक पेटीहरु पनि व्यवस्थित बन्दै गइरहेका थिए । तर, अहिले उपत्यकाका प्रायः सडक र पेटी बहुचर्चित मेलम्ची खानेपानी आयोजनको पाइपलाइन बिछ्याउने क्रममा भत्काइएका छन् र धुलाम्मे बनेका छन् ।
सडक किनारमा खाल्डाखुल्डी परेका छन्, जसले गर्दा आम सर्वसाधारणको दैनिकीमा निकै असर परेको छ । जाम, धुलो र खाल्डाखुल्डी परेका सडकका कारण दैनिक रूपमा सास्ती व्यहोरेका सर्वसाधरणको दुखेसो यस्तो छ ।
पुरानो बानेश्वर बस्ने सागर थापा स्कुटरमा हिँड्छन् । घरबाट बाहिर निस्कँदा उनले आफ्नो ड्रेस बाहेक ‘विन्ड प्रुफ’ ज्याकेट, मास्क र चस्मा लगाउँछन् । बिहान कलेज पढ्ने उनी बुद्धनगर पुग्छन् । त्यहाँ गएपछि डे«सबाहेक अन्य कपडा झोलामा राख्छन् । दिउँसो मार्केटिङको काम गर्ने उनलाई धेरै ठाउँ पुग्नुपर्छ ।
“म दिनभरमा लगभग २५ देखि ३० किलोमिटर हिँड्नुपर्छ,” उनले भने, “बाटोमा जताततै धुलो र खाल्डाखुल्डी । कहिलेकाँही त धुलोले खाल्डो पनि देखिँदैन र खाल्डोमा परिन्छ । रातिमा बाइक चलाउन धेरै गाह्रो छ । भाइजर लगाऊँ भने बाटो देखिँदैन नलगाऊँ भने धुलोले गाह्रो बनाउँछ ।” बाटो अस्तव्यस्त हुँदा र सबै संरचना एकै ठाउँमा हुँदा काठमाडौं कहिल्यै व्यवस्थित हुन नसक्ने धारणा उनी राख्छन् ।
जोरपाटी बस्ने उषा तामाङ कामको लागि दैनिक त्रिपुरेश्वर आउनुपर्छ । उनलाई करिब ९ किलोमिटरको यात्रा पूरा गर्न सार्वजनिक गाडीमा एकदेखि डेढ घण्टा लाग्छ । बिहान ९ः३० मा अफिस आइपुग्नुपर्ने उनी आठ बजे नै हिँड्नुपर्छ । बेलुका फर्कँदा पनि सास्ती उस्तै छ । त्यसको कारण हो, खाल्डाखुल्डी परेको बाटो, पाइपलाइन विस्तार र गाडीको चाप । “यसरी ८ घण्टा काम गर्न ३÷४ घण्टा बाटोमै लाग्छ । एउटा कुरा सोचेर अफिस पुग्यो, अफिस पुग्दा निराश भइन्छ,” उनले भनिन्, “यस्तो समस्या अहिलेमात्रै होइन । कहिले बाटो विस्तार भन्दै, कहिले ढल, कहिले पानी भन्दै भत्काइन्छ । हुन त विकासका लागि भनिन्छ । तर, यस्तो अस्तव्यस्तताले के को विकास होला ?”
सागर र उषाजस्तै हजारौंले दैनिक रूपमा यस्तो सास्ती भोग्दै आएका छन् । बाटो, ढल, फुटपाथ बनाउँदा आउने समस्या त पुरानै हो । एउटा संरचना थप्दा अर्को संरचना बिग्रने भत्कने अवस्था छ । यसको मूल कारक अव्यवस्थित र एउटै बाटोमा बनेका दर्जनौं संरचना भएको सम्बद्ध अधिकारीहरू नै स्वीकार्छन् ।
मेलम्चीको पानी वितरणका लागि उपत्यकामा ६१ किलोमिटर बाटो भत्काइँदैछ । यसमध्ये ४० किलोमिटरमा पाइपलाइन बिछ्याइ सकिएको आयोजना कार्यान्वयन निर्देशनालय मेलम्ची उपआयोजनाका प्रमुख तिरेश खत्रीले जानकारी दिए । घरघरमा पानी वितरणका लागि ६ सय ७० किलोमिटरमा पाइप बिछ्याउनुपर्ने उनले बताए । यसमध्ये हुन्छ, यसमध्ये ५ सय ३० किलोमिटरमा विस्तार भइसकेको छ ।
सबै पूर्वाधारको रेखाङ्कन नहुँदा समस्या
काठमाडौंको बाटोमा सबै पूर्वाधार हुँदा पाइपलाइन विस्तारमा समस्या भएको मेलम्ची उपआयोजना प्रमुख खत्रीले जानकारी दिए । उनले भने, “सबै निकायसँग समन्वय गरेर काम गरेका छौं । बाटो, ढल, टेलिफोनको तार भत्किँदा, चुडिँदा हामी बनाउँछौं,” उनले भने, “तर, हाम्रो बाटोमा के कहाँ छ भनेर रेखाङ्कन, सिमाङ्कन छैन । अनि एउटै बाटोमा सबै संरचना हुँदा काम गर्न असहज भएको छ । सकेसम्म जोगाएर काम गरेका छौं । बिग्रिएको संरचना बनाउने जिम्मा हाम्रो हो ।”
स्थायी संरचना पानी वितरण भएपछिमात्रै
पाइप बिस्तारको क्रममा सडक सञ्जाल, टेलिकमको तार, ढल ठाउँठाउँमा बिग्रिएका छन् । सडक पेटी पनि बाँकी छैनन् । तर, काठमाडौंमा पानी नआएसम्म स्थायी रूपमा बन्न सक्ने अवस्था छैन । पाइपलाइन विस्तारभए लगत्तै स्थायी संरचना बन्ने अवस्था नरहेको उपआयोजना प्रमुख खत्रीले जानकारी दिए । “भत्किएको बाटो र पेटी बनाउने जिम्मेवारी हाम्रो हो,” उनले भने, “तर, अहिले अस्थायी मात्रै बन्छ । पछि अहिले भएभन्दा राम्रो बनाउँछौं ।”