तिहारमा फूल बिक्री गर्नु व्यवसाय हो - पुष्प व्यवसाय । यसलाई सबैले सामान्य व्यवसायकै रूपमा लिन्छन् । त्यस्तै दसैंको टीकाको दिन मन्दिर आसपास जमरा बिक्री गर्नु पनि सामान्य नै हो । जमरा बिक्री मौसमी (दसैंको टीकाको दिनमात्र हुने) सामान्य व्यवसाय हो । व्यवसायको धर्म नै नाफा कमाउनु हो । दसैंको टीकाको दिन राजधानीमा जमरा बिक्री भएको देखिएको विषय मामुली हो । खासै चर्चा गर्नुपर्ने कुरै हैन । तर, यसका सांस्कृतिक पक्ष गम्भीररूपमा खट्किए यस दसैंमा ।
यसपाली दसैं राजधानीमै मानियो र केही मनमा खट्किने किसिमका अनुभव बटुलियो । टीकाको दिन बिहानै आवश्यक केही सामग्री किन्न कलंकी चोक निस्केको थिएँ । अधिकांश पसल बन्द भएको कारण यताउता चाहार्नु पर्यो । चाहार्दै जाँदा कलंकी माईको मन्दिर नजिक पुगेँ । त्यहाँ नजिकै करिब आधादर्जन महिला बेग्लाबेग्लै फुटपाथ पसलमा बसेर हरिया र पहेँला जमरा बिक्री गरिरहेका थिए । पहिलोपटक जमरा बिक्री देखेको म बबुरोलाई खुल्दुली भयो । आफूले पनि जमरा राखिएको थिएन । एक दुईवटा कोठामा भाडामा बस्ने मान्छे, उता चुलो, यता बेडरूम । घरमा झैं सांस्कृतिक औपचारिकता पूरा गर्न सजिलो लागे पो ? त्यसैले पनि दाम सोधेँ । चित्तबुझ्दो दाम भए आवश्यक कुरै हो, अलिकति किनिहाले पनि त हुन्छ भने झैं लाग्यो । दाम सुनियो, एउटा मुस्किलले एक मुठी पुग्ने मुठाको रू. दुई सय । महँगो लाग्यो, किनिन । पछि घरबेटीकहाँबाट केही जमरा ल्याएर टीका लगाएँ । जमरा किन्न मिल्छ भन्ने यसअघि अनुमान पनि गरेको रहेनछु । मसँग यस बारेमा थोरै सोच पनि रहेनछ ।
टीका लगाई सकेपछि पनि जमरा बिक्रीबारे दिनभर तर्कना उब्जिए । बेच्न राखेका जमराका मुठा दिमागमा आइरहे । यसलाई गहिरिएर मनन र विश्लेषण गरेर हेर्दा यो बहुआयामिक रूपमा प्रभाव पार्ने विषय भएको ठहर भयो । अनि लाग्यो, त्यो जमरा नकिनेर मैले राम्रो गरेछु र म फेरि अब कहिले जमरा किन्ने सोच राख्ने छैन ।
हरेक व्यापारीले बेच्न राखेका जमराका ठूला थाक हेर्दा कम्तीमा एउटा कोठा बराबरको क्षेत्रफलमा उमारे झैं परिमाण धेरै थियो । पहेंलो जमरा बिक्री गर्नपुग्ने गरी उत्पादन गर्नु सहज काम होइन । ठूलो परिमाणमा यसको उत्पादन गर्न ग्रीन हाउस टाइपको अँध्यारो घर बनाउनु वा पूरा एउटा कोठाबन्द गरेर माटो राखेर उत्पादन गर्नुपर्ने देखियो । यसरी उत्पादन गरेको जमरा वस्तु भयो । अर्थात्, कम्पनीमा उत्पादन गरेको उपभोग्य सामग्री वा वस्तुजस्तै भयो । यसको सांस्कृतिक महत्ता फितलो भयो । जमराको सांस्कृतिक पक्ष हेर्ने हो भने यो दुर्गा भवानीलाई चढाइने सांस्कृतिक महत्वको सामग्री हो ।
आवश्यक सङ्ख्यामा दुनाटपरा र घरको भुँईंमा करिब एक डेढ वर्ग फिट क्षेत्रफलमा दुर्गा भवानीको पूजाअर्चना गरिने तथा दुर्गा स्थापना गर्ने कोठामा उमार्ने चलन छ । दैनिक रूपमा भगवतीका विभिन्न स्वरूपलाई अर्चना र विधिपूर्वक पूजा गर्दै धार्मिक मन्त्रोच्चारण सहित उमारेका जमरामात्र भगवतीलाई चढाउन मिल्ने हो । अब सोच्नोस्, बेच्न भनेर त्यो ठूलो क्षेत्रफलमा कुनै सांस्कृतिक विधि नपुर्याई आवश्यक मल र पानी हालेर उमारेका जमरा वस्तुले परम्परागत सांस्कृतिक जमराको विस्थापन गर्नु कति फितलो सांस्कृतिक विस्थापन हो ? यसप्रकारको जमरा पहेँलो र हेर्दा जमराजस्तै छ तर त्यो जमरा रहेन । त्यसमा हाम्रो परम्परागत संस्कृति रहेन । त्यसमा त एउटामात्र संस्कृति छ - त्यो हो बजार संस्कृति र त्यसको एउटामात्र धर्म छ - त्यो हो परम्परागत सांस्कृतिक वस्तुजस्तै देखिने वस्तु उत्पादन गर, त्यसलाई त्यही परम्परागत सांस्कृतिक मूल्य असुलेर बेच र भरपूर नाफा कमाऊ । अर्थात्, व्यापार/बजार संस्कृतिको धर्म कायम राख । किरात संस्कारमा घरमा बनाएका रक्सीको बोतल राखेर पूजाआजा गर्नुलाई खुकुरी रम वा अन्य कम्पनीमा उत्पादन गरेको रक्सीजन्य वस्तुका बोतलले विस्थापित गरेको छ । कम्पनीले उत्पादन गरेको पीठोले नेवारी सांस्कृतिक महत्त्वका योमरी, चतामरी बनाउने घरमा बनाएको पीठोलाई विस्थापित गरेको छ । हेर्दा एकै देखिए पनि त्यो विस्थापन एकै होइन । बजारले संस्कृतिको विस्थापन गरेर हरेक संस्कृति कमजोर र पैसा र बजारको उपभोक्तावादी संस्कृतिलाई बलियो पारेको छ ।
वि.सं. २०६८ को जनगणनाअनुसार राजधानी अर्थात् काठमाडौँ उपत्यकाको जनसंख्या २५ लाख १७ हजार ०२३ छ । त्यसपछि अहिलेसम्मको अवधिमा यो जनसंख्या वृद्धि भएर करिब ३० लाखको हाराहारीमा पुगेको हुनसक्छ । करिब २० लाख राजधानी बाहिरका राजधानी केन्द्रित भएर काम गर्ने जनसंख्या थप्दा राजधानीको जनसंख्या करिब ५० लाखको हाराहारीमा हुनुपर्छ । दसैंमा गाउँघर जानेको संख्या रेडियो र टिभीको रिपोर्ट अनुसार १७, १८ लाख हुनेगर्छ । बाँकी ३२ / ३३ लाख मान्छे राजधानीमै दसैंतिहार मनाउने गर्छन् । राजधानीकै रैथाने मान्छेले प्राय: घरमा जमरा राख्छन् नै । किनभने, उनीहरूका आसपास धेरै मन्दिर र उनले मान्ने धेरै पूजाहरू छन् जसमा जमरा अनिवार्य हुन्छ ।
अब यी रैथाने युवा पुस्ताको बदलिँदो आचरणगत बुझाइ हेरौं । घरमा जमरा राखेको छ, छोरो वा छोरी बिहानै मन्दिर जान्छन्, उनीहरूलाई थाहा छ, मन्दिरमा जमरा चढाउनुपर्छ ! तर उनीहरूलाई यो पनि थाहा छ, ‘ह्या, बीस, पचास रुपैयाँको जमरा किनेर चढाए भैगो नि ! कसैले घरबाट जमरा बोकेर जान्न, जमरा बोकेर जाने त बूढाबुढी बाबुआमाले पो हो त !’ नयाँ पुस्ताले उपभोक्तावाद अर्थात् पैसा बोकेर हिँडे जे जस्ता सांस्कृतिक आवश्यकता पनि किनेर सहजै टार्न/पूरा गर्न सकिन्छ भन्ने मान्यता राख्न थालेको छ र उसलाई त्यसले आफ्नो संस्कृतिमा के कति फरक ल्याउँछ भन्ने कुरा न त थाहा छ न कहिल्यै यसबारेमा सोच्छ नै ! तिनका लागि संस्कृति बचाएर राख्ने जिम्मा बूढा बाबुआमाको मात्र हो । किनेर सांस्कृतिक परम्परा चलाउनु संस्कृति फितलो बन्नु र बजारका वस्तुले सही सांस्कृतिक मूल्यका वस्तु विस्थापन गर्नु हो । यसरी हरेक ठाउँमा किन्ने अर्थात् उपभोक्ता बन्ने संस्कृतिले हाम्रा मूल्य, मान्यता र चाडबाडलाई अझै ख्याउटे र कमजोर पार्दै लगिरहेको छ ।
प्रोफेसर माइक फिदरस्टोनको चिन्ता छ - “उपभोगमा आधारित संस्कृतिलाई समाजमा महत्व दिन थालिएको छ, यसलाई उत्पादनबाट पैदा हुने विनासमस्याको उपभोगमात्र भनेर हुन्न । अहिले पश्चिमा बजारमा सांकेतिक सामानहरूको उच्चरूपमा आपूर्ति भइरहेको छ जसको झुकाव सांस्कृतिक अस्तव्यस्तता निम्त्याउनेतर्फ लक्षित छ । उपभोक्तावादले गर्दा प्रत्येक विषयलाई वस्तुका रूपमा वर्गीकृत गर्नुपर्ने बाध्यता छ । यसले संस्कृति, अर्थतन्त्र तथा समाजको सम्बन्धको बारेमा बन्ने हाम्रो धारणामा पहिलो तथा सबैभन्दा ठूलो प्रभाव पर्दछ ।” विश्वमै उपभोक्तावादी संस्कृतिले सांस्कृतिक अस्तव्यस्तता निम्त्याएको फिदरस्टोनको चिन्ता नेपाली समाजको लागि पनि उत्तिकै मननीय छ । दसैंको मजा त्यो बेला आउँथ्यो जुनबेला पैसाले सबै कुरा किन्ने चलन आएकै थिएन । बजारबाट किन्ने सामान त त्यही एकजोर नयाँ लुगामात्र हुन्थे । त्यो कपडा सिलाउन कति पैसा तिर्ने भन्ने कुरा गौण हुन्थ्यो ।
दर्जीले पैसामा हैन सालभरका लागि अन्न अर्थात् बालीमा काम गर्थे । जमरा घरमै राखिन्थ्यो । पिंग घर र टोलमा हालिन्थ्यो र आफ्नै बल खर्च गरेर गाउँका नौजवान लाठेहरू अरूलाई आनन्द दिन रोटेपिंग घुमाउँथे । खसी घरमै पालेको हुन्थ्यो । हरेक कुरामा पैसाले किन्नेभन्दा ऐंचोपैंचो र सामूहिक सरसहयोग प्रमुख हुन्थे । तिहारमा गाउँभर सयपत्री र मखमली फुल्थे । आफैँ बनाएको सेलरोटी कोसेली लिएर माइत आउँथे चेलीहरू ! तर, अहिले सयपत्री फूलको माला पाँच सय पर्न थाल्यो । कपडा किन्न, सिलाउन, खसी किन्न, कोसेली लान आदि सबै प्रमुख कार्यका लागि पैसा मुख्य भयो । र, घरको मूलीलाई रौनक हैन तनावले च्याप्न थाल्यो । सामान्य सहयोग लिन पनि मान्छे नभेटेर पैसा तिरेर काम लिनुपर्ने भयो । चेलीले सेल पकाउनुभन्दा पनि किनेर पाँच सातवटा लैजाऊँ न भनेर भन्नुपर्ने अवस्था आउन थाल्यो । अर्थात् सांस्कृतिक महत्त्वका चीजलाई बजारका वस्तु बनाउन थालियो र हाम्रो आत्मनिर्भरता भन्नु पैसा र बजार निर्भरता हुनथाल्यो । यसरी सांस्कृतिक अस्तव्यस्तताको जड बन्दै गएको छ उपभोक्तावाद !
उपभोक्तावादी संस्कृतिको विकासले हाम्रा मौलिक संस्कृति फितला हुँदै जानु र पैसा तिरेर किन्नुपर्ने फितला वस्तुले तिनको सांस्कृतिक विस्थापन गर्नुले हाम्रा चाडबाड सालैपिछे झन् झन् ख्याउटे र खिनौटे बन्दै गैरहेका छन् । तिनको रौनक पैसा नभएका अधिकांश मान्छेबाट टाढा हुँदै गइरहेको छ । समाजका श्रमजीवी वर्गका लागि दसैं तिहार चाडबाड नभएर दशा हुन थालेका छन् । सामूहिक रौनक सकिएको छ र समाजमा हुनेखाने र हुँदा खानेको बीचमा चिरा बढ्दै गएको छ । यसरी चाडबाड वस्तु केन्द्रित हुनु र पैसामा निर्भर हुँदै जानु भनेको छिटै नै विपन्न वर्गबाट टाढा हुँदै सीमित हुनेखाने मान्छेको कब्जामा जानु तथा झन् झन् खिइँदै जानु हो । वर्तमानमा उपभोक्तावादले निम्त्याएको सांस्कृतिक अस्तव्यस्तताले गर्दा अधिकांश संस्कृतिको दुब्लोपन नयाँ पुस्ताले बुझ्नैपर्ने कुरा भएको छ । नत्र, हाम्रा मौलिक संस्कृति, सांस्कृतिक धरोहरहरू र पहिचान लामो समय जोगिने स्थिति देखिन्न ।