site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ह्यासट्याग ‘#मौसुफको सवारी’

यता राष्ट्रपतिको पूरा सानसौकतका साथ राता पोसाक र झल्लरे टोपी लगाएका ठूला घोडामा आसीन रिसल्ला अघिपछि लगाएर ठूलो लिमोजिन कारभित्र सानसँग शीतल निवासबाट संसद् भवनतिर सवारी चलाइयो । उता, काठमाडौंको अति व्यस्त सडकमा एक स्थानबाट अर्कोतिर जान हतारिएका सवारी साधन गुफामा चमेरो झुत्तिएझैँ सडकमा चेपिए । घन्टौं एक इन्च टसमस गर्न नपाएर आफ्ना जरुरी काममा पुग्न नपाएका, छोराछोरीलाई लिन समयमै स्कुल पुग्न नसकेका, बिरामी लिएर डाक्टर देखाउन हिंँडेका सबैथरी यात्रुमा ठूलो रोष उत्पन्न भयो । सबैको मुखबाट एउटै कुरा निस्क्यो – ‘गणतन्त्रमा चल्यो मौसुफको सवारी ।’ 
भन्नु परोइन, जति सानका साथ सवारी चलाइयो उत्तिकै सानका साथ फिर्ती सवारी पनि भयो । सवारी हुँदा एकथरी जाममा परे, फिर्ती सवारी हुँदा अर्काथरीले मौसुफको सवारी बारेमा टिप्पणी गरे ।  ट्विटरमा, फेसबुकमा धेरैथरी ह्यासट्याग बने त्यसमध्ये कसैले लेखे, ‘#मौसुफको सवारी ।’

एकजना युवा पत्रकारलाई राष्ट्रपतिको सवारी देखेर पटक्कै निन्द्रा लागेनछ । राति बाह्र बजे नेकपा (एमाले)लाई अहिलेको स्थानमा पुर्‍याउन सबैभन्दा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रपति विद्यादेवी भण्डारीका पति स्वर्गीय कमरेड मदन भण्डारीको पुरानो भाषण खोजेछन् र सुनेछन् । आफूले सुनेर नपुगेर युट्युबमा पनि लोड गरेछन् । उक्त भाषणमा मदन भण्डारी भन्छन् – ‘आदरणीय जनसमुदाय एकजना राजा रहने कुराले त्यत्रो ठूलो कुनै आपत्ति गर्दैन तर सामन्तवाद, दलाल, नोकरशाही, पुँजीवाद र साम्राज्यवादको शोषण रह्यो भने राजा नरहे पनि वास्तवमा हाम्रो स्थितिमा कुनै परिवर्तन आउँदैन । प्रमुख शत्रुलाई निमिट्यान्न पारे पनि मुलुकको आधारभूत स्थितिमा परिवर्तन भएन भने जनता र राष्ट्रको जीवनमा खुसहाली आउन सक्तैन ।’ ती पत्रकार भन्छन् व्यवस्था परिवर्तन हुँदैमा अवस्था परिवर्तन हुँदैन भन्ने मदन भण्डारीको भनाइ प्रमाणित भएको छ । 

हुन पनि बिहीबार राष्ट्रपतिको संसद् आगमन राजतन्त्र फ्याँकेका जनतालाई पाच्य भएन । राजा गए के भयो र नयाँ राजा आएछन् भन्ने गुनासो सर्वत्र सुनियो । अब प्रश्न उठ्छ, के राष्ट्रपतिले त्यस्तो तामझाम गर्नै पर्छ । तामझाम गरेन भने जनताको मनमा राष्ट्रपतिको इज्जत कम हुन्छ ? यसको लागि हामीले अलिकति शासक र शासितको मानसिकताको विवेचना गर्नुपर्ने हुन्छ । पुराना शासकलाई आफू देवताको अंश भएको वा साधारण मानिसभन्दा निकै शक्तिशाली भएको देखाउनुपर्थ्यो । मानवको सभ्यताको विकास क्रममा शासकले शासितलाई आफ्नो प्रभाव देखाउन टाउकोमा अनेक प्रकारको टोपी लगाउने गर्थे । कतिपय पुराना सभ्यतामा बाघ वा सिंहको टाउकोको शिरपोस बनाएर शासकले लगाउने र उनको भेषभूषाले समेत शासित नतमस्तक हुने गर्थे । जनतालाई भगवानको कोप, प्राकृतिक विपत्ति र अन्य प्रकारको समस्याबाट जोगाउने सामर्थ्य भएको भान पार्न पनि यस्तो प्रकारको भेषभूषाको आवश्यकता थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

आधुनिक युगमा राम्रा कपडा, रंगीन धागा, श्रीपेच, मुकुट आदिजस्ता पहिरनले जनतालाई प्रभाव पार्ने काम भयो । राम्रा कपडाको उत्पादन प्रविधि विकसित देशमा मात्र हुने कारणले पनि जसले राम्रो कपडा लगाउँछ उसलाई साधारण जनताले शासक मान्न थाले । कतिपय तानाशाह र स्वेच्छाचारी शासकले बढीभन्दा बढी आधुनिक हतियारले सुसज्जित सुरक्षाकर्मी वरिपरि राखेर आफ्नो शक्तिको परिचय दिन्छन् । नेपालमा अहिले देखिएको तामझाम सिधै शाहकालीन राजतन्त्रबाट अनुकरण गरिएको हो । शाह र राणा शासकले यो परम्परा बेलायती, स्पेनी आदि साम्राज्यवादी शक्तिबाट अनुकरण गरेका हुन् । यी साम्राज्यवादीहरू अत्यन्त आक्रामक शैलीमा शासन गर्थे । शासितमाथि अन्याय, अत्याचार गर्नुपर्ने र आफू अति प्रभावशाली देखिनुपर्ने हुनाले साम्राज्यवादी शक्तिले यस्ता मुकुट, श्रीपेच, ह्याट, अनेक थरीका फित्ता, तासको कपडा लगाएर जनतामा देखिन्थे । घोडा, बग्गी, रिसल्ला आदि पनि त्यही मनःस्थितिका उपज हुन् । प्रविधिको विकाससँगै मोटर र मोटरसाइकल पनि त्यही तामझाममा थपिए । घोडा त गएनन् तर मोटर साइकल थपिए । बग्गी पनि कतिपय स्थानमा कायमै भए, कहीँ भएनन् । 

समग्रमा भन्दा जनताको शक्तिबाट आफ्नो इज्जत, मान, प्रतिष्ठा सिर्जित भएको भन्ने सोच राख्ने शासक हो भने यस्तो आडम्बरी तामझाम र नक्कल चाहिँदैन । तर, राष्ट्रपति, प्रधानमन्त्रीलाई सुरक्षा पनि चाहिन्छ र अलिअलि तामझाम पनि चाहिन्छ भन्नेमा भने विवाद छैन । किनभने, त्यस्ता धुमधामको नक्कलबाट प्रभावित हुने जनताको संख्या विकसित देशमा त छन् भने नेपालमा नहुने कुरै भएन । तथापि जनपक्षीय शासकले बिस्तारै यस्ता नक्कल, आडम्बर र राष्ट्रिय ढुकुटीको अनावश्यक खर्च कटौती गर्दैगएका छन् । 

Global Ime bank

नेपालकी राष्ट्रपतिको संसद्सम्मको भ्रमणमा अगाडि रातो रंगका कोट लगाएका, रातै झल्लरे टोपी र झन्डा हल्लाएका रिसल्ला चडेका अरबी खैरा घोडा १४ वटा थिए । त्यसको पछाडि ११ वटा पाइलट मोटर साइकलले घेरिएको राष्ट्रपतिको जगुवार लिमोजिन अनि पछाडि फेरि १३ वटा उस्तै घोडा थिए ।

सवारी चलाउनेले सकभर अगाडि १४ खैरो घोडा र पछाडि १३ सेतो घोडा राख्ने कोसिस गरेको पनि देखिन्छ तर सेता घोडा आठवटामात्र रहेछन्, बाँकी पछाडिको लाइनमा खैरा घोडा नै देखिन्छन् ।

 

राजा भएर पनि साइकलमा हिँड्ने भनेर प्रख्यात नर्वेका राजा यस्तो कार्यक्रममा कसरी जान्छन् भनेर तुलनात्मकरूपमा हेर्न पनि सकिन्छ । नर्वेका राजा संसद् गएर फर्कदाको एउटा भिडियो युट्युबमा राखिएको छ ।

यो सन् २०११ को राजाको औपचारिक भ्रमणमा नर्वेमा पनि बाटो बन्द गरेर नै सवारी चलाएको देखिन्छ । तर, राजा धेरै नजिकसम्म आउन्जेलसम्म पनि सर्वसाधारणलाई बाटो काट्न दिइएको छ । नेपालमा जस्तो घोडा र रिसल्ला छैनन् । भन्नुको मतलब नर्वेका राजाले समेत त्यति कम गर्छन् भने हाम्रोजस्तो नयाँ गणतन्त्रमा राष्ट्रपतिको यत्रो तामझामको के औचित्य ?

यो विषयमा राष्ट्रपति वा सरकारको सोच नपुगेकोमा शंका छैन । तर, तिनलाई मात्र दोष दिएर पुग्दैन । राष्ट्रपतिको मान, सम्मान र इज्जत घटाउनु पक्कै पनि हुँदैन । परन्तु, यसलाई समयानुकूल कसरी बनाउने र यो पदको साख कसरी बढाउने भन्ने विषयमा भने सोच्नै पर्छ । राजाको सवारी चलाएको सुरक्षा निकायले आफूले जसरी जानेको छ त्यसरी नै कार्य गर्छ । नेपालमात्र होइन भारतले समेत बेलायती परम्पराको अनुसरण गर्न छाडेको छैन । फेरि जनताको नेतालाई पनि कुनैरूपमा आफूलाई राष्ट्रले इज्जत दिएको महसुस गर्न मन पनि लाग्दो होला र यो चाहना सम्पूर्णरूपमा गलत पनि नहोला । तर, अब समय फेरियो भन्ने हेक्का रह्यो भने केही परिवर्तन गर्न सकिन्छ । 

राष्ट्रपतिको भ्रमणमा सम्पूर्ण सवारी साधन रोक्ता हुने जनताको समय र इन्धनको बर्बादीको हिसाब गर्ने हो भने राष्ट्रपतिलाई यस्तो कार्यक्रममा सेनाको हेलिकप्टरबाट परिवहन गर्नु अत्यन्तै सहज र सस्तो पनि पर्छ । राष्ट्रपतिलाई संसद् भवनसम्म हेलिकप्टरमा लगेर त्यहाँ एक मञ्च बाहिर नै बनाएर सलामीसहित अन्य सबै तामझाम गरेर भित्र लगे त उद्देश्य पनि पूरा हुन्थ्यो र जनताले पनि दुःख पाउँदैन थिए । अनि यस्तो भ्रमण समयानुकुल बनाउन अब घोडा र रिसल्लालाई बिस्तारै इतिहास बनाए पनि फरक पर्ने देखिँदैन । 

अन्त्यमा, संघीय, गणतान्त्रिक, समावेशी नेपालको राष्ट्रपतिको औपचारिक भ्रमणको कार्यक्रममा अर्कोपल्ट ‘मौसुफको सवारी’ भन्ने ह्यासट्याग नचलोस्, सरकार र सम्बद्ध निकायले ध्यान पुर्‍याओस् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०७४  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC