विशेष
स्कुलबाट हतारिँदै घर पुगेर कर्माले भने, “बुबा, मैले नाटकमा भाग लिइनँ नि !”
बुबाले सोधे, “किन ?”
कर्माले भने, “पढाइ बिग्रिन्छ भनेर ।”
बुबाको स्याबासी सुन्न व्यग्र भएर घर पुगेका कर्मा त्यतिबेला निराश भए, जब बुबाले भने, “तैंले भाग नलिएर ठूलो गल्ती गरिस् ।”
सेन्ट जेभियर्स स्कुलमा पढ्दै गरेका कर्मालाई नाटक, कविता र खेलकुदमा विशेष रुचि थियो । स्विमिङ उनको ‘हबी’ थियो । बास्केटबलको त खेलाडी नै भैगए । उनले मन लागेर होइन, मन बाँधेर एसएलसीका लागि ‘फोकस’ हुनुपर्छ भनेर नाटकमा भाग नलिने निर्णय गरेका थिए । तर, संयोग कस्तो परेछ भने कर्मालाई नाटकका लागि आग्रह गर्ने शिक्षक उनका बाबु महेन्द्रमान शाक्यका पनि अंग्रेजी शिक्षक रहेछन् ।
उनले त्यो वर्ष नाटकका लागि अडिसन दिन पाएनन् । महेन्द्रमानले ‘यस्तो अवसर नगुमाउनू’ भनेपछि कर्माले अर्को वर्ष भने नाटकका लागि अडिसन दिए । उनी छनोट पनि भए । नाटक गर्दा उनलाई दुई फाइदा थिए । एउटा– क्लास ‘बंक’ गर्न पाउँथे । दोस्रो– थिएटर उनको रुचिमा पथ्र्यो ।
कर्माले पहिलो नाटक ‘फिड्लर अन द रुफ’ नाटक गरे, जुन अंगे्रजी थियो । ठूलो रोल लिने कि सानो आफैं छान्न पाइन्थ्यो । तर, अडिसनको ढोका भने पार गर्नुपथ्र्यो । लजालु स्वभावका कर्मालाई मुख्य रोल गर्ने आँट आएन । सानो रोलका लागि इच्छा देखाए । हिटलरको समयमा सेनाले आक्रमण गरेको विषयमा केन्द्रित त्यो नाटकमा कर्माले प्रिस्टको छोरा रब्बाईको छोटो रोल गरे । करिब १५ मिनेट स्टेजमा उभिएका कर्माको आत्मविश्वासको पारो तल झरे पनि अभिनय भने दमदार भयो । साथीहरूले ‘राम्रो गरिस्, गो अहेड’ भने । कर्मा फुरुंग भए । आत्मविश्वासको पारो उक्लियो । हुन त उनलाई पनि नाटक गर्दैखेरि ‘ओहो ! किन मैले माइनर रोल लिएँ ? मेजर रोल पनि गर्न सक्ने रहेछु’ भन्ने लाग्यो र त्यही बेला संकल्प गरे– अर्को वर्ष मेजर रोल गर्छु ।
लाजिम्पाटस्थित आफ्नै होटल ‘हिरण्य’मा हामीसँग गफिँदै आफ्नो कथा सुनाउँदा कर्मा रोमाञ्चित देखिन्थे । नोस्टाल्कि हुँदै उनले भने, “त्यो पहिलो नाटक सम्झिँदा अहिले पनि रमाइलो लाग्छ । पुरानो लुगा, यसै पनि गीत गाउन र सुन्न रुचि राख्ने म हातमा गितार बोकेर, दारी पालेर स्टेजमा उत्रिँदा रमाइलो लागेको थियो ।”
समयको चक्र रोकिने कुरै भएन । वर्ष बित्यो । सेन्ट जेभियर्सले फेरि नाटक गर्ने दिन आयो । नाटकका लागि अडिसन दिन स्कुलले सूचना निकाल्यो । उनले पनि अडिसन दिए । कर्माले यो पटक मेजर रोलमा अडिसन दिए । छनोट पनि भए ।
थाइल्यान्डका राजाको कथा रहेको ‘किङ एन्ड आई’मा उनले मुख्य रोल खेले । त्यसमा उनले प्रधानमन्त्रीको भूमिका निभाए । जाडोको मौसममा ‘टपलेस’ भएर अभिनय गर्नुपर्ने चरित्र थियो । रातो बंगला, सेन्ट मेरिजलगायत कलेजबाट नाटक हेर्न आउनहरूको नजरमा परे उनी ।
“अहिले पनि त्यो समयका साथीहरू भेट हुँदा त्यही नाटकको कुरा गर्छन् । पुस–माघको जाडोमा टपलेस भएर गरेको अभिनय मैले अझै पनि भुलेको छैन,” कर्माले सम्झिए ।
उनले दुई महिना लगाएर त्यो नाटकको रिहर्सल गरेका थिए ।
नेपाल छोडे
नेपालमा एसएलसी सकेर कर्मा पढ्नका लागि भारतको पुणे पुगे । त्यहाँ उनी फ्रि भए । पढ्नभन्दा पनि घुमघाममा रुचि भएका कर्मा त्यहाँ मन खोलेर घुम्थे । नेपालीभन्दा पनि उनले सिक्किम, मेघालय, दार्जिलिङका साथी धेरै बनाए । दसैंमा घर नआई उनी भारतका विभिन्न सहर जान्थे ।
पुणे फिल्म निर्माण, सुटिङ र रंगमञ्चका लागि प्रख्यात सहर हो भन्ने सुनेका कर्मालाई साथीहरूले सिनेमा निर्माणका विख्यात कम्पनी एफडीआई जाऊँ भन्थे । उनका सिनियरहरू खुब जान्थे । तर, कर्मालाई भने त्यति धेरै रुचि नै थिएन । त्यसैले गएनन् । तर, उनी सिनेमा भने हेर्थे । कलेज छोडेर दिनको चार वटासम्म सिनेमा हेरेको उनलाई आजैजस्तो लाग्छ ।
एकदिन उनी बाटोमा हिँडिरहेका थिए । कसैले उनलाई च्याप्प समात्यो र भन्यो, “हामी सर्ट मुभी बनाउँदैछौं, तिमीले खेल्दिनुप¥यो ।”
उनले ‘मलाई आउँदैन’ भने ।
त्यो समय लामो कपाल पालेको, गोरो छाला । शायद उनलाई राम्रो देखेरै होला, त्यो मान्छेले उनलाई छाडेन । जबर्जस्ती उसको फिल्ममा खेलायो । त्यो मुभी ‘गे राइट’का बारेमा थियो । त्यो मान्छे को थियो, के प्रयोजनका लागि फिल्म बनाएको थियो, उनले केही थाहा पाएनन् ।
कर्मा भन्छन्, “त्यो मान्छे इन्डियन, पाकिस्तानी वा बंगाली को थियो, मलाई केही थाहा भएन । न त्यो मुभी मैले देखें । न कसैले तैंले खेलेको रै’छस् नि भनेर सुनाए । जेहोस्, मैले क्यामरा फेस गरेको त्यो पहिलो पटक थियो ।”
प्लस टु सकेर उनी नेपाल फर्किए । बच्चैदेखि नेपाली सेनामा जागिर खाने रहर थियो । हरियो टाटेपांग्रे ड्रेस, हरियो ह्याट, कालो बुट लगाई शानदार बन्दुक भिरेर सेना हिँडेको देख्दै उनको मन लोभिन्थ्यो । त्योभन्दा पनि अप्ठ्यारो परेको बेला आर्मीले उद्धार गरेका दृश्यहरू देखेर उनलाई सेना बन्ने रहरले पछ्याएको थियो ।
भारतबाट फर्किएपछि नेपाली सेनामा जागिर खाने सोच बनाए । तर, बुबाले सुन्न पनि चाहेनन् । त्यो बेला माओवादी द्वन्द्व उत्कर्षमा थियो । दिनहँु माओवादी र सरकारी सुरक्षा फौजबीच भिडन्त भइरहन्थे । दैनिक सेना, प्रहरी र माओवादी मरेका समाचारले अखबारका पृष्ठ भरिन्थे । ८–१० जना मरेको समाचार पत्रिकाहरूले भित्री पृष्ठमा एक कोलममा छाप्न थालेका थिए । त्यही डरले कर्मालाई नेपाली सेनामा जान उनको परिवारले दिएन । बरु प्रहरीमा जान भने दिने आशय व्यक्त ग¥यो । तर, उनलाई प्रहरीको जागिर खाने कुनै सोख थिएन ।
गुरुकुलको यात्रा
पुणेबाट फर्किएपछि एकदिन उनका बुबाले सोधे, “आज नाटक हेर्न जाने हो ?”
पत्रपत्रिकामा गुरुकुलबारे पढेका कर्माले उत्सुक हुँदै भने, “हुन्छ, जाऊँ ।”
उनीहरू नाटक हेर्न पुरानो बानेश्नर हाइटमा रहेको गुरुकुल पुगे । सत्यमोहन जोशीको नाटक ‘बाघभैरव’ लागिरहेको थियो । उनलाई अचम्म लाग्यो– नाटकका कलाकारभन्दा दर्शक थोरै थिए । जम्मा ५ जनामात्रै दर्शक । त्यसमा पनि कर्माले पछि थाहा पाए । उनी र उनका बुबाबाहेक तीन जना त गुरुकुलकै पो रहेछन् ।
उनी दर्शकदीर्घामा बसे । नाटकको पर्दा खुल्यो । बिस्तारै कलाकारहरू स्टेजमा पदार्पण हुन थाले । स्टेजमा डरलाग्दो बाघ बसिरहेको थियो । त्यो बाघ यसरी बसिरहेको थियो कि एकपल पनि हलचल गरिरहेको थिएन । उनलाई लाग्यो, यो बाघ साँचो होइन र मुकुट लगाएको कलाकार पनि होइन, मूर्ति हो । नाटक सुरु भएको त्यस्तै १५÷२० मिनेटपछि बिस्तारै त्यो बाघ चलमलाउन थाल्यो । बिस्तारै हल्लिँदै गरेको त्यो बाघ यसरी जोडले उठ्यो कि कर्मा झस्किए । त्यो त मूर्ति नभएर मान्छे पो रहेछ । कर्मालाई पछि थाहा भयो– बाघ बन्ने कलाकार सौगात मल्ल रहेछन् ।
नाटक सकियो । पर्दा झर्यो ।
अपरान्ह सुरु भएको नाटक हेरिसक्दा त्यस्तै ६–७ बजेको हुँदो हो । नाटक हेरिसक्दा कर्मा यसरी नाटकभित्र डुबेछन् कि लाग्यो– संसार भनेकै नाटक हो । र, यही नाटकभित्रै हराउनुपर्छ भन्ने लाग्यो । उनले भने, “बुबा म यहीँ नाटक सिक्छु, यहीँ बस्छु ।”
सानै उमेरदेखि साहित्यप्रति कर्माको रुचि नियालेका उनका बुबाले सोधे, “साँच्चै बस्छस् त ?”
कर्माले भने, “बस्छु ।”
बुबाले सुनील पोखरेलसँग कर्माको इच्छाबारे कुरा गरे ।
गुरुकुलको पहिलो ब्याच भर्खरै पासआउट भएको थियो । सुनीलले दोस्रो ब्याच सुरु गर्ने तयारी गरिरहेका रहेछन् ।
सुनीलले कर्मालाई भने, “बाबु, तिमी नाटक सिक्ने नै हो ?”
कर्माले भने, “हो, सिक्ने हो सर ।”
सुनीलले अर्को प्रश्न फ्याँके, “पूरै जिन्दगी यहीँ समर्पित गर्नुपर्छ, तयार छौ ?”
कर्माले भने, “तयार छु सर ।”
“बीचमै छोडेर जान पाइँदैन,” सुनीलले कज्याए ।
“छोड्दिनँ,” कर्माले अठोटसहितको प्रतिबद्धता जनाए ।
नाटक हेर्न गएका कर्मा घर फर्किएनन् । त्यही दिनबाटै त्यहीँ बसे नाटक सिक्न । उनका बुबामात्रै घर फर्किए । यसरी फिल्मी शैलीमा सुरु भयो कर्माको नाट्य दुनियाँको यात्रा ।
जिन्दगीको यात्रा कहिले पनि सरल र सहज हुँदैन । कर्माले आफ्नो अनुभवबाट त्यही सिके ।
सुपरहिट पहिलो नाटक
कर्मालाई नेपाली भाषा बोल्न र लेख्न निकै गाह्रो थियो । बच्चामा उनले नेवारी भाषामा बोले । नेपाली राम्रोसँग सिक्नै नपाई कक्षा ३ मा पढ्दापढ्दै पुणे गए । त्यहाँ उनले अंग्रेजीमै पढे । बीचमा केही वर्ष नेपाल आएर बोर्डिङ पढे, जहाँ नेपाली बोल्नै नपाइने । फेरि उनी ११ र १२ पढ्न पुणे पुगे, त्यहाँ पनि अंग्रेजीमै पढे । त्यसैले कर्मा नेपाली राम्रोसँग बोल्नै जान्दैनथे । स्पष्ट उच्चारण नै नहुने । यो उनका लागि गुरुकुलमा पनि चुनौती नै बन्यो । यही कारण उनले नाटक सुरु गरेको निकै लामो समय अभिनय गरेनन् । भाषाकै कारण उनी सकेसम्म पछि हट्थे । गर्नै परे पनि सानो रोलमात्रै गर्थे । तर, उनलाई सुनील पोखरेलले सधैं साथ दिए, हौसला दिए । सुनील भन्थे, “भाषा भनेको केही होइन कर्मा, दुई–चार महिनामा सिकिन्छ ।”
नभन्दै कर्माले बिस्तारै नेपाली भाषा राम्रोसँग बोल्न थाले । उच्चारण पनि स्पष्ट गर्न थाले ।
कर्माले गुरुकुलमा गरेको पहिलो नाटक ‘ताराबाजी लै लै’ थियो । नाटकका गुरु नर्वेजियन मोडर्न कुकले त्यसलाई निर्देशन गरेका थिए । त्यसको स्क्रिप्ट थिएन । त्यसैले थिममा रहेर बोल्दा हुने भएकाले कर्मालाई आँट आयो र त्यो नाटकमा अभिनय गरे । त्यो नाटक साह्रै हिट भयो । त्यसभन्दा अघि ५–१० जना दर्शक हुन्थे । त्यतिलाई पनि महिनौंसम्म देखाउनुपर्ने । उनलाई दिक्क पनि लाग्थ्यो । वर्कसप गरेर तयार पारिएको त्यो नाटक बच्चाका लागि लक्षित थियो । तर, त्यो सबैले मन पराए । ५–१० जना दर्शक आउने गुरुकुलमा दैनिक ५० भन्दा बढी आउन थाले । सानो क्षमताको सम नाटकघरलाई बढाएर ४–५ सय दर्शक क्षमताको रिमाल नाटकघर बनाइयो । त्यसपछि गुरुकुलले बर्सेनि नेसनल र प्रत्येक दुई वर्षमा इन्टरनेसनल नाटक फेस्टिबल आयोजना गर्न थाल्यो । इन्टरनेसनल फेस्टिबलमा भारत, श्रीलंका, बंगलादेश, नर्वे तथा अमेरिकाबाट पनि सहभागिता हुन थाल्यो । त्यसपछि नै हो नेपालमा नाटकले लोकप्रियता कमाएको र सुनील पोखरेलको लोकप्रियता चुलिएको ।
‘महान शिल्पी’ नामक नाटकमा सुनीलले कर्मालाई मुख्य भूमिकामा अभिनय गराए, जुन निकै लोकप्रिय पनि भयो ।
मुटु चुँडिएको दिन
साहित्यमा अभिरुचि रहेका कर्मा जसरी अनायासै हुत्तिएर गुरुकुल छिरे, त्यसरी नै बत्तिएर रंगमञ्चबाट निस्किए पनि । सेतो पर्दाको श्रीगणेश उनका लागि गुरुकुलको यात्रा टुंग्याउने नमीठो माध्यम बन्यो ।
एकदिनको बिहानी थियो । पत्रिका पढिरहेका सुनीलले उनलाई बोलाए ।
“तिम्रा लागि गुरुकुलको यात्रा यत्ति नै हो । तिमी अब यहाँबाट जान सक्छौ । तिमीले कुरो बुझ्यौ नि ?” सुनीलले भने ।
कर्मा अक्क न बक्क भए । स्पष्ट बुझेनन् । तर, ‘किन ?’ भनेर सोध्न पनि सकेनन् । नबुझेरै भने, “बुझें ।”
कर्माले त्यतिबेला गुरुकुलका जल्दाबल्दा कलाकार सौगात मल्ललाई यो कुरा सुनाए । सौगातले पत्याएनन् । कर्मा आफैंलाई पनि विश्वास लागिरहेको थिएन । तर, त्यो सत्य थियो । त्यसैले उनी जुन झोला बोकेर गुरुकुल छिरेका थिए, त्यही झोला बोकेर उसैगरी लुखुरलुखर फर्किए । गोडाहरू त गुरुकुल छोड्दै थिए तर मन भने त्यहीँ थियो । उनले पटक–पटक फर्किएर गुरुकुललाई हेरे । उनको मुटु त्यहीँ थियो । मन चुँडियो तर पनि गुरुको आदेश शिरोधार्य थियो । गुरुकुल उनका लागि साँघुरो भइसकेको थियो । हेर्दाहेर्दै पराइ बनिसकेको थियो । सानो मन लिएर उनी आफ्नै घर लाजिम्पाट फर्किए । साथीसंगीहरूको यादले अधैर्य बनाउँदा पनि कर्मा पछिसम्म गुरुकुल जान सकेनन् । र, पनि सुनीलप्रतिको उनको आदरभाव कहिल्यै विचलित भएन ।
सेतो पर्दाको रंगीन यात्रा
सेतो पर्दाका लागि सपनाको छड्के झोला भिरेर कहिल्यै सपना नदेखे पनि कर्माको भाग्यमै सिनेमा यात्रा कोरिएको रहेछ । त्यसैले जिन्दगीको वक्ररेखा हुँदै उनी सिनेमाको पर्दामा पदार्पण भए । कर्माले सेतो पर्दाको रंगीन दुनियाँको ढोका नचियाए पनि सौगातलाई भने कता–कता त्यो रहरले लपेटिरहेको रहेछ । उनी कहिलेकाहीँ रंगमञ्चसँगै सिनेमा पनि गर्नुपर्छ भन्थे ।
त्यहीबेला भूषण दाहालले ‘कागबेनी’ बनाउने भए । त्यसका लागि उनले नयाँ अनुहार खोजिरहेका थिए । नेपालकै पहिलो डिजिटल सिनेमा भनेर खुब हल्ला चल्यो । त्यस्तो सिनेमामा काम गर्न पाए त ! ओहो ! सम्झिँदै उनीहरूको मन पुलकित हुन्थ्यो । त्यसमाथि भूषणले निर्देशन गरेका म्युजिक भिडियो हेरेर कहिल्यै कसैको आँखा थाक्दैनथे । उनले बनाएको चलचित्र यसै हिट हुन्छ भन्ने लोभ पनि कताकता पलायो होला । त्यही मोहले सौगात र कर्मा ‘कागबेनी’का लागि मल्ल होटलमा अडिसन दिन गए । सौगातले बाजी मारे । कर्मा रित्तो हात फर्किए । उनलाई सिनेमाप्रति त्यति धेरै मोह नभएकाले पनि होला, त्यो असफलताले खासै प्रभाव पारेन । मन खुम्च्याएनन् ।
भाग्यले डोर्याएपछि
एकदिन गुरुकुलमा बसेर कर्मा पत्रिका पढिरहेका थिए । ‘सानो संसार’ भन्ने सिनेमाका लागि ‘एक्टर वान्टेड’ लेखेको देखे । गुरुकुलका सबैले अडिसन दिने निधो गरे । फोटो कसैसँग रहेनछ । एक जनाले सानो क्यामरा र एउटा टिसर्ट ल्याए । पालैपालो फोटो खिचेर फर्म भरे । अरुणा कार्की, भोलाराज सापकोटालगायत सबैले जयनेपाल हल पुगेर अडिसन दिए । कर्माले गुरुकुलको तीन वर्षे कोर्स सकेपछि अमेरिका जान भिसाका लागि प्रयास गरिरहेका थिए । भिसा नलागुन्जेल बीचको समयमा पाए खेल्दिऊँ न त भन्ने सोचेर कर्माले अडिसन दिएका थिए । उनले ठूलो रोलको अपेक्षा गरेका पनि थिएनन् । पाए पनि सानोतिनो ‘केमियो रोल’ देलान् भन्ने सोचका थिए ।
अडिसनमा ह्यान्डसम, ठूलो बडी र मसल भएका केटाहरू आएको देखेपछि झुस्स दारी पालेको आफू त प्रतिस्पर्धाको छेउमै आउँदिनँजस्तो लाग्यो । कर्माले आश मारे । त्यही सानो रोल पनि नपाउने डर पलायो ।
त्यही बेला गुरुकुलमा नाटक पनि चलिरहेको थियो । सेकेन्ड अडिसनका लागि उनलाई बोलाइयो । गुरुकुलमा छउन्जेल अन्त केही गर्न नपाइने नियम थियो । तर, उनी तेस्रो राउन्डसम्म गए । तेस्रोपटक उनलाई स्क्रिप्ट पढ्न लगाइयो । निर्णायक मण्डलमा बसेका को थिए, उनले चिनेका थिएनन् । नम्रता श्रेष्ठ, विनय श्रेष्ठ, जीवन लुइँटेल कलाकार टुंगो लागिसकेका थिए । उनीहरूलाई पनि कर्माले पछिमात्रै चिनेका हुन् । गुरुकुलमा टेलिभिजन हेर्ने सुविधा थिएन । त्यसैले उनी कसैलाई पनि चिन्दैनथे । उनलाई त्यो बेला पनि सिनेमाका विषयमा केही थाहा थिएन । उनले आफूले स्क्रिप्ट पढ्दा त राम्रो पढ्थे नै, प्रियंका र नम्रताले पढ्दा पनि कतै आफू पछाडि रहेको क्यामेराले रिफ्लेक्ट गरेर आफैंलाई त खिचेको छैन भनेर एक्टिङको पोजिसनमा बस्थे ।
कर्मा त्यसरी बसेको देखेर त्यहाँ रहेका तर उनले नचिनेका मान्छेहरू खितखित हाँस्थे । उनलाई त्यो बेला मैले बिगारें, त्यही भएर हाँसिरहेका छन् भन्ने लाग्थ्यो । सँगै रहेका आलोक नेम्वाङ पनि त्यसरी नै हाँस्थे । तर, त्यो बेला ती आलोक हुन् भन्ने कर्मालाई थाहै थिएन । हेर्दै खाइलाग्दा र सुन्दर देखिने केटाहरू पनि आफ्नो प्रतिस्पर्धी रहेकाले पटक–पटक बोलाएर आफूलाई खिस्याए जस्तो लाग्थ्यो । त्यहीँ रहेका गायक जविकले उनलाई धाप मारेर ‘ल राम्रो ग¥यौ’ भने । तर, कर्मालाई त्यो पनि खिस्याएजस्तो लाग्यो, पत्याएनन् ।
त्यही कोठामा रहेको एउटा मान्छे आएर कर्मालाई भन्यो, “यस्तो ठाउँमा तिमी कहाँबाट आयौ ?”
कर्माले भने, “म गुरुकुलको मान्छे । यसो मुभीमा सानोतिनो रोल गर्न पाइन्छ कि भनेर आ’को ।”
उसले भन्यो, “तिमीले बर्बादै गर्यौ नि ।”
कर्माले सोधे, “के भयो र दाइ ?”
ती व्यक्तिले ठूलठूला आँखा पारेर रिसाएको पारामा भने, “तिमीले हामीलाई गरिखान नदिने भयौ ।”
कर्मा ट्वाँ परे । त्यो मान्छे को हो, कर्माले अझै पनि राम्रोसँग ठम्याउन सकेका छैनन् । तर, कताकता चिनेको जस्तो भने उनलाई लाग्छ ।
उनलाई त्यहाँ स्क्रिप्ट दिइयो । उनलाई रविको भूमिका भनियो । रवि र ऋतुको मुख्य भूमिका रहेछ । त्यसपछि बल्ल कर्माले थाहा पाए, उनी त मुख्य भूमिकामा पो छानिएका रहेछन् ।
सुरुमा आफैंलाई विश्वास लागेन । घरमा बुबा र आमालाई सुनाए । कसैले पनि पत्याएन । पछि उनी दिनदिनै सुटिङ भन्दै हिँड्न थालेपछि बुबाले सोध्थे, “तँ के साँच्चै मेन रोलमै छस् ? हिरोको क्यारेक्टरमै छस् ?”
कर्मा मुसुक्क हाँस्दै भन्थे, “हो बुबा ।”
तर, उनका बुबाले विश्वासै गरेनन् । पछि कर्माले भने, “अब मुभी नै हेर्नू, अहिले मलाई नसोध्नू ।”
सिनेमा रिलिज भयो अनि बुबाआमाले पनि पत्याए । ‘सानो संसार’ हिट भयो । पहिलो सिनेमाबाटै कर्मा राम्रो र सम्भावना बोकेको नायकमा दरिए ।
भूकम्प र कर्मा
०७२ वैशाख १२ गतेको भूकम्पसँग कर्माको आफ्नै छुट्टै कथा गाँसिएर आयो । बिहीबार ‘रेसम फिलिली’को प्रिमियर थियो । उनलाई त्यसमा निम्तो थियो । उनी बागमती नदीको फोहोरको अवस्था अवलोकन गर्ने विदेशीसहितको टोलीमा सामेल भएका थिए । त्यो टोली चोभारदेखि १४ दिन लगाएर गौरसम्म पैदल गएको थियो । गौरबाट फर्किएलगत्तै उनी प्रिमियरमा सहभागी भए । उनका साथीले तीन दिने पार्टीमा बोलाइरहेका थिए । उनले शनिबार ‘रेसम फिलिली’को प्रमोसनका लागि पोखरा जाने र आइतबार पार्टीमा आउने साथीलाई बचन दिए । त्यही सल्लाहअनुसार उनी सिनेमाको प्रमोसनका लागि सिनेमा युनिटसँगै सिभिल मल जाने सल्लाहअनुसार त्यहाँ पुगे । तर, त्यहाँ सिनेमाको युनिट पुगेकै रहेनछ । त्यहाँ उनलाई एक्टिङ पढिरहेका विद्यार्थीले सिनेमाबारे गफ गरेर अलमल्याइरहेका थिए ।
सिभिल मलको ग्राउन्ड फ्लोरमा बसिरहेका कर्माले गफ गर्दै कफी सपमा हट लेमन अर्डर गरे । त्यही बेला ‘रेसम फिलिली’को युनिट आएर बोलायो । तर, गफ गरिरहेका केटाहरूले उनलाई जान दिएनन् । उनको हट लेमन आयो । उनले एक चुस्की लिएका मात्र थिए, हल्लाएको अनुभूति भयो । सबैले ‘भुइँचालो आयो’ भने । कर्माले सामानहरू खसेको आवाज सुने । सबै हात समाएर बसे । कोही भाग्न खाजे । कोही लडे । कर्मा यसो पछि फर्किएका के थिए, सिभिल मल बाँसझैं वल्लो छेउ र पल्लो छेउ गरेर हल्लिएको देखे । सबै बाहिर कुद्न थाले । उनले हलमा रहेका आफन्त र साथीहरू सम्झिए । माथितिर कुदेर जाऊँ जस्तो लाग्यो । तर, अचानक उनलाई भित्र पस्नु हुन्न भन्ने ब्रह्मज्ञान आयो र सडकतिर कुदे । त्यहाँ बाइकहरू सबै पुर्लुक–पुर्लुक ढलिरहेका थिए । गाडीहरू रोकिएका तर हल्लिरहेका थिए । उनलाई बाइक उठाउन सहयोग गरौंजस्तो लाग्यो । सयौं बाइक लडेको देखेर सम्भव छैन भन्ने लाग्यो । आर्मीको मैदानतर्फ अरुसँगै पछिपछि लागे ।
आर्मी मैदानमा पुगेर उनले हलमा रहेका विनयलाई फोन गरे । उनले आफूहरू सकुशल रहेको बताए । उनले घर सम्झिए । भर्खरै ८० वर्ष पुरानो घर भत्काएर बनाएको अहिले हिरण्य होटल रहेको घर यथावस्थामा छ भन्ने लागेन । फोन गरे, बुबाले कसैलाई केही नभएको र घर पनि नभत्किएको बताए । उनले आफू सानो छँदा केही वर्ष बिताएको पाटनस्थित मामाघर सम्झिए । फोन गरे, लागेन । मामाको घर निकै पुरानो र जीर्ण थियो । उनलाई डर लाग्यो । फेरि बुबालाई फोन गरे । मामाघरको फोन नलागेपछि उनका बुबा बुझ्न त्यहीँ गएछन् ।
कर्माले यति गरिसक्दा त्यो आर्मी मैदानमा रहेको भीडमा कसैले भन्यो, “धरहरा छैन । टुुप्पो त यहाँबाट देखिनुपर्ने हो, देखिएन ।”
त्यही भीडबाट कोही करायो, “धरहरा लडेछ । जाऊँ जाऊँ, हेर्न जाऊँ ।”
कर्माले सैनिक मैदानको वल्लो छेउमा कुदेर आए र हेरे, धरहरा त छैन । निमेषमै यी सबै घटना भए । हलबाट उनका साथीहरू बाहिर आए ।
कर्माले भने, “धरहरामा धेरै मान्छे मरेका हुन सक्छन्, जाऊँ उद्धार गर्न ।”
उनका साथीहरूले भने, “जानु हुँदैन । भूकम्प आइरहेको छ, जे पनि हुन सक्छ ।”
“तिमीहरू जान्छौ भने हिँड, होइन भने मचाहिँ हिँडें,” कर्मा धरहरातर्फ हान्निए ।
उनी धरहरा पुग्दा त्यहाँ मान्छेका शवैशव थिए । प्रहरी आयो । भ्यानमा घाइते र शव हालेर वीर अस्पतालतिर लगियो । त्यहाँ जम्मा भएको भीड यति ठूलो थियो कि कर्माका लागि यस्तो दृश्य सम्भवतः पहिलो थियो । तर, सयौं मान्छेको त्यो भीडले रमितामात्रै हेरिरहेको थियो । घाइते उद्धारका लागि कोही अगाडि बढिरहेको थिएन । उनलाई त्यही दिन हो, मान्छे कति क्रूर र निर्दयी हुँदोरहेछ भन्ने लागेको । घाइतेहरू रक्तमुछेल शरीर लिएर चिच्याइरहेका थिए, त्यो भीड भने रमिता हेरिरहेको थियो ।
आकाशे पुल रमिता हेर्नेले खचाखच थियो । सडकमा मान्छे नै मान्छे थिए । प्रहरीको भ्यान र एम्बुलेन्सले भीड छिचोल्न सकिरहेका थिएनन् । प्रहरीले भीड पन्छाउनै सकेन । कर्मा अगाडि सरे । ठूलो स्वरले प्रहरीलाई सहयोग गर्न आग्रह गर्दै उनले पछि हट्न भने । उनको प्रयास सफल भएको देखेर प्रहरीले आफ्नो पहेँलो ज्याकेट दिएर भन्यो, “सर, यो भीडले हामीले भनेको सुनेन । तपाईंको स्वर पनि ठूलो छ । यो ज्याकेट लगाएर हामीलाई सहयोग गरिदिनुप¥यो ।”
कर्माले सडकको भीड हटाएर एम्बुलेन्स र प्रहरी भ्यानलाई बाटो बनाइदिन्थे । आकाशे पुलका मान्छेलाई तल झार्थे । तर, पलभरमै पुरानै स्थिति दोहोरिन्थ्यो । सडकमा मान्छे उसैगरी भरिन्थे । आकाशे पुल त्यसरी नै खचाखच हुन्थ्यो ।
धरहरामा शव खोज्दा
उनले प्रहरीसँगै धरहराका शव खोतल्ने र एम्बुलेन्स/प्रहरी भ्यानमा हालेर वीर अस्पताल लैजान्थे । वीरमा शवहरू बाहिर राखी घाइतेहरूलाई भित्र लैजान थालियो । त्यहाँ शव यति धेरै थिए कि खुट्टो टेक्ने ठाउँ थिएन । भित्र घाइतेहरूलाई बेड त के, बस्ने भुइँ पनि थिएन ।
कर्मालाई धरहरामै आइपुगेका आरजे तथा भीजे सञ्जय गुप्ताले सहयोग गरिरहेका थिए । वीरमा एकजनाले भने, “मसँग भ्यान छ, घाइते र शवलाई अस्पताल ल्याउन सहयोग गर्छु ।”
कर्माले भने, “अब शव होइन, घाइतेलाई ल्याउनुपर्छ । केहीलाई भए पनि बचाउन सकियो भने त्यो राम्रो हुन्छ ।”
उनीहरूले त्यसै गरे । शवलाई त्यहीँ छाडेर घाइतेलाई अस्पताल लैजान थाले ।
कर्मालाई त्यतिबेलासम्म डर लागेको थिएन । उनले एक युवतीलाई घाइते अवस्थामा जिउँदै भेटे । उनको टाउको आफ्नो काखमा राखेर अस्पताल लैजाँदै थिए । उनले आफूलाई बचाउन आग्रह गरिरहेकी थिइन् । अस्पताल पुग्नै लागेका थिए, ती युवतीले उनकै काखमा देहत्याग गरिन् । कर्मालाई त्यो क्षणले रुवायो । मन विचलित भयो । जसोतसो आफूलाई सम्हाले । र, उद्धार कार्यमा उसैगरी खटिरहे ।
धरहरामा उद्धार गरिसकेपछि उनी लागे वसन्तपुरतिर । त्यहाँ पुग्दा मन्दिर र दरबारको नामोनिसान थिएन । उनलाई लाग्यो– नेपाल सकिएछ । थोरैमात्रै होलान् ज्यँुदा । भाग्यले आफू र आफ्नो परिवार बाँचे पनि त्यहाँको दृश्य र अस्पतालमा शव र घाइतेको अवस्था देखेर बेचैन थिए ।
कर्माले त्यहाँ पनि उद्धार गर्न थाले । एउटा मन्दिरमा एक महिला डाँको छाडेर रोइरहेकी थिइन् । उनलाई लोग्नेले सम्झाइरहेका थिए । भत्किएर थुप्रिएको इँटाभित्र साडीको छेउ देखिएको थियो । त्यो उनकी दिदीसासूको रहेछ । जसरी पनि उनलाई अस्पताल लगिदिन उनले आग्रह गरिरहेका थिए । कर्माले शवभन्दा घाइतेलाई प्राथमिकतामा राखिएको बताए । श्रीमतीको मन राखिदिन मात्रै भए पनि लगिदिन उनले अनुनय विनय गरे । कर्माले ती रोइरहेकी महिलाको पीडा सहन नसकेर घाइते छाडी शव लिएर अस्पताल गए ।
शव र घाइतेले वीर अस्पताल भरिएपछि कर्मा महाराजगन्जस्थित टिचिङ हस्पिटल पुगे । त्यहाँ पनि उस्तै थियो अवस्था । शवैशव, घाइते नै घाइते । घाइतेको आर्तनाद र मृतक/घाइतेका आफन्तजनको रुवाइ कर्माले वर्षदिन बित्दा पनि बिर्सन सकेका छैनन् ।
मेयरकी छोरी
त्यही दिन साँझ चलचित्र ‘कालो पोथी’का निर्देशक मीन भामले आत्तिएर कर्मालाई फोन गरे । दुवै दौडिएर होटल पुगे ।
मीनका फ्रान्सेली साथी कर्माको हिरण्य होटलमा बस्ने कुरा भएको रहेछ । तर, उनीहरू सम्पर्कमा थिएनन् । साथी र उनकी प्रेमिका होटलमा झोला राखेर वसन्तपुरतिर निस्किएका रहेछन् ।
कर्मा दिनभर त्यहीँ उद्धारमा खटिएका थिए । घाइतेहरू को नेपाली, को विदेशी छुट्याउन सकिने अवस्था थिएन ।
उनीहरू शव खोज्न वीर अस्पताल पुगे । पुलिसले शव चिन्न नसकिने अवस्थामा रहेको बतायो । तर, कर्माले आफ्नो साथी भएकाले चिन्न सकिने सम्भावना रहेको भन्दै हेर्न थाले । त्यहाँ शव भेटिएन । ट्रमा सेन्टर गएर त्यसरी नै खोजे । त्यहाँ पनि नभेटिएपछि कर्मा र मीन टिचिङ पुगे । शवहरू नीलो भइसकेका थिए । धूलो र रगतले चिन्न सकिने अवस्था थिएन । शवगृह गन्हाइरहेको थियो । कैयौं शवको टाउको उठाएर हेरे पनि कर्मा र मीनले चिनेनन् । उनीहरू रित्तो हात फर्किए ।
त्यो जोडीले मीनको ‘कालो पोथी’ सम्पादनमा सहयोग गरेको थियो । अर्काे चलचित्र बनाउँदा आफैं सम्पादन गर्ने बचन दिएको थियो । उनीहरू कर्माकै होटलमा बस्ने सल्लाह भएको थियो । त्यसका लागि कर्माले चाँजोपाँजो मिलाइसकेका थिए ।
त्यो जोडीमध्ये महिला पेरिसका मेयरकी छोरी रहिछन् । दूतावासमार्फत नेपाल सरकारलाई तत्काल उनको अवस्था पत्ता लगाउन दबाब आयो । प्रहरीले सक्रियता देखायो । नभन्दै उनीहरूका शव वसन्तपुरको मन्दिरमै फेला परे, जहाँ कर्माले दिनभर उद्धार गरेका थिए ।
तस्बिरः रोजित खड्का
प्रकाशित मिति: शनिबार, भदौ २५, २०७३ ०७:०९
प्रतिक्रिया दिनुहोस्