बाह्रखरी
sticky  ncell
ब्लग प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
फाफुरा २५ अन्धेर नगरी– चौपट राजा
ब्रजेश खनाल
बाह्रखरी - ब्रजेश खनाल मंगलबार, भदौ ५, २०७५
Laxmi Bank
Laxmi Bank

फाफुराले समाचार सुन्ने र पढ्ने काम गर्दैन । न रेडियो, न टिभी अनि न पत्रपत्रिका । जति गरेपनि यो एउटा कुलत उसले लगाउनै सकेन के गर्नू ? यति सुन्नासाथ तपाईंहरुलाई अवश्य पनि लाग्यो होला फाफुराभन्दा बेकामको मानिस संसारमा मोबाइल फोनको बत्ती बालेर खोजे पनि पाइँदैन । किनभने समाचार नसुन्ने वा नपढ्ने नागरिक भनेको देशको लागि कलङ्क हो । त्यस्तो लागेको भए एकछिन फाफुराको अझ अर्को एउटा दुर्गुण पनि सुनिहाल्नुस् । उसलाई विशेषतः राजनीति र तिनका समाचारमा रुचि छैन । अब त तपाईंहरुलाई फाफुराको राष्ट्रियतामा नै शंका भयो होला । किनभने नेपाली हुनका लागि नागरिकतामात्र भएर पुग्दैन । राजनीतिमा अथाह रुचि हुनैपर्छ । चौबीसै घन्टा तिनै राजनीतिक गतिविधि, नेताहरुको भाषण, समर्थन, विरोध, गुणगान, गालीगलौज, देवत्वकरण वा दानवीकरण गरिएका समाचारमा भुल्ने, टीकाटिप्पणी गर्ने र आफ्नो विचार प्रकट गर्ने योग्यता पनि हुनुपर्छ । त्यति भएपछि मात्र आफूलाई पक्का नेपाली हूँ भन्न पाइन्छ । 

घरघरमा पत्रिका, चोकचोकमा रेडियो, टोलटोलमा टेलिभिजन च्यानल र कम्प्युटरकम्प्युटरमा अनलाइन समाचार पोर्टल भएको यो देशमा सबैको मुख्य खुराक नै राजनीतिक समाचार हुने गर्छ । त्यति हुँदा पनि राजनीतिबाट अछूतो रहने भनेपछि फाफुरामा कुनै ‘म्यानुफ्याक्चरिंग डिफेक्ट’ हुनुपर्छ । माथि भनिएका ती कुनै पनि सद्गुण नभएका हुनाले ऊ नेपाली हुनै सक्तैन । त्यसैले अब त पक्कै पनि चारपाटे मुडेर, जुत्ताको माला लगाइदिएर यो फाफुरोलाई राज्यद्रोहको आरोपमा सीमापारिसम्म पु¥याएर आउनुपर्छ भन्ने पनि यहाँहरुलाई लागिसक्यो होला ।

सोमवार बिहानै पनि फाफुरा झोक्राएर बसिरहेको थियो । फाफुरी चाहिँ आफू पक्का र शुद्ध नेपाली भएको प्रमाण दिँदै भान्छामा समाचार सुन्दै खाना बनाउँदै थिई । अचानक ऊ गाला रातो पार्दै कोठामा आई ।

Rohto Landing

Agani Group

“सुन्यौ ? तेलको भाउ फेरि बढेछ ।”

फाफुराले उसलाई हेर्दै भन्यो,

sarbottam cement

“ठीकै छ नि त । धेरै चिल्लोचाप्लो खानु यसै पनि स्वास्थ्यको लागि राम्रो होइन । आजदेखि भुटेको र तारेको खानेकुरा बन्द । उसिनेको खाने बानी लाग्यो भने त्यसैमा स्वाद बस्दै जान्छ ।”

फाफुरीले थाप्लो पिट्दै भनी,

“हे भगवान । कस्तो उल्लु मानिससँग बिहे गर्न पुगिछु म ! तेल भनेको आयल... आयल । पेट्रोल र डिजेलको कुरा गरेको मैले ।”

मूल्यवृद्धिको सांकेतिक विरोधस्वरुप फाफुरीले सात दिनसम्म आफ्नो स्कुटी नचढ्ने निर्णय गरी । उसलाई विश्वास थियो, यसप्रकारको सांकेतिक विरोध गरेर सरकारलाई तेलको भाउ घटाउन लगाउनु भनेको गणेशजीले मुसा नचढेर आफ्नो पकेट खर्च बढाउन महादेवलाई राजी गराएजस्तै हो । तर, हरेक विवेकशील पतिले झैं फाफुराले पनि पत्नीको कुरामा विवाद नगरेर सम्भावित गृहकलहबाट आफूलाई मुक्त राख्यो । फाफुरीको स्कुटीमा लिफ्ट नपाएपछि ऊ लोप्रेकान लगाएर नारायण मोडमा लुखुरलुखुर हिंड्दै रत्नपार्क गयो । निकै दिनपछि पानी नपरेको मौका पारेर ऊ रत्नपार्कमा टोपीले मुख छोपेर सुत्यो र मस्तसँग निदायो ।

फाफुरा एउटा अनौठो स्थानमा पुग्यो । त्यसलाई अनौठो भन्नुपर्ने सबैभन्दा मुख्य कारण के थियो भने त्यहाँ झलमल्ल घाम लाग्दालाग्दै पनि एक किसिमको अँध्यारो थियो । फाफुरा जिल्ल परेर चारैतिर हेर्दै थियो । अचानक उसको सामु एकजना मानिस प्रकट भयो । त्यो मानिसको हातमा निकै ठूलो माला थियो । उसले नजीकै आएर फाफुरालाई त्यो माला लगाइदियो र हाँस्दै भन्यो,

“स्वागत छ तपाईंलाई ।”

त्यो माला कति गह्रौं थियो भने लुरे ख्याउटे फाफुरा त्यसको बोझ खप्न नसकेर थचक्कै भुइँमा बस्यो । त्यो मानिस हाँस्यो र भन्यो,

“५१ किलोको माला हो । त्यसैले ।”

फाफुराले उसलाई सोध्यो,

“सबैभन्दा पहिले त कृपया मलाई म कहाँ आइपुगें बताइदिनुस् ।”

उसले मुस्काउँदै भन्यो,

“हेर्नुुस्, मान्छे कहाँ पुग्ने भन्ने कुरा उसको सवारीले निर्धारण गर्छ । माइक्रोबस चढे रत्नपार्क पुगिन्छ, डायनोसर चढे जुरासिक पार्क ।”
फाफुरालाई ती मानिसको कुरा बुझ्न गाह्रो भयो । उसले भन्यो,

“न त म माइक्रो चढेको थिएँ, न डायनोसर । त्यसैले म जुरासिक पार्क त अवश्य आइपुगेको होइन । रत्नपार्कमा त म सुतिरहेको थिएँ । यो कहाँ आइपुगें ।”
त्यो मानिसले गम्भीर प्रश्न तेर्स्यायो,

“सुत्नको लागि आँखा चिम्लनुपर्छ । आँखा चिम्लेपछि केही देखिन्न । निन्द्रा भनेको निष्क्रियता पनि हो । निदाएको मान्छे जहाँ पुग्न सक्छ, तपाईं पनि त्यहीं आइपुग्नुभएको छ ।”

फाफुरा उसको गाउँखाने कथाजस्ता कुराहरु सुनेर वाक्क भयो । उसले झर्किंदै भन्यो, 

“मेरो सोझो प्रश्नको सोझो उत्तर दिन सक्नुहुन्न ? यो कुन ठाउँ हो ?”

यसपटक उसले सोझै उत्तर दियो,

“अन्धेर नगरी ।”

अनि पो फाफुराले किन घाम लागेर पनि अँध्यारो भएको रहेछ भन्ने बुझ्यो । अन्धेर नगरीमा त अँध्यारो हुने नै भयो । उसले त्यस मानिसलाई सोध्यो,
“अनि तपाईं चाहिँ को हो ?”

उसले फेरि सीधा र स्पष्ट उत्तर दियो,

“चौपट राजा ।”

ए..केटाकेटी हुँदा सुनेको ‘अँधेर नगरी–चौपट राजा’ भनेको त कथामात्र होइन रहेछ । साँच्चै पनि हुँदोरहेछ । फाफुराले फेरि प्रश्न ग¥यो,

“अनि मलाई किन यति गह्रौँ माला लगाइदिनुभएको त ?”

अँधेर नगरीको चौपट राजाले दंग पर्दै भन्यो,

“हामीले यहाँको पर्यटन विकास गर्न यसपटक भिजिट अन्धेर नगरी वर्ष मनाउने भएका छौंँ । त्यसअन्तर्गत तपाईँ पहिलो पर्यटकका रुपमा आइपुग्नु भएको छ । हाम्रो अन्धेर नगरीमा अतिथिको स्वागत गर्दा गह्रौँंभन्दा गह्रौँ माला लगाइदिने गौरवशाली परम्परा छ । हुन त यो भन्दा गह्रौँ माला पनि यहाँ प्रचलनमा छ । तर, तपाईंलाई यो भन्दा गह्रौँ माला पहिर्‍याइदियो भने हिजो खाएको कुराहरु समयभन्दा पहिले नै बाहिर निस्केलान् भनेर ५१ किलोको मात्र छानेका हूँ ।”

फाफुराले चौपट राजालाई धन्यवाद भन्यो । चौपट राजाले अलि पर राखेको एउटा मिनीट्रक तर्फ इङ्गित गर्दै भन्यो,

“अँधेर नगरीमा कसैको स्वागत गर्दा यस्तै वाहनमा राखेर घुमाउने चलन छ । आउनुस् अतिथिज्यू ! म तपाईंलाई नगर परिक्रमा गराउँछू ।”

उसले फाफुरालाई ससम्मान मिनीट्रकमा लगेर चढायो । उसले भन्यो,

“एक वर्षपछि फेरि आउनुभयो भने तपाईं मेट्रो रेल चढेर अँधेर नगरी घुम्न पाउनुहुन्छ । अहिलेलाई यसैमा काम चलाउनुहोला ।”

फाफुराले देख्यो कतै बालुवा बोक्दाबोक्दैको ट्रक उसलाई नगर परिक्रमा गराउन भनेर ल्याइएको रहेछ । चौपट राजा आफ्नो राजकीय सवारीमा अघि लागेर अँध्यारोमा हराइहाल्यो । ट्रकमा भएको उसको कर्मचारीले फाफुराको स्वागत गर्दै भन्यो,

“अँधेर नगरीको मेयरको स्वागत स्वीकार्नुस् अतिथिज्यू । म विदेशभ्रमणमा व्यस्त हुन्छु । कहिलेकहीँ यहीँ भएको बेला पनि म ‘मिस्टर इन्डिया मोड’मा हुन्छु । तपाई भाग्यमानी हुनुहँदो रहेछ । नत्र त यही नगरका बासिन्दाले समेत मलाई देख्ने सौभाग्य पाउँदैनन् ।” 

फाफुराले त्यस्तो लोपोन्मुख प्रजातिको मानिसलाई भेट्न पाएकोमा आफूलाई अपार भाग्यमानी ठान्दै उसलाई नमस्कार गर्‍यो । मिनीट्रकको चालकको मात्र  दसपटकको प्रयासमा त्यो चालु भयो । अनि सुरु भयो फाफुराको अँधर नगरी नगर परिक्रमा । मेयर फाफुरालाई अँधेर नगरीको बारे जानकारी दिन थाल्यो । उसले आफ्नो नगरीमा पुरातात्विक महत्वका निकै धेरै कुराहरु भएको कुरा सुनायो । प्राचीन कालदेखि नै संसारका अरु सहरहरुभन्दा अँधेर नगरी सम्पन्न भएको र वैज्ञानिक हिसाबले बसाइएको हुनाले वास्तुकला र निर्माणकलामा अँधेर नगरी सबैभन्दा अगाडि भएको कुरा बतायो । तर, फाफुराले ती सब चाहिँ देख्न सकेन । अँध्यारोले गर्दा अलि परको केही देख्न यसै पनि सम्भव थिएन । अलि नजिक चाहिँ असरल्ल फोहोरका डुङ्गुरहरु, भत्किएका बाटाघाटा, हिलो जमेका खाल्टाखुल्टी, धूवाँ र धूलोका कारण नाकमुख डम्म ढाकेर खोक्दै खकार्दै र थुक्दै हिँडिरहेका मानिसहरुमात्र उसले देख्यो । 

अलि पर गएपछि एउटा ठूलो चौर देखियो । त्यसमा झारहरु उम्रिएका थिए । बेवास्ता गरेको हुनाले कतैकतै त ती जंगलजस्ता भएका थिए । फाफुराले त्यतै देखाउँदै सोध्यो,

“त्यो जंगलमा बाघभालु लाग्छ होला हैन त मेयरसाब ?”

अँधेर नगरीको मेयरले एकछिन जिल्ल परेर फाफुरालाई हेर्‍यो अनि अट्टहास गरेर हाँस्यो,

“तपाईं बडो ठट्यौलो मानिस हुनुहुँदो रहेछ । त्यो कहाँ जंगल हुनु र ? त्यो त पोखरी हो । चानचुने होइन । ऐतिहासिक महत्वको पोखरी हो ।”

अब जिल्ल पर्ने पालो फाफुराको थियो । उसले सोध्यो,

“पोखरी हुन त पानी हुनुपर्छ हैन र ? त्यो कुन एंगलबाट पोखरी हो मेयरसाब ?”

मेयरसाबले सम्झाउने भावमा भने,

“केही समयअघि त्यो भत्किएकोले पुनर्निर्माण हुँदैछ । बीस तीस वर्षपछि आफ्ना छोरानाति लिएर फेरि घुम्न आउनुभयो भने मोटरबोट चढेर जलबिहार गर्न पाउनुहुन्छ । त्यति बेलासम्म हामी तयार पारिसक्छौँ ।”

“बीस तीस वर्ष किन र ?”

मेयर साबले गर्वले छाती फुलाउँदै भने,

“अँधेरी नगरीको आफ्नै गति छ । हामी कुनै पनि काम छिटो गर्नेमा विश्वास गर्दैनौं । किनभने हतारको काम लतार भन्ने तपाईंले सुनेकै हुनुपर्छ । यो पोखरीमात्र होइन अँधेर नगरीमा तपाईँले त्यस्ता बीसतीस वर्षे अरु धेरै पक्का आयोजनाहरु देख्न सक्नुहुन्छ ।”

दिनभरि मेयर साबले फाफुरालाई अँधेर नगरीको गौरवसँग परिचित गराए । साँझ पर्नेबेलासम्म फाफुरा प्रसन्न भइसकेको थियो । उसलाई कुनै टाइम मेसिनमा बसेर इतिहासमा तीन सय वर्षपछाडि फर्केको रोमाञ्च भएको थियो । साँझ अँधेर नगरीको चौपट राजाको दरवारमा रात्रिभोज थियो । त्यहाँ रातो मलमलले मोरिएको एउटा आगन्तुक पुस्तिका थियो । चौपट राजाले फाफुरालाई त्यसमा दुई शब्द लेखिदिन अनुरोध ग¥यो । केही बेर घोत्लिएर सोच्दै फाफुराले आफ्नो कागले विष्टा गरेजस्तो सुन्दर र कलात्मक अक्षरमा केही लेखिदियो । चौपट राजाले खुसी भएर चाँदीको करुवाबाट हत्केलामा पानी खन्यायो र कुनै मन्त्र पढ्दै फाफुराको मुखमा छर्किन थाल्यो ।

खुलेको आकाश अचानक कालोनीलो र डम्म भएर चुहिन थालेको रहेछ । रत्नपार्कमा फाफुराले मुख छोपेर सुतेको टोपी ऊ निदाएको बेला कसैले लिएर चम्पत भइसकेको रहेछ । वर्षाका छिटाहरु मुखमा परेको हुनाले फाफुरा ब्यूँझियो । अँधेर नगरी र चौपट राजाको बारे सोच्दै ऊ आफ्नो डेरातिर फर्कियो । उसले अँधेर नगरीको चौपट राजाको आगन्तुक पुस्तिकामा साँच्चै दुई नै शब्दमात्र लेखेको थियो,

‘अँध्यारो हटाउनुस् ।’
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, भदौ ५, २०७५ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्