site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आलोचकलाई ‘विकास विरोधी’ नभनौं, सुगत सर !

आइतबार बिहानै नेपाल वायुसेवा निगमका प्रमुख कार्यकारी निर्देशक सुगतरत्न कंसाकारले ट्विट गरे :

‘‘नेपाल वायुसेवा निगमले ६ वटा जेट विमान खरिदको लागि २०६५ सालमा नै प्रस्ताव आह्वान गरेकोमा ६ वर्षपछि २०७१ सालमा मात्र दुईवटा A320 विमान आई पुगेको र १० वर्षपछि अब २०७५ सालमा दुईवटा A320आउने भएको छ । यो ‘विकासको गति’ पक्का पनि पर्याप्त छैन, यदी विश्वमा के भैरहेको छ भनी हेरियो भने !’

ट्विटरमै उनलाई जिजुविषले प्रश्न गरे : ‘‘थन्काउने कि साँच्चै उडाउने हो ? कोहीले विश्वास छैन रे’’ 

Prabhu Bank
Agni Group
NIC Asia

अनि कंसाकारले जवाफमा लेखे : ‘‘हामी नेपाली नागरिक भएकोले विमान संचालन गरी हवाई सेवाको व्यापार गर्न सक्तैन, अन्य २०० मुलुकको नागरिकले मात्र सक्छ भन्ने सोच भएको व्यक्तिहरुसँग त कुरा गर्नै बेकार हुन्छ भन्ने मेरो व्यक्तिगत धारणा रहेको छ ।’’

\"\"

Global Ime bank

सुगत सर,

यहाँबाट यस्तो जवाफको अपेक्षा किन रहँदैन भने :

०१. सकारात्मक सोच राख्नुपर्छ भन्ने यहाँको धारणामा दुईमत नहोला तर यहाँको हरेक सार्वजनिक हुँकारमाथिको प्रश्नको जवाफ दिनु यहाँजस्तो सार्वजनिक महत्त्वको जिम्मेवारी लिएकाहरूको दायित्व हो ।

०२. कुनैपनि नेपालीको जिज्ञासामा ’बेकार’को सोच भनी पन्छिनु गैरजिम्मेवारी हो  विशेषगरी यहाँले । जवाफ दिनुस् : यो एउटा प्रश्न लाखौंको हो ।

०३.   यहाँ नै भन्ने गर्नुहुन्छ ‘‘निगम सरकारको हैन तीन करोड नेपालीको हो ।’’ भनेपछि बुझ्नुस् यहाँलाई आधा खर्बको संस्था हाँक्ने जिम्मा दिएका छन् तिनै तीन करोड नेपाली मालिकले ।

०४. पन्छिनु नै छ भने यहाँ जस्तो जिम्मेवार मुखियालाई सामाजिक सञ्जालमा नआउन सुझाव छ । यहाँमा अपरिपक्वता नझल्कियोस् । सामाजिक सञ्जालमा सबै फूलमाला लिएर बस्दैनन् ।

०५. “जुन गन्तव्यमा १५७ सिटको एयरबस –३२० भर्न सकेका छैनौं उही गन्तव्यमा २७५ सिटको वाइडबडी भर्ने योजना के छ?“ प्रश्न गर्नेलाई सोझै ’विकास विरोधी’ नभनी दिन अनुरोध छ ।

०६. साना ६ जहाज, त्यसका लागि अलग ६–७ सय कर्मचारी र १९ गन्तव्य रहेको आन्तरिक उडान व्यवस्थापन बारे सञ्चारको प्रश्नमा यहाँले सिधै ‘‘मेरो फोकस अन्तर्र्रािष्ट्रय हो, आन्तरिकमा व्यापार कम छ’’ नभन्न पनि अनुरोध छ ।

०७. उडान प्राविधिक विषय बारे अनभिज्ञ मन्त्रीसँगको छलफलमा यहाँले सोझै भनिदिनु भयो – यो वाइ टुवेल्भ उडाउने अंग्रेजी बोल्ने (आइपी) इन्स्ट्रक्टर पाइलट दक्षिण अमेरिका र अफ्रिकातिर रहेछन्, उनीहरूसँग कुराकानी भै’रा छ, उनीहरूलाई ल्याएपछि हाम्रो समस्या समाधान हुन्छ । सर, यी जहाज अस्तिमात्र आएका नभई, चार वर्षदेखि निगममा थन्के सरह छन् । यसरी थन्काउनु नै थियो भने २ वटा सित्तैमा पाइयो भनी ४ वटा किन्नुको कुनै तुक थिएन । यहाँले भन्ने गरे झैँ त्यो सरकारी चासो र निर्णय थियो भने सरकारलाई रोक्ने कर्तव्य यहाँको थिएन र ?

०८. मन्त्रीलाई यहाँले के पनि भनिदिनु भयो भने – अन्तर्राष्ट्रिय उडान करिब करिब राम्रो छ । हामी ढुक्क छौँ । हामीले अन्तर्राष्ट्रिय उडान खाली गराएको छैनौ । प्रधानमन्त्रीको फ्लाइटमा मात्र ४ सिट ‘नो सो’ (यात्रु अनुपस्थिति) भयो ।” सर, गत साताको एउटा बैंकक उडानमा जाँदा ५८ सिट खाली र फर्कंदा ११८ सिट खाली थिए । यो त खालि एउटा उदाहरण हो ।

०९. आन्तरिक उडान नियमित किन भएन भनेर मन्त्रीलाई यहाँले भनिदिनु भयो, ‘‘अरुसँग ९ जहाज ९ गन्तव्य छन् । हामीसँग ६ जहाज १९ गन्तव्य छन् । १९ जहाज १९ गन्तव्य भए हामी नियमित हुन सक्छौं ।’’ सर, हिसाब उडान संख्यामा हुनुपर्ने होला, गन्तव्य नभई । एकै गन्तव्यमा १० उडान पनि हुनसक्छन्, हैन र ? अर्को कुरा, २० वर्षअघि यही निगमका १ एभ्रो र ६ ट्विनअटरले ४० भन्दा बढी आन्तरिक नियमित दैनिक उडान गर्थे ।

१०.  टिकट बेच्ने प्रणालीमाथि मन्त्रीको जिज्ञासामा तपाईं बोल्नै सक्नु भएन । यो त व्यापारको अहम् विषय होइन र ? जवाफ त तब दिन सकिन्छ जब यसमा रुचि राखिन्छ । खासमा तपाईंको बजार व्यवस्थापन फितलो किन छ भने निगमको जनरल सेल्स एजेन्ट र प्यासेन्जर सेल्स एजेन्ट लिन दिन हानथाप हुने गर्छ । विदेशको जीएसएले निर्देशकलाई गाडी नै उपहार दिएको विगत पनि छ निगममा । डेढ दशकअघि जापानको (जीएसए नभई) पीएसए मात्र दिलाएबापत पनि चालीस हजार डलर कमिसन लिने असफल प्रयास भएको थियो यो पंक्तिकारसँग ।

देश विदेशका यस्ता एजेन्टले सिट होल्ड गर्छन् अन्तिम समयसम्म, कुनै यात्रु आउलान् कि भनेर । यिनीहरूले होल्ड गरेको सिट निगमले थुतेर बेच्न सक्तैन । अनि अन्तिम समयमा निस्किएको सिट निगमले बेच्नै सक्तैन । न त अन्तिम समयसम्म रोक्ने एजेन्टलाई नै कारबाही र जरिवाना गर्न सक्छ निगम । यस्तै कमजोर बजार रणनीतिको कारण निगममा सिट पाइन्न, जहाज भने खाली रहन्छन् ।

१०. दुई एयरबस – ३२० आइसके, एयरबस – ३३० पर्सि आउँदैछ । निगमसँग पाइलटको अभाव छ । निगमका पाइलटले नै पंक्तिकारसँग भन्ने गरेका छन् –‘‘आरामै गर्न पाइन्न ।’’ खासै भन्नुपर्दा नयाँ वाइडबडी एयरबस – ३३० जहाज निगमको व्यापारले माग गर्नुभन्दा कंसाकार सरकै रणनीतिमा आउँदैछन् । ४३ वर्ष बोइङमा अभ्यस्त निगम प्रविधि विनाअध्ययन एयरबसमा हामफाल्नु, संक्रमणकालीन मुलुकको कमजोरीमा निहित स्वार्थको लागि गराइएको निर्णय देखिन्छ यो । यी नयाँ जहाजसँगै विदेशी पाइलट पनि आउँदैछन् उडाउन । यसबारे यहाँ खुल्नु भएको छैन ( यी पाइलट र प्राविधिकका तलब भत्ता सबै खरिद मूल्यमै गाभिएको छ । देख्नलाई भने ‘निःशुल्क’ छ । चालीस लाख रुपैयाँभन्दा बढी पर्छ प्रतिव्यक्ति प्रतिमहिना । यिनीहरू गएपछि पाइलटको खड्को हुन्छ फेरि । त्यसैकारण पनि यहाँले ‘फौजदारी मुद्दामा रहेका’ र निगमले नै कार्वाही गरी ‘फरार’ रहेका पाइलटलाई प्रशिक्षण र नियुक्ति दिनुभएको छ । यसलाई अख्तियार दुरुपयोग र दण्डहीनता भनिन्छ ।

११.   यी आउने वाइडबडी पनि अमेरिकी ‘एआर कंपनी’सँग खरिद गरिएका हुन् तर भुक्तानी पोर्चुगलको ‘हाइ फ्लाइ’लाई दिइयो । प्रमाणित नभई अनियमितता छ र छैन भन्न नसकिएला तर यो नीतिसंगत भने थिएन ।

१२. निगमले नयाँ ४ एयरबसका लागि झन्डै ४० अर्ब रुपैयाँ ऋण बोकेको छ । वार्षिक ब्याज रु ३ अर्ब ६० करोड छ । निगमको उडान व्यापार घाटामा छ । ग्राउण्ड ह्यान्डलिङबाट तीनदेखि साढे तीन अर्ब कमाउँछ । जुन ब्याज तिर्नैमा ठिक्क हुन्छ ।

१३ .  हामीलाई शंका निगमको छविसँग होइन  । हामीलाई थाहा छ, निगमलाई विदेश र विदेशी गन्तव्यले धेरै माया गर्छन् । जापानले त होटलमा समेत सहुलियत सुविधा दिएको थियो । कतारले नयाँ हामाद इन्टरनेसनल एयरपोर्टमै स्लट दियो र इमिरेट्सले, केयुएल, हङकङले पनि प्राथमिकतामा राख्छन् । हामीलाई शंका तपाईंको सकारात्मक सोचमाथि पनि होइन । शंका त तपाईँको हचुवा पाराको व्यवस्थापनमाथि हो । सूक्ष्मताको कमीमाथि हो । कमजोर बजार अध्ययनमाथि हो । चुस्त समूहको खाँचोमाथि हो । सहजै अख्तियारी दुरुपयोग गर्ने तपाईँको शैलीमाथि हो । नेतृत्वको स्वार्थको लागि अपराधलाईसमेत सहजै स्वीकार्ने खतरनाक दण्डहीन सोचमाथि हो । नेपालको राज्य प्रणाली, ऐन, नीति नियम बारे न जानकारी, न चासो छ, न त सम्मान नै देखियो यहाँमा ।  हुँदो हो त संसदीय लेखा समीतिमा गएर ‘‘जहाज जसरी पनि आउँछ, मैलै सरकारलाई ट्रयापमा पारिसकेँ’’ भन्नुहुन्थेन होला । तपाईँ पर्यटन सचिवलाई त्यसरी धम्की दिनसक्नु हुन्न तर संसदीय समितिलाई दिनु सक्नुभयो । किनभने समितिलाई ‘‘सस्तो खुलामञ्च’’ भन्दामाथि मानिएन । राष्ट्रिय ध्वजावाहक अवश्य चाहिन्छ । प्रश्न हो – कुन मूल्यमा ?

१४.  हामीले बुझेको व्यापार दुईथरी हुन्छन् : १. बजारकेन्द्रित, २. उत्पादन केन्द्रित । तर तपाईंको व्यापार शैली भने अदुवा आकारको विकेन्द्रित भान हुन्छ । विनाआकार, भगवान भरोसा, आधा खर्बको लगानी !  तपाईको आफ्नो बजार योजना छैन, अरुको बजारमाथि धावा बोलेको भान हुन्छ, त्यो पनि विनापूर्वतयारी । बजार केन्द्रित हो भने कंपनी बाहिर गई बजार अध्ययन गरेर रणनीति र कार्यनीतिमा चुस्त निर्णय लिनुपर्ने हुन्छ । आफ्ना उपभोक्ता र यात्रु बुझ्नुपर्‍यो अर्थात् आफ्ना प्रतिस्पर्धी र तिनको शक्ति र रणनीतिक शैली बुझेर अगाडि बढ्नुपर्ने हुन्छ । निगमले थाई, कतार, सिल्क, ड्रयागन, इत्तिहाद, कोरियन एयर, चाइना साउदर्न, मलेसिया, जेट, एयर इन्डिया आदिसँग उही गन्तव्यको लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । के छ त कार्ययोजना ?
उत्पादन केन्द्रित व्यापार हो भने हवाई सेवामा अरूले भन्दा फरक के दिन सक्छौँ ? गुणस्तरीय सेवाको विकास गर्न कत्तिको सक्षम छौँ ? समय, सेवा र सुरक्षामा विश्वसनीयता कसरी बलियो बनाउने ? के छन् त सुधारात्मक कार्ययोजना ? सबै नेपाली नेवानी नै चढ्छन् भन्ने विश्वास लिएर अगाडि नबढ्नुस् । यो सोचलाई थाती राख्नुस् – सुविधाजनक सेवा र समयको  प्रतिस्पर्धात्मक जमानामा । हाम्रा राष्ट्राध्यक्षहरूनै चढ्न छोडिसके हाम्रो ध्वजावाहक । किन प्रधानमन्त्रीकै उडान आधा घन्टा धकेलियो ?

१५. मिडिया अथवा मन्त्रीले अथवा संसदीय समितिले तपाईँमाथि यिनै प्रश्न राखे ठोस कार्य योजना बताउन सक्नुहुन्न तपाई  । तपाईं यति मात्रै भन्ने गर्नुहुन्छ – ‘‘जाहाज चाहियो नि पहिला । पसल खोल्ने दराज खालि राखेर हुन्छ ? अरु देशले सक्ने नेपालले नसक्ने भन्ने हीनताबोध राखेर हुन्छ ?’’ अनि समयमा उड्न नपाएर यात्रु अलपत्र परे भने यहाँले सहजै भनिदिनुहुन्छ –‘‘त्यो सानोतिनो टेक्निकल प्रोब्लम त आइहाल्छ नि । त्यो सबैको आउँछ ।’’ तर, निगमको साखमा यसले पारेको असर बारे न तपाईँ गम्भीर देखिनुहुन्छ न त कुनै शक्तिशाली छानबिन विभाग नै खडा गर्नुभएको छ, न त दण्डरपुरस्कारको प्रचलन नै राख्नुभएको छ । विसं २०७३ को पुसमा मोबाइल स्विचअफ गरेर पाइलट ड्युटीमा नआउँदा १९० यात्रुको दोहा उडान रद्द भएको छानबिन गर्नुभयो ?? ती यात्रुलाई १२ बजे राति होटेलमा राख्दा कति खर्च व्यहोर्नु पर्‍यो ? यसलाई सामान्य टेक्निकल समस्या मान्न सकिन्छ र सर ?

१६. गत वर्षको तपाईँको यो तस्बिर हेर्नुस् त ।

\"\"

तपाईँंहरूको गेटअप संसारको कुनै सीईओभन्दा कम छैन । ‘‘ग्ल्यामर बिजिनेस’’ हाँक्नेको देखावट हुनु जरुरी हुन्छ र तपाईंहरूमा देखिन्छ पनि । तर पछाडिको ब्यानर हेरौँ, झन्डै आधाखर्बको संस्थाको उज्यालो भविष्य दर्शाउन गरेको पत्रकार सम्मेलनमा खुम्चिएको ब्यानरमा A320 जहाजमा आफैँले A330 लेख्नुभएको छ । व्यानर तपाईंँले डिजाइन गर्ने पक्कै होइन  । तपाईँले त निगमकै चुस्तता डिजाइन गर्ने हो  । तर, यो तस्बिरले भने निगम व्यवस्थापनको सूक्ष्मता र चुस्तता कस्तो छ टक्रक्कै झल्काउँछ ।

यहाँलाई के लाग्छ, यी बुँदाहरू प्रस्तुत गर्ने यो पंक्तिकार ‘निगमको प्रगति र विकास विरोधी’ हो या ‘शुभचिन्तक’ ? ‘ केलाएर, सोचेर जबाफ दिनुहोला । सर्वसाधारण पाठक दर्शक तपाईं हामीभन्दा धेरै विद्वान्, सक्षम र अध्ययनशील छन् हाम्रा काम कर्तुतमाथि  ।

तपाईँ र तपाईँको टिमलाई हार्दिक मंगलमय शुभकामना भने रहिरहनेछ । श्री पशुपतिनाथले सबैको कल्याण गरुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ११, २०७५  ०८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC