सामान्य दिनका तुलनामा दसैंका बेला सवारी साधनको चहलपहल बढ्ने भएकाले सडक दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्छ । हाल अधिकांश सडकहरू जीर्ण अवस्थामा छन् । फलस्वरूप आवागमन असुरक्षित भएको छ ।
सडकको जीर्ण अवस्थाका कारण नै यात्रुहरू सुरक्षितरूपमा गन्तव्यसम्म पुग्न सक्छन् कि सक्दैनन् भन्ने सन्देह सधैँ रहने गर्छ ।
सवारी दुर्घटना तथा सुरक्षाको अवस्था
नेपालमा सडक दुर्घटना दिनप्रतिदिन बढ्दै गएको सरकारी तथ्यांकले देखाएको छ । प्रत्येक दिनजसो सवारी दुर्घटनाका समाचार आइरहेको हुन्छ । सडककै अवस्थाका कारण पैदलयात्रुले मृत्युवरण गर्नुपरेको कहाली लाग्दो अवस्था हामीले देखिसकेका छौं । सडकको वर्तमान दुरवस्था तत्कालै अन्त्य नगर्ने हो भने जीर्ण सडककै कारण मृत्यु हुनेको संख्या अभैm वृद्धि देखिन्छ ।
उच्च पहाडी क्षेत्रमा डोजरको प्रयोग गरी सडक खनिएका छन् । यस्ता अधिकांश सडक इन्जिनियरिङ मापदण्डअनुरूप छैनन् भने दक्ष प्राविधिकबाट सर्भे डिजाइन गरी निर्माण भएका पनि होइनन् । साथै यस्ता सडकको नियमित राम्रोसँग मर्मत गरी सुरक्षित बनाउने प्रयासहरु पनि गरिएको हुँदैन । ग्रामीण सडकहरूमा सवारी दुर्घटनाको अवस्था झनै कहाली लाग्दो छ । कतिपय अवस्थामा सहरी क्षेत्रबाट विस्थापित थोत्रा सवारी साधन सिकारु चालकले चलाउँदा पनि ग्रामीण क्षेत्रमा सडक सुरक्षा थप चुनौतीपूर्ण हुन पुगेको हो ।
मेलम्ची आयोजनाले पाइप बिछ्याउनका लागि खनेका कारण काठमाडौंका सडकको स्थिति झनै विकराल छ । काठमाडौंका सय बढी स्थानमा हाल आयोजनाले पाइप फिटिङका काम गरिरहेकाले यातायात जोखिमपूर्ण भएको छ । यससँगै अव्यवस्थित सवारी पार्किङ, राष्ट्रिय यातायात व्यवस्थापन रणनीतिको प्रभावकारी कार्यान्वयनको अभावका कारण पनि सडक दुर्घटनामा वृद्धि भइरहेको छ ।
सडक दुर्घटनाका सम्बन्धमा विश्व स्वास्थ्य संगठनबाट प्रकाशित प्रतिवेदनमा नेपालमा वार्षिक सरदर १ हजार ८ सय जनाको ज्यान जाने गरेको औंल्याइएको छ । यसलाई न्यूनीकरण गर्न संयुक्त राष्ट्रसंघले सन् २०११ – २०२० लाई विश्व सडक सुरक्षा दशक कार्ययोजना बनाई विश्वभर लागु गरेको छ । यसै सन्दर्भमा नेपालमा पनि सडक सुरक्षा कार्ययोजना कार्यान्वयनमा ल्याइएको ४ वर्ष पुगिसकेको छ । तर, सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या वार्षिक १ हजार ८ सयबाट बढेर २ हजार पुगेको छ ।
ट्राफिक प्रहरीको तथ्यांकअनुसार सडक दुर्घटनामा मानवीय क्षतिमा क्रमशः पैदलयात्रु, स्कुटर तथा मोटरसाइकल चालक, साइकल चालक, बस, ट्रक, कार र माइक्रोबस यात्रुको मृत्यु भएको देखिन्छ ।
सडक दुर्घटनाका प्रमुख कारक
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका सम्बन्धमा व्यवस्थापिका संसद्मा २०७३ साउन ३२ मा विभिन्न निकायले पेस गरेका प्रतिवेदनअनुसार यसका निम्न कारण देखिन्छ ।
–सवारी साधनको नियमित मर्मत, सम्भार तथा परीक्षण नगर्ने÷नगराउने प्रवृत्ति
–थोत्रा सवारीसाधनहरु सञ्चालन गरिनु
–मर्मतका क्रममा नक्कली पार्टपुर्जा प्रयोग हुनु
–क्षमताभन्दा बढी थप(कृत्रिम) अस्थायी सीट राखी सवारीसाधनहरु सञ्चालन गरिनु
–मास ट्रान्सपोर्टेसनलाई प्राथमिकता नदिनु
–सवारी साधनको उचित आयात नीतिको अभाव रहनु
–बिना इञ्जिनियरिङका जोखिमयुक्त सडक निर्माण निर्माण हुनु
–राजमार्ग तथा सडकहरुमा पर्याप्त रुपमा ट्राफिक संकेत र रोड फर्निचर पर्याप्त नहुनु
–सडकका खाल्डाखुल्डी समयमै मर्मत नहुनु
–चालकको दृष्टि नपुग्ने गरी निर्माण भएका घुमाउरा मोड सहितका सडक संरचना
–पर्याप्त जेब्राक्रसिङको अभाव
–चालकमा ट्राफिक ज्ञानको अभाव रहुनु
–मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउनु
–तीब्र गति र प्रतिस्पर्धा
–सवारी धनीबाट चालक÷सहचालकलाई विभिन्न किसिमका दबाब दिनु
–सवारीधनीले चालक खर्च कम गर्न एकमात्र चालक राख्नु
–अनुभवविहीन कम उमेरका चालक रहनु
–यात्रु तथा सडक प्रयोगकर्तामा ट्राफिक ज्ञानको अभाव रहनु
–विद्यालय स्तरका पाठ्य सामग्रीमा ट्राफिक शिक्षा समावेश नगरिनु
–स्रोत साधन अभावका कारण ट्राफिक
—प्रहरीबाट प्रभावकारी निरीक्षण र अनुगमन हुन नसक्नु
–पैदल र यात्रुका कुरा खासै नसुन्नु
–सिन्डिकेट प्रणाली सञ्चालन गर्नु
–सवारी चालक अनुमपतिपत्रको वितरण वैज्ञानिक किसिमबाट नहुनु
निष्कर्ष
हाल सञ्चालनमा रहेका अधिकांश सवारीसाधन र सडकहरु पुराना, गुणस्तरहीन र जीर्ण छन् । सिट क्षमताभन्दा बढी यात्रु राख्दा पनि यात्रा गर्नुपर्ने बाध्यता छ । यसका साथै पशुपन्छी, तरकारी, दुग्ध पदार्थसमेत एउटै सवारीसाधनमा ढुवानी गरिरहेको पाइन्छ । सुरक्षित यात्रा प्रत्येक नागरिकको अधिकार हो । दसैं नजिकिँदै गरेको यो समयमा सडकको समग्र सुरक्षाको विषय ज्यादै महत्त्वपूर्ण हुन्छ । तसर्थ दसैंको समयमा सडक र यसको सुरक्षासँग सम्बन्धित सम्पूर्ण निकायले यस विषयमा ध्यान दिनु आवश्यक छ ।