काठमाडौं । डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले गरेको कारबाहीको निर्णयलाई खारेज गरेका छन् ।
शुक्रबार राति फेसबुकबाट उनले यादव पक्षले स्वेच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा आफूसहितका केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको घोषणा गरेको बताएका छन् ।
"हामी यस कारबाहीको घोर भत्सर्ना गर्दै कारबाहीको निर्णय खारेज गर्दछौँ । यो परिस्थितिमा अब हाम्राे सामु पार्टी पुनर्गठनको विकल्प रहेन । तसर्थ, पार्टी रूपान्तरणका लागि अनवरत रूपमा लागिरहनु भएका केन्द्रीय सदस्यहरूलगायत तहगत रूपमा सबै तहका नेताकार्यकर्ताहरूलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गर्दछौँ," उनले भनेका छन् ।
यादव पक्षको वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले भट्टराईलाई हटाएर संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको थियो । बैठकले केन्द्रीय कार्यकारिणी सदस्यहरू हिसिला यमी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव र दुर्गा सोबलाई पनि पदमुक्त गरेको थियो ।