काठमाडौं । खराब ब्याटिङले निरन्तरता पाउँदा नेपालले आइतबार आईसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्यान्डलाई जितका लागि १२९ रनको लक्ष्य पेस गरेको छ ।
स्कटल्यान्डको ग्लासगोस्थित टिटउड क्रिकेट मैदानमा घरेलु टोलीका कप्तान रिचे बेरिङटनले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका थिए । त्यसपछि ब्याटिङ थालेको नेपालले ३५.५ ओभरमा सबै विकेट गुमाएर १२८ रन बनाएको हो ।
नेपालका लागि ओपनर आसिफ शेखले सबैभन्दा धेरै ४० र कप्तान सन्दीप लामिछानेले २२ रन बनाए । विनोद भण्डारीले १३ तथा देव खनाल र उपकप्तान रोहितकुमार पौडेलले समान १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कुशल भुर्तेल ३ तथा आरिफ शेख शून्यमा पवेलियन फर्किए । दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामीले समान ७ रन बनाए ।
स्कटल्यान्डका हमजा ताहिरले ७.५ ओभरमा एक मेडनसहित २६ रन दिएर ४ विकेट लिए । मार्क वाटले ३ विकेट लिँदा र गाबिन मैनले दुई विकेट लिए । क्रिष्टोफर म्याकब्रिडको नाममा एक विकेट रह्यो ।
नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । तर, शनिबार सम्पन्न खेलमा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको थियो । आईसीसी क्रिकेट विश्वकप लिग–२ को यस त्रिदेशीय शृंखलामा स्कटल्यान्डले दुवै खेलमा नामिबियालाई हराएको थियो ।
नेपालले नामिबियाविरुद्ध खेलेको टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ । विनोद भण्डारी, किशोर महतो र करण केसी टिममा पर्दा पवन सर्राफ, आदिल अन्सारी र बासिर अहमद टिमबाट बाहिरिएका छन् ।
किशोरको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू हो ।