काठमाडौं । चन्द्रागिरि नगरपालिकाले छुट्टाछुट्टै प्लास्टिकको झोलामा फोहोर संकलन गर्ने भएको छ ।
कालो झोलामा कुहिने फोहोर, रातो झोलामा सिसा र सिसाजन्य फोहोर, हरियो झोलामा प्लास्टिकजन्य फोहोर, सेतो झोलामा कागजजन्य फोहोर, निलो झोलामा फलाम र कवाडीजन्य फोहोर र पहेँलो झोलामा स्यानिटरी प्याड र डाइपरजन्य फोहोर राख्नेगरी छुट्याउने भएको हो ।
नगरपालिकाका मेयर प्रमुख घनश्याम गिरीको संयोजकत्वमा मंगलवार बसेको नगर कार्यपालिकाको बैठकले शून्य फोहोर अवधारणाअन्तर्गत फोहोर छुट्याउन आग्रह गरेको थियो ।
फोहोर छुट्याउने काम आजैदेखि कार्यान्वयनमा आएको र फोहोर छुट्याउन वडा कार्यालय तथा टोल सुधार समितिमार्फत वितरण गरिने नगरपालिकाले जनाएको छ ।
फोहोर छुट्याउन तोकिएका झोला वडा कार्यालय र टोल सुधार समितिबाट नि:शुल्क उपलब्ध हुने नगरपालिकाले जनाएको छ ।