मस्को । आपूर्ति कटौती वा बन्द गर्ने सक्ने चेतावनीपछि रुसले आफ्नो सबैभन्दा ठूलो पाइपलाइनमार्फत युरोपमा ग्यास पठाउन पुनः सुरु गरेको छ ।
दश दिनसम्म मर्मतसम्भारको लागि बन्द गरिएको नोर्ड स्ट्रिम १ पाइपलाइन पुनः सुरु गरिएपनि ग्यास आपूर्तिको मात्रा भने घटाइएको छ ।
बुधवार मात्रै युरोपेली आयोगले सदस्य राष्ट्रहरूलाई रुसले युरोपको ग्यास आपूर्ति रोकिदिएको खण्डमा आगामी सात महिनासम्म ग्यासको प्रयोगमा १५ प्रतिशतले कटौती गर्न आह्वान गरेको थियो । रुसले गतवर्ष युरोपलाई आफ्नो राष्ट्रिय उत्पादनको ४० प्रतिशत ग्यास आपूर्ति गरेको थियो ।
त्यसमध्ये पनि सन् २०२० मा जर्मनीले सबैभन्दा बढी ग्यास आयात गरेको थियो । तर, जर्मनीले ग्यासको लागि रुसमाथिको निर्भरता ५५ प्रतिशतबाट घटाएर ३५ पुर्याएको छ । जर्मनी अन्ततः रुसको ग्यास प्रयोग नगर्ने सोचमा रहेको छ ।
गत फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेयता युरोपमा ग्यासको थोक बिक्री मूल्य बढ्दै गइरहेको छ । जसले गर्दा सर्वसाधारण उपभोक्ता ग्यासको चर्को मूल्य तिर्न बाध्य भएका छन् ।
युरोपेली आयोगले सन् २०२१ को मे महिनाको तुलनामा २०२२ को मेमा युरोपेली मुलुकहरूमा घरायसी प्रयोगका लागि विद्युतको खुद्रा मूल्य ४४ प्रतिशतले बढेको जनाएको छ । त्यसमध्ये पनि विद्युतको भाउ नेदरल्यान्ड्समा १६७, अष्ट्रिया १२२ र इटालीमा ११८ प्रतिशतले सम्म वृद्धि भएको पाइएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन्त्रास कम पार्ने हिसाबले मुलुकको सरकारी ग्यास कम्पनी गाज्प्रोमले आफ्नो सम्झौताको सम्पूर्ण उत्तरदायित्व निभाउने बताएका छन् ।
बीबीसीबाट ।